अवकाश लिँदै मानिस बचाउने मुसा


     नेचर न्युज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


कम्बोडियामा मोगावा नामको मुसाले विगत पाँच वर्षदेखि जमिनमा राखिएका दर्जनौं विस्फोटक पदार्थहरू पत्ता लगाउँदै आएको छ। जसले विस्फोटक पदार्थहरूबाट मानिसहरूको ज्यान जान सक्ने जोखिमबाट बचाउँदै आएको छ। यो मुसा स्वस्थ भए तापनि उमेरका कारण पहिलाजस्तो छिटो काम गर्न नसक्ने भएकाले यसै महिनादेखि उक्त जिम्मेवारीबाट सम्मानित अवकाश दिने सोच अधिकारीहरूले बनाएका छन्।

जब मुसाहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन् त्यसपश्चात उनीहरूलाई अवकाश गृहमा पठाइन्छ र खाना बस्नको राम्रो सुविधासहित उनीहरू खेल्दै रमाउँदै बाँकी जीवन व्यतित गर्छन्।

मोगावा सन २०१४ मा तान्जानियामा जन्मिएको अफ्रिकन जैन्ट पाउच जातको मुसा हो। यसलाई २०१६ मा कम्बोडियामा लगिएको थियो। यो मुसालाई एपोपो नामको गैरसरकारी संस्थाले सुँघेर विस्फोटक पदार्थ पत्ता लगाउने तालिम दिएको थियो। यो र यसका अन्य साथीहरूलाई दिइएको विशेष तालिमबाट यिनीहरू विस्फोटक पदार्थ पत्ता लगाउन र मानिसलाई सचेत गराउन सफल हुँदै आएका छन्। जसका कारण मानिसहरूले विस्फोटक पदार्थहरू हटाउन र जीवन रक्षा गर्न सफल भएका छन्।

फोटो : APOPO

यस मुसाका अन्य सहकर्मीहरू भन्दा यसमा विशेषा क्षमता थियो। चार वर्षमा यस मुसाले २४ लाख वर्ग फिट क्षेत्रफललाई विस्फोटक पदार्थ मुक्त गर्न सहयोग गरेको थियो। यस अवधिमा उसले पत्ता लगाएका ७१ वटा विस्फोटक पदार्थमध्ये ३८ वटा विस्फोट नभएका उच्च जोखिमका थिए। युद्धका बेला राखिएका यस प्रकारका विस्फोटक पदार्थ हटाउन सहयोग गरेर यस मुसाले मानिसहरूलाई मृत्यु र घाइते हुनबाट बचाएको छ।

उसको जीवन रक्षा गर्ने उत्कृष्ट कामलाई कदर गर्दै एपोपो नामक संस्थाले टप एनिमल अवार्ड समेत प्रदान गरेको थियो भने बेलायतबाट प्रदान गरिने पिडिएसए गोल्ड मेडल समेत प्राप्त गरेको थियो। विगत ७७ वर्षदेखि पिडिएसए गोल्ड मेडल कुकुर, घोडा, सुगा र बिरालोहरूलाई प्रदान गरिंदै आएको थियो तर गत वर्षदेखि यस अवार्ड प्राप्त गर्ने सूचीमा यो पहिलो मुसा भएको छ।

पिडिएसए अवार्ड दोस्रो विश्वयुद्धका समयदेखि उनीहरूले प्रदर्शन गर्ने अद्वितीय वीरताका लागि प्रदान गरिंदै आएको थियो। मोगावालाई प्रदान गरिएको उक्त मेडल विषेश प्रकारको छ । यो उसको शरीरमा मिल्ने खालको छ। यो मेडल लगाएर काम गर्न उसलाई कुनै बाधा पर्दैन।

फोटो : APOPO

जमिनका विस्फोटक पदार्थहरू पत्ता लगाउने कार्य निकै खर्चिलो र झन्झटिलो कार्य भएका कारण एपोपो नामक संस्थाले यस सम्बन्धमा नयाँ प्रविधिको खोजी गर्दै आइरहेको थियो। त्यसैले उनीहरूले मुसामा यो क्षमताको अध्ययन गरेका थिए। यस संस्थाका प्रमुख कार्यकारी क्रिस्टोफ कक्सले बताएअनुसार मुसाले अत्यन्त छिटो काम गर्न सक्ने र आधा घण्टाको समयमा २ सय वर्ग मिटर क्षेत्रफलसम्मको स्क्रिन गर्न सक्छ। जुन काम गर्न मानिसहरूलाई चार दिनसम्म लाग्न सक्छ।

मुसाहरूलाई काममा खटाउनु अगाडि उनीहरूको क्षमताको परीक्षण गरिन्छ। यदि मुसाहरूले ८ हजार ६ सय वर्ग फुटको जटिल स्थानमा भएका विस्फोटक पदार्थहरू एकीनका साथ पत्ता लगाउन सके भने मात्रै उनीहरू यस कार्यका लागि दक्ष छन् भनी काममा खटाइन्छ। यस कामको गुणस्तरमा सर्वसाधारणलाई विश्वस्त बनाउन मुसाले पहिचान गरेका विस्फोटक पदार्थहरू हटाएर यो टिमका मानिसहरू फुटबलसमेत खेल्छन्।

यस प्रकारका मुसाहरूलाई तालिम दिंदा सकारात्मक रूपमा प्रेरणा जगाउने विधिलाई अवलम्बन गरिन्छ। यस विधिमा मुसाहरूलाई गन्ध छुट्याएर विस्फोटक पदार्थको गन्ध छनौट गरी सकेपश्चात खानेकुरा उपलब्ध गराइन्छ। जसका कारण मुसा उक्त कार्यका लागि प्रेरित भइ रहन्छ।

मुसामा दृश्य शक्ति कमजोर भए तापनि उनीहरूको सुँघ्ने क्षमता र सानो आकारको शरीर भएका कारण यस कार्यका लागि उत्कृष्ट मानिन्छन्। मुसाहरूलाई जमिनमा विस्फोटक पदार्थको आशङ्का भएका ठाउँमा डुलाएपश्चात त्यस्ता पदार्थ भएका स्थानमा खोस्रिएर त्यसको सङ्केत दिन्छ।

मुसामा दृश्य शक्ति कमजोर भए तापनि उनीहरूको सुँघ्ने क्षमता र सानो आकारको शरीर भएका कारण यस कार्यका लागि उत्कृष्ट मानिन्छन्। मुसाहरूलाई जमिनमा विस्फोटक पदार्थको आशङ्का भएका ठाउँमा डुलाएपश्चात त्यस्ता पदार्थ भएका स्थानमा खोस्रिएर त्यसको सङ्केत दिन्छ। त्यसपश्चात उसलाई उपहारस्वरूप केरा खान दिइन्छ। जब मुसाहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन् त्यसपश्चात उनीहरूलाई अवकाश गृहमा पठाइन्छ र खाना बस्नको राम्रो सुविधासहित उनीहरू खेल्दै रमाउँदै बाँकी जीवन व्यतित गर्छन्।

हालसम्म मुसाहरूले १० लाख भन्दा बढी मानिसहरूको जीवनलाई जोखिममुक्त बनाएका छन् भने आगामी १० वर्षभित्र कम्बोडियालाई जमिनको विस्फोटक पदार्थ मुक्त क्षेत्र बनाउने विश्वास लिएका छन्।