मुसा र बङ्गुरले आन्द्राबाट समेत सास फेर्छन, के यो विधि कोरोना संक्रमित मानिसको उपचारमा सहयोगी होला ?


     नेचर न्युज    
     जेठ २० गते २०७८ मा प्रकाशित


जापानका वैज्ञानिक र्‍यो ओकाबे लगायतले गरेको एक अध्ययन अनुसार मुसा र सुँगुरहरूका प्रजातिले श्वासप्रश्वासका लागि आफ्ना आन्द्राहरूको प्रयोग गरेको पत्ता लागेको छ । यस्तो गुण जलचर प्राणीहरूमा हुने गर्थ्यो।

यसै वर्षको मे १४ को जर्नल अफ मेडिसिनमा प्रकाशित लेखका अनुसार दुई भिन्न प्रकारका स्तनधारी जनावरहरूको श्वासप्रश्वास प्रणाली पूर्णरुपमा फेल भएका अवस्थामा मलद्वारबाट अक्सिजन वा अक्सिजन घुलित तरल पदार्थ पठाएर श्वासप्रश्वास प्रणालीलाई पुनर्स्थापित गर्न वैज्ञानिकहरू सफल छन्।

निमोनिया र अन्य गम्भीर प्रकारका श्वासप्रश्वास सम्बन्धी रोगहरूको उपचार कृत्रिमा श्वासप्रश्वास प्रणाली निकै प्रभावकारी मानिन्छ। टोकियो मेडिकल एन्ड डेण्टल विश्वविद्यालय एवं सिन्सिनाटी बाल अस्पतालका वरिष्ठ अध्येता र उक्त लेखका सह लेखक ताकानोरी ताकेबेले उक्त प्रविधिले मानिसको स्वास्थ्यमा पार्न सक्ने अन्य प्रभाव र सुरक्षालगायतका विषयमा थप अध्ययन गर्न जरूरी भएता पनि यो विधि श्वासप्रश्वासका गम्भीर प्रकारका बिरामीहरूको उपचारमा नयाँ आयाम हुने बताए।

थुप्रै प्रकारका जलचर प्राणीहरूको उत्पत्तिको क्रममा न्यून मात्रामा अक्सिजन भएको अवस्थामा समेत बाँच्न सक्ने गरी फोक्सो वा गिल्सबाहेक आन्द्राहरूबाट समेत श्वासप्रश्वास गर्न सक्ने प्रणालीको विकास भएको पाइन्छ। उदाहरणका लागि सी ककम्बर, शुद्ध पानीमा पाउने लोचेस फिस र केही क्याटफिसहरूले समेत श्वासप्रश्वासका लागि आन्द्राहरूको प्रयोग गर्दछन् तर स्तनधारीहरूमा यस्तो क्षमता हुने नहुने विषयमा थुप्रै मतभेद रहि आएका थिए।

हालसालै ओकाबे र उनका सहकर्मीहरूले गरेको अध्ययनमा मुसा र सुँगुरहरूमा आन्द्राहरूबाट श्वासप्रश्वास गर्न सक्ने प्रणाली रहेको प्रमाणहरू भेटिएका छन्। यस विषयमा अध्ययनका लागि उनीहरूले सर्वप्रथम मुसाको मलाशयबाट अक्सिजन पठाउनका लागि ग्यास भेन्टिलेसन प्रणालीको विकास गरे। उनीहरूले गरेको अध्ययनमा भेन्टलेसन प्रणाली जडान नगरिएका मुसाहरू न्युन अक्सिजन मात्रामा ११ मिनेट भन्दा बढी बाँच्न नसकेको तर उक्त प्रणाली जडित ७५ प्रतिशत मुसाहरू अत्यन्तै कम अक्सिजनको मात्रामा समेत ५० मिनेटसम्म बाँच्न सफल भएका थिए।

ग्यास भेन्टिलेसन प्रणाली जोडेर उपचार गर्नका लागि आन्द्रामा भएका म्युकोसा लेयरसँग घर्षणको आवश्यकता पर्दछ। तसर्थ गम्भीर प्रकृतिका बिरामीका लागि यो पद्धति अनुपयुक्त हुनसक्छ। त्यसैकारण अनुसन्धानकर्ताहरूले तरल पदार्थमा आधारित भेन्टिलेसन प्रणाली विकास गरे। यस प्रणालीमा अक्सिजन घुलित परफ्लुरो नामको  केमिकल प्रयोग गरिन्छ। उक्त केमिकल उपचारका लागि मानिसमा प्रयोग गर्न सुरक्षित हुन्छ भन्ने अध्ययनहरूबाट प्रमाणित भइसकेको छ।  

यसप्रकारको तरल भेन्टिलेसन प्रणाली मुसाको आन्द्रामा जडान गरिएका गैह्रघातक तर कम मात्राको अक्सिजनको अवस्थामा राख्दा लाभान्वित भएको पाइयो। उनीहरू भेन्टिलेसन जडान नगरिएका मुसाहरू भन्दा धेरै टाढासम्म हिँड्न सकेको र तिनीहरूको मुटुमा अक्सिजनको मात्रासमेत बढी रहेको पाइयो।

यस्तै परीक्षण सुँगुरहरूमा गर्दा समेत यो प्रणाली प्रभावकारी रहेको पाइयो। यस प्रणाली जडित मुसाहरूमा अक्सिजनको अभावमा रक्तसञ्चारमा आउने समस्याले छालाको रङ्गमा आउने परिवर्तन, शरीरको तापक्रम घट्ने जस्ता समस्याहरू र अन्य कुनै नकारात्मक प्रभावहरू समेत भेटिएनन्।

यी दुई भिन्न प्रजातिका स्तनधारी जनावरहरूमा गरिएको परीक्षणका दुई फरक प्राणालीको सफलताबाट अनुसन्धानकर्ताहरूले यी प्रणाली श्वासप्रश्वास फेल भएकाहरूको शरीरमा अक्सिजनको मात्रा पठाउन उपयुक्त हुने निष्कर्ष निकाले।

यसको सफल परीक्षणपश्चात जापानमा कोरोना भाइरससँग जुध्नका लागि गठित जापान एजेन्सी फर मेडिकल रिसर्च एण्ड डेभलपमेन्टसँग मिलेर अनुसन्धानकर्ताहरूले यो प्रणालीलाई कसरी मानिसहरूको उपचार पद्धतिमा प्रयोग गर्न सकिन्छ भनेर यथाशीघ्र थप अध्ययन गर्ने योजना बनाएका छन्।

हाल विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको छ। बिरामीहरूको बढ्दो चाप, उपचारका लागि भेन्टिलेटर र कृत्रिम फोक्सोहरूको अत्याधिक मागका कारण सिर्जित उपकरणहरूको अभाव जस्ता समस्याहरूले थुप्रै मानिसहरूको जीवन जोखिममा छ। तसर्थ यसप्रकारको भेन्टिलेसन प्रणालीबाट अक्सिजन दिने प्रविधिलाई मानवको उपचारमा विस्तार गर्न सकियो भने गम्भीर प्रकारका श्वासप्रश्वासको समस्या भएका बिरामीहरूलाई पर्याप्त मात्रामा अक्सिजन दिन र जीवन बचाउन सकिन्छ।

(यो लेख टोकियो मेडिकल एण्ड डेण्टल विश्वविद्यालयका र्‍योओकाबे लगायतका अनुसन्धानकर्ताहरूले जर्नल अफ मेडिसिनमा मे १४, २०२१ मा प्रकाशन गरेको लेखलाई आधार मानी साइन्स डेलीमा प्रकाशित समाचारको नेपाली रुपान्तरण हो।)