खिस्सी गरे पनि म त यसरी मनाउँछु ‘विश्व वातावरण दिवस’


     कृष्णप्रसाद भुसाल     
     जेठ २२ गते २०७८ मा प्रकाशित


आज भन्दा करिब पच्चीस वर्षअघि म अर्घाखाँचीको धारापानी गाउँमा हुर्किँदै गर्दा देखेको मेरो अग्रजहरूले गर्ने प्रकृतिमैत्री दिनचर्या र जीवनयापन आज छैन। हामीले हाम्रा पुर्खाबाट त्यसप्रकारका पर्यावरणमैत्री आचरण, परम्परागत ज्ञान र पद्धतिको अनुसरण गर्न भने चुकेका छौ। 

मेरो हजुरबुवाको बाँसको बिरुवा रोपणमा ठूलो लगाव थियो। बाँसले पहिरो नियन्त्रण गर्छ र यसको घाँस राम्रो हुन्छ भनेको धुमिल सम्झना अहिले पनि मसँग छ। हरेक वर्षायाममा हजुरबुवा बाँसको बिरुवा सार्नुहुन्थ्यो फलतः गाउँमै सबैभन्दा धेरै बाँसबारी हाम्रा थिए र अहिले पनि छन्। 

मैले बाइक नचढेर प्रतिदिन कम्तीमा एक लिटर पेट्रोल देशमा कम खपत भएको छ र करिब साढे छ सय ग्राम कार्वनडाईअक्साई उत्सर्जन भएको छैन नि भन्यो भने उनीहरू झन् हाँसोको पात्र बनाउँथे। 

बाँस मात्र होइन अरू बिरुवाको रोपण र घाइते जनावरको उद्धारमा पनि हजुरबुवाको रूची देखिन्थ्यो। उहाँले जङ्गली जनावरको मासु खान हुन्न भन्नुहुन्थ्यो। 

एकपटक दाइ र मैले कालो तित्राको अण्डा सङ्कलन गरी घरमा ल्याएका थियौँ। कुखुरालाई कोरल्न लगाउने कि उमालेर खाने छलफल गर्दै थियौँ, खोइ कताबाट हजुरबुवा आउनुभयो र हप्काउनु भयो। पछि हामीले लगेर ती अण्डा गुँडमै राखिदियौँ। मैले उच्च शिक्षा अध्ययन सुरू गर्दै गर्दा हजुरबुवा बित्नुभयो त्यसैलै उहाँको प्रकृतिप्रतिको लगाव धेरै बुझ्न सकिन। 

कालान्तरमा मेरो अध्ययनको विषय जीवविज्ञान भयो र रूचीको क्षेत्र वातावरण। त्यसपछि म हजुरबुवाको व्यवहार बढी नै सम्झिरहेँ। स्नातकोत्तर पास गरेपछि मैले पनि पर्यावरणमैत्री कुनै एक आचरणमा प्रतिबद्ध हुने सोच बनाएँ। पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल वा गाडी नकिन्ने, नचलाउने एकल निर्णय लिएँ।

पेसाले म नेपाल पन्छी संरक्षणमा सङ्घमा विज्ञ थिएँ र कामको प्रकृति फिल्डमा बढी हिँडने थियो।

स्वाभाविक रूपमा उक्त निर्णय अत्यन्तै कठिन र चुनौतीपूर्ण थियो। म सार्वजनिक यातायातमा र धेरै जसो पैदल नै हिँडथे। पैदल हिँडदा मैले थुप्रै नयाँ ठाउँहरूमा गिद्धका गुँड भेटाउथेँ र समुदायसँग सहज भेटघाट तथा छलफल हुन्थे। तर समयको खर्च र दु:ख भने धेरै नै हुन्थ्यो। 

सन् २०१५ मा म सङ्घको काठमाडौ अफिसमा बढुवा, सरुवा भएँ। त्यसपछि कैयौँपटक निर्णय उल्टाउँ कि भन्ने लाग्यो तर सोचेँ त्यो फिल्डको कठिनतम समय त पार गरियो। यही सोचले सन् २०१८ बाट त सवारी चालक अनुमति पत्र नै नवीकरण गर्न छाडेँ।  

म बानेश्वरबाट नेपाल यातायात चढेर लाजिम्पाट कार्यालय जाने आउने गर्थेँ। कार्यालय समयमा नेपाल यातायातमा यात्रुको चाप क्षमता भन्दा चार–पाँच गुना बढीसम्म हुन्थ्यो। यात्रामा देखिने, भोगिने मान्छेको मनोविज्ञान, सुनिने छलफल, संर्घष र सहनशीलतामा मैले हरेक दिन नयाँ नयाँ ज्ञान भेट्थेँ।

फरक-फरक समाजसँग दिनहुँ साक्षात्कार हुन्थेँ। यात्रा त मलाई रमाइलै लाग्थ्यो तर मनोवैज्ञानिक दबाब भने झेलीरहनुपर्थ्यो । कार्यालय, नजिकका आफन्त र साथीभाइ भन्ने गर्थे, जागिरे मान्छे बाइक त चढ्नु पर्‍यो। म प्रतिक्रियात्मक कम हुन्थेँ, फिस्स हाँस्थे मात्र। 

मैले बाइक नचढेर प्रतिदिन कम्तीमा एक लिटर पेट्रोल देशमा कम खपत भएको छ र करिब साढे छ सय ग्राम कार्वनडाईअक्साई उत्सर्जन भएको छैन नि भन्यो भने उनीहरू झन् हाँसोको पात्र बनाउँथे। हुन त मेरो व्यवहारले दिनमै लाखौँ बाइक र हजारौँ  गाडी गुड्ने काठमाडौको पर्यावरणमा केही फरक नै पर्दैन। मैले आफ्नो कर्तव्य ठानेँ। बानेश्वरबाट सुन्धारा वा जावलाखेल जाने बेला रु. १५ मा बस चढ्न छाडेर रु. २० तिरेर सफा ट्याम्पो चढ्छु। चन्द्रागिरी केबलकार कहिल्यै चढिन। मेरा यस्ता सामान्य दर्जन जति पर्यावरणमैत्री प्रतिबद्धता छन् जसले मलाई आत्मसन्तुष्टि दिएको छ। 

ठूला-ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार र अन्तरक्रियामा हामीले पर्यावरण संरक्षणका निकै ठुला कुरा गर्छौँ, अनेकन् उपायहरू सुझाउँछौ। तर के हामीले आफ्नो जीवनमा त्यसको केही अंस आत्मसाथ गरेका छौ ?

मैले यहाँ उठान गरेको विषय बाइक वा गाडी पर्यावरण विरोधी भन्ने हुँदै होइन खाली हामीले कुनै न कुनै पर्यावरणमैत्री क्रियाकलापलाई आत्मसाथ गरौँ कि भन्ने मात्र हो। चाहे त्यो जन्म दिनमा वृक्षरोपण गर्ने कार्य होस वा माछा मासु त्याग्ने काम।

हामी खुसी हुन ठूलो कुरै नचाहिने, बुवाले घरको छतमा चरालाई चारो र पानी खुवाउने व्यवस्था देखेर दङ्ग, हिजो मात्र ससुरा बुवाले घरमा गौँथलीले गुँड बनाउँदै गरेको र त्यसको सुरक्षाको व्यवस्था गरेको फोटो फेसबुकमा पोस्ट गरेको हेर्दै फुरुङ्ग। आमाले करेसाबारीमा लगाएको सिमीको झालमा ओथारो बसेको जुल्फे जुरेलीसँग भर्खर प्रेममा पर्दाजस्तो नजर जुधाउँदैमा प्रफुल्ल। 

ठूला-ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार र अन्तरक्रियामा हामीले पर्यावरण संरक्षणका निकै ठुला कुरा गर्छौँ, अनेकन् उपायहरू सुझाउँछौ। तर के हामीले आफ्नो जीवनमा त्यसको केही अंस आत्मसाथ गरेका छौ ? हामी सबैले आफ्नो दैनिकीमा पनि कुनै न कुनै पर्यावरणमैत्री क्रियाकलापलाई आत्मसाथ गरेर अघि बढ्यौँ भने पर्यावरणीय प्रणालीको संरक्षण वा पुनर्स्थापना सहयोगी हुन सक्छ। जसले आजको नारालाई सार्थकता दिनेछ। आज जुन ५, विश्व वातावरण दिवस । यो वर्ष विश्व वातावरण दिवसको नारा पर्यावरणीय (प्राकृतिक) प्रणालीको पुनर्स्थापना छ। आउनुस् आजैदेखि वातावरणमैत्री बानीको सुरूवात गरौँ । होइन भने बर्सेनी दिवस मनाइरहने र वातावरण बिग्रिरहने छ। 

मेरो घरमा चराको लागि पानी र चारो खाने स्थान

(कृष्ण भुसाल गिद्धको अनुसन्धान, संरक्षण र लेखनमा रुची राख्नु हुन्छ)