जडीबुटीबारे खोज्न जाँदा झन्नै हामीलाई खोज्नु परेको: हुम्ला जिल्लाको लाम्पाटाको यात्रा


     डा. दिपेश प्याकुरेल    
     जेठ २४ गते २०७८ मा प्रकाशित


२०७२ साल साउन ९ गते शनिवार म र एक जना भाइ चितवनबाट रात्रिकालीन बसमा नेपालगन्ज पुग्यौँl  भोलिपल्ट बिहान ९:३० मा तारा एयरको विमान चढेर १०:१५ बजेतिर सिमकोट पुग्यौँ । करिब ४५ मिनेटमा हामी नेपालकै अग्लो ठाउँमा रहेको विमानस्थल झर्यौंl  चितवनदेखि नेपालगञ्जको गर्मीलाई सिमकोटको विमानस्थल ओर्लनासाथ चिसो हावाले बिर्साइदियो।अनुसन्धान सहायक भाइ मेरो विद्यावारिधिको तथ्याङ्क सङ्कलनका लागि सँगै गएका थिएl

मेरो विद्यावारिधिको विषय जडीबुटीको व्यापार भएकोले स्थानीय जडीबुटी व्यापारी विजय लामाको सिमकोटको होटेलमा हाम्रो बस्ने प्रबन्ध पहिले नै मिलेको थियो। सिमकोटमा तीन दिन बसेपछि म अनुसन्धान सहायक भाइलाई सिमकोटमानै छोडेर यारी /हिल्सातिर लागेँ र सिमकोट छोडेको ६ दिनमा फेरि सिमकोट आएर केही दिन स्थानीय व्यापारीहरूसँग सिमकोटमा नै तथ्याङ्क सङ्कलन गरेर बसेँ। सोही क्रममा रेन्जर श्री लोकजंग शाहीले रायाको लाम्पाटामा जडीबुटी सङ्कलन भइरहेको छ, धेरै व्यापारी र सङ्कलकहरू त्यहीँ नै भेटिन्छन्, काम सहज हुन्छ भन्ने जानकारी दिए l एकजना स्थानीय ‘गाइड’ भाइसहित हामी तीनजना साउन २१ गते बिहीबार सिमकोटबाट राया गाउँतिर लाग्यौँ र सोही दिन साँझको ६ बजेतिर राया गाउँ पुग्यौँ।

शुक्रवार बिहान ९ बजेतिर नास्ता गरेर केही चाउचाउ र चिउरासहित हामी  राया गाउँबाट लाम्पाटाको यात्रामा लाग्यौँ। अनुसन्धान सहायक भाइलाई अघिल्लो दिनको हिँडाइले नै बेस्सरी गालेछ, हिँड्नै सकेनन् र त्यही राया गाउँमा बसे। राया गाउँबाट लगभग ३ देखि ४ घण्टाको हिँडाइमा खर्क पुगिन्छ, जहाँ केही गोठहरू रहेको र खाना त्यही खानु भन्ने हामीलाई जानकारी गराइएको थियो। सोही सूचनाअनुसार हामी उकालो लाग्यौँ। तीन घण्टा जति उक्लेपछि जङ्गलको बिचमा दोबाटो आयो। दुईमध्ये एउटा अलि फराकिलो तर झारहरू उम्रिएको थियो भने अर्को कम फराकिलो तर सफा थियो। हामी दुवै जना त्यहाँको लागि नौलो भएकोले कुन बाटो खर्क पुगिन्छ  भन्ने थाहा भएन। गाइडले फराकिलो बाटो जाऊँ भने तर मैले मान्छे कम हिँडेकाले बाटोमा झारहरू उम्रिएको हो, सफा बाटो जाऊँ भनेँ।

दिउँसोको १२ बजेको आसपास हामी अगाडि बढ्यौँ। गुराँस, ठिँगुरे सल्ला र धुपीसल्लाको बाक्लो जङ्गलमा साउनमा पनि गर्मी थिएन l हाम्रो अनुमानमा बढीमा १ घण्टामा खर्क पुगिन्छ भन्ने थियो। अगाडि बढ्दै गयौँ, जङ्गल झन् बाक्लो र सुनसान हुँदै गयो। बिचबिचमा कैयन स-साना सहायक बाटोहरूलाई छोड्दै अगाडि बढ्यौँ । एक घण्टामा पुग्नुपर्ने खर्क लगातार तीन चार घण्टा हिँडेपछि पनि नआएपछि मनमा चिसो पस्योl  कतै बाटो त भुलिएन ? तर पनि गोरेटो स्पष्ट भएकोले अगाडि बढ्दै गयौँ। फेरि गाउँलेको एक घण्टा भनेको सधैँ एक घण्टा कहाँ हुन्छ र । पहाडी र हिमाली जिल्ला घुम्ने क्रममा गाउँलेको दुई घण्टा कटाउन मलाई धेरै पटक छ/सात घण्टा लागेको छ। यस्तै सोच्दै हामी अगाडि बढ्यौँ। थप एक घण्टा हिँडेपछि बाटो सकियो। जङ्गलमा बाटो बिराइयो। घडी हेरेको पाँच बज्न लागेछ। फर्कन सकिन्न भन्ने पक्का भयो।

बाटो बिराएर हामी त्यो बादल लागेको भाग भन्दा पनि धेरै अगाडि पुगेछौँ

एक छिन त्यसै झोक्राएर बस्यौँ। साउनमा दिन लामो हुने भएकोले हामीसँग रात बिताउने व्यवस्था मिलाउन अझै दुई घण्टा जति समय थियो। हामीले रात त्यहीँ बिताउने निधो गर्‍यौँl

सबैभन्दा पहिले खोल्साबाट पानी बोतलमा भर्यौं। हामी हराएको वनमा तालिसपत्रको रुखको बाहुल्यता थियो। तालिसपत्रको हाँगा एकै ठाउँबाट चारैतिर फैलिएको हुन्छ। जसका कारण हिमाली भेगमा दाल फिट्न फिर्के तालिसपत्रकै बनाइन्छ । वरिपरि धेरै बेर हेरेपछि एउटा रुख भेट्यौँ जसको ४ मिटर जति माथिबाट हाँगाहरू एकै सतहमा फैलिएका थिए। माथि चढेर हाँगा हेर्दा दुई जना बस्न मिल्ने रहेछ।

तल झरेर रात नहुन्जेल बस्यौँ र अँध्यारो भएपछि माथि चढ्यौँ। रुखको हाँगामा सुत्ने कुरा भएन त्यसैले स्लिपिङ ब्याग ओढेर चाउचाउ, चिउरा र पानी खाँदै गफ गर्दै बस्यौँ। जीवनमा त्यति सुनसान र निस्पट्ट अँध्यारोको अनुभव पहिला कहिल्यै गरेको थिइन, पहिला जङ्गलमा नहराएकोले पनि होला। नेपथ्यबाट कहिलेकाहीँ जनावर कराएको आवाज आउँथ्यो। डर पनि लागेको थियो तर डर भन्दा बढी रोमाञ्चित नै थिएँ। रातभरि गफ गरेर बसियो।

बिहान पाँच बजेतिर उज्यालो भएपछि रुखबाट झरेर मुख धोइबरी अघिल्लो दिन हिँडेको बाटो लगभग कुदेरै फर्कियौँ। हिजो पाँच घण्टा लागेको बाटो ओरालो भएकोले पनि होला दुई घण्टामै हिजोको दोबाटोमा आइपुग्यौँ। घर आएजस्तो लाग्यो। अनि त्यहाँ एकछिन बसेर, रमाइलोसँग अघिल्लो दिनको निर्णयको पुनरावलोकन गर्दै हिँजो छोडेको बाटो उकालो लाग्यौँ।

केही अगाडि बढ्नासाथै कपाल र दारी जिङ्रिङ्ग भएको, स्पष्टसँग बोल्न नसक्ने एक व्यक्ति भेट भयो। उनलाई भेट्दा देउता भेटेझैँ भयो। उनलाई सबै कुरा विस्तारमा भन्यौँ र खर्क जाने सही बाटो कुन हो भनेर सोध्यौँ। उनले हाम्रो मनोदशा बुझे होलान् र हल्का मुस्कुराउँदै हामीसँगै माथि लागे। लगभग १० मिनेट हिँडेको के थियौँ, खर्क आयो। मरिमरी हाँस्यौँ। आखिरमा हामी हराएको दोबाटोबाट १५ मिनेटको दूरीमा खर्क रहेछ।

राया गाउँमाथिको खर्क र गोठ, जहाँ पुग्दा हामी जङ्गलमा एक दिन हराएका थियौँ

खर्कमा पुगेपछि चौंरीधनी (चलनचल्तीको बुझाइमा गोठालो) ले खाना पकाए। खाना पकाउँदै गर्दा उनलाई पनि घटनाको बेलिबिस्तार लगायौँ र लाम्पाटासम्म पुग्ने हाम्रो अगाडिको योजनाबारे जानकारी गरायौँ। साथै अगाडि पनि फेरि बाटो बिराउन सकिन्छ कि भनेर भन्यौँ। चौंरी धनीकहाँ संयोगले लाम्पाटा जानको लागि जडीबुटी संकलकहरू पनि आएका रहेछन् । चौंरीधनीले हामीलाई तिनकै साथ लगाएर लाम्पाटा पठाउने व्यवस्था गरे।

खर्कबाट लाम्पाटा जानको लागि ४ हजार ४ सय १६ मिटरको खरिखाने पास कट्नु भन्दा अगाडिको दृश्यको सुन्दरताको वयान नै गर्न सकिन्न। फूलहरू पनि बेजोडले फुलेका थिए। कुनै कवि त्यहाँ पुगेका भने त्यहाँको सुन्दरताको बारेमा महाकाव्यै लेखेर फर्कन बेर लगाउँथेनन् होला।

खाना खाएर हामी एक जना महिलाको साथ लागेर अगाडि बढ्यौँ। अगाडिको बाटो र दृश्य रमणीय थियो। खुला तर्पायाँ परेको हरियो घाँसे मैदान परबाट हेर्दा अति सुन्दर देखिन्थ्यो। कुनै गल्फ कोर्सभन्दा कम थिएन। अझ त्यहाँबाट अगाडिको जटामसीलगायतको जडीबुटी पाइने बझाङको लेकको दृश्य त अनुपम थियोl

हिँड्दै जाँदा अन्य जडीबुटी सङ्कलक तथा साना व्यापारीहरू पनि भेटिए।  रमाइलोसँग गफ गर्दै उकालो चढ्दै गयौँ। खर्कबाट लाम्पाटा जानको लागि ४ हजार ४ सय १६ मिटरको खरिखाने पास कट्नु भन्दा अगाडिको दृश्यको सुन्दरताको वयान नै गर्न सकिन्न। फूलहरू पनि बेजोडले फुलेका थिए। कुनै कवि त्यहाँ पुगेका भने त्यहाँको सुन्दरताको बारेमा महाकाव्यै लेखेर फर्कन बेर लगाउँथेनन् होला।

राया गाउँ माथिको खर्कबाट एक घण्टा अगाडि  लाम्पाटा जाने बाटोबाट देखिएको दृश्य

हिँड्दै जाँदा खरिखाने पास  आयो l मनै हल्का भयो l पासमा एकछिन जडीबुटी सकलकका अनुभव, जडीबुटीले स्थानीय जीविकोपार्जनमा पार्ने प्रभाव र वातावरणमा पर्न सक्ने अन्य प्रभावहरूका बारेमा छलफल गरी ओरालो लाग्यौँ।

मेरो अनुमानको ठीक विपरीत पास सकेपछिको ओरालो यति अप्ठ्यारो थियो कि भनेर साध्य नै छैन। लगभग ६० डिग्रीको ओरालो, त्यसमाथि पानी परेकोले रातो माटो चिप्लने। सिधा तल झर्ने संभावना नै थिएन। पछाडि फर्किएर ढाडले भुईँमा अडेस लगाएर कुहिनाको आडमा बिस्तारै तल झर्नुपर्ने।

लाम्पाटाबाट जटामसी सङ्कलन गरेर तल राया गाउँमा ल्याइँदै 

यो बाटोमा भेडा र चौँरीबाहेक अन्य घरपालुवा जनावर हिँड्न नसक्ने भएकोले लेकको जडीबुटीहरू भेडा र चौरीबाट नै ढुवानी गरिन्छ । भेडालाई पनि यो चिप्लो बाटो चढ्न अति नै गारो भएकोले कसरी फर्कने भन्ने पिर पो लाग्न थाल्यो। लगभग आधा घण्टा यसरी झरेपछि ढलान अलि कम भयो, रातो माटो सकियो र बलौटे माटो सुरु भयो । केही समयका लागि बाटो सहज भयो तर क्षणिक। अब बाटो खोल्साको तिरतिरबाट थियो र कतिपय ठाउँमा पहराको तल पानीमा भिज्दै हिँड्नु पर्ने। त्यस लगत्तै लगभग १ घण्टा जति खोलामाथि जमेको हिउँमाथि हिँड्नु पर्ने l हाइकिङ जुत्ताले धानेन, कति लडियो कति, लेखाजोखै छैन ।

रक्सीले मातेकाहरूबिच ‘घमासान युद्ध’ सुरु भयो र रगत बग्न थाल्यो । हामी अब त्यहाँ बस्ने अवस्था नै भएन र ज्यान जोगाउन पालको तलबाट छिरेर अर्को पालमा शरण लिएर रात कटायौँ ।

खोलामाथि जमेको हिउँ माथिबाटै हिँड्नु पर्ने बाटो

एक घण्टापछि बल्ल तल पुग्यौँ र अलि ठुलो खोलाको तिरैतिर हिँड्न थाल्यौँ। अलि अगाडि बढेको अर्को खोल्सो आयो। पानी परेकोले भेल ठूलो थियो र तर्नका लागि केही पनि थिएन। एउटा ढलेको रुखलाई खोल्सोमाथि राखेर घस्रेर तर्यौं। थप आधा घण्टा हिँडेपछि साँझको पाँच बजेको आसपास लाम्पाटा पुग्यौँ। यो बाटोमा हरेक वर्ष २-३ जनाको लडेर मृत्यु हुन्छ भन्ने सुनेको थिएँ, आफैँ गएपछि थाहा भयो, हो रहेछ।

लाम्पाटा दुईवटा फुटबलको मैदानभन्दा अलि सानो, माथि पहरा, तल खोला भएको चौर रहेछ। सायद यही भएर लाम्पाटा (लामो पाटो) भनेको होला। वरिपरि धुपिसल्लाको रुख भएको लाम्पाटामा साउन र भदौ दुई महिना मात्र मानिस जडीबुटी सङ्कलनका लागि आउने रहेछन्। सङ्कलकहरू माथि लेकबाट मुख्य रूपमा जटामसी सङ्कलन गरेर यहीँ लाम्पाटामा व्यापारीलाई बेच्दा रहेछन्।

त्यहाँ पुगेपछि सिमकोटमै चिनजान भएका एक जडीबुटी व्यापारीसँग भेट भयो र उनकै अस्थायी होटेल (त्रिपाल लगाएर बनाएको) मा बास बस्ने भइयो। वासको व्यवस्था भएपछि सङ्कलकसँग अनौपचारिक छलफलका लागि जटामसी बोरामा हाल्दै गरेकाहरूसँग कुराकानी सुरु गरेँ। सबै जना छक्क परेर मलाई हेर्न थाले। भएछ के भने लाम्पाटामा आउने जिल्ला बाहिरको मानिसको रूपमा म नै लगभग पहिलो परेछु। प्रहरीहरू पनि यहाँ आएको कसैलाई थाहा छैन रे। आउनु पनि किन ? मलाई भने त्यसै रमाइलो लाग्यो, कतै त पहिलो भइयो नि भनेर।

लाम्पाटा

विगत दुई दिनमा जे जति अनुभव लिइयो, त्यसको अन्त अझ रोमाञ्चक हुन त बाँकी नै थियो । साँझ पर्‍यो, सबैको काम सकियो, अनि थकाइ मार्नकालागि चाइनिज रक्सीको बोतल खुल्न थाले। मानिसहरूको स्वर ठूलो हुँदै गयो र ठूलो हुँदै थियो आँट, चाइनिज रक्सीको कमाल । क्षणभरमै बोतल फुटेको आवाज आउन थाल्यो र मान्छे कराएको पनि । रक्सीले मातेकाहरूबिच ‘घमासान युद्ध’ सुरु भयो र रगत बग्न थाल्यो । हामी अब त्यहाँ बस्ने अवस्था नै भएन र ज्यान जोगाउन पालको तलबाट छिरेर अर्को पालमा शरण लिएर रात कटायौँ । भोलि बिहान उठेर हेर्दा झगडियाहरूको गालामा सिसाको गहिरो खत थियो र दुईजना झगडियाहरू केही नभएझैँ अँगालो हालेर हिँड्दै थिए … वाह रे रक्सी। अनि त्यही दिन खाना खाएर रायाको खर्कतिर फर्किई एक अभूतपूर्व यात्राको समापन भयो।

(डा. दिपेश प्याकुरेलले डेनमार्कको कोपनहेगन विश्वविद्यालयबाट जडीबुटीको क्षेत्रीय व्यापारमा विद्यावारिधि गरेका हुन् l उनी वनस्पतिको अध्ययन, संरक्षण, जडीबुटीको अवस्था आदिको बारेमा रुची राख्छन्।)