
दुई दिन देखी अनवरत बर्साद भइरहेको छ,अझै केही दिन भइरहने प्रक्षेपण गरिएको छ। दुई दिनको बर्सादको बाढीले भइरहेको धनजनको क्षति हेर्दा आउने दिनहरु अझ बीभत्स हुने आङ्कलन गर्न सकिन्छ। किनभने बर्सादको निरन्तरतामा बाढीले गर्ने क्षतिको अनुपात बढ्दै जान्छ।
पानी हिजो पनि पर्थ्यो। यो भन्दा पनि ठुलो पर्थ्यो। अहिले आउने भन्दा अझै ठुलो बाढी आउँथ्यो। बाढी आउँदा किसानहरु हर्षले गदगद हुन्थे। किनभने मूलहरू फुट्थे ,टारी टुक्रामा धान रोप्न पाइन्थ्यो ,पाखामा भल छोपेर धान रोपिन्थ्यो। गैह्री खेतमा बाढी पसेर जङ्गलको झारपातपातहरु ढले पडेका रुखहरू कुहिएर बनेको सुन जस्तो मल गराभरि लबालब भरिन्थ्यो। खोला कुला खहरेमा पानीको श्रोत बढेर खेतमा पानी पटाउन आफू आफू दाजुभाइ बिच टाउको फोराफोर गर्नु पर्दैनथ्यो।
तर आज बाढी यमराज बनेर किन आउँछ? धनजन,श्रीसम्पत्ति लाला बाला सोहोरेर बगरमा किन मिल्काउँछ? हिजोको वरदान आज अभिसाप किन भइरहेछ? यसको जबाफ सिधा छ कारण बर्साद होइन,बाढी होइन, हामी स्वयम हौँ।
निर्ममताकासाथ जङ्गल फाँड्यौ ,नदी खोला खहरे एक्साभेटरले उधिन्यौँ , पहाडमा डोजरले कोतर्यौं,नदीको मापदण्ड मिचेर पानीमै सिमेन्टको खाँबो गाड्यौँ अनि घर ठड्यायौँ ।नदी किनारमा गरिब सुकुम्वासीको नाममा भोटको खेती गर्यौँ। नदी,खोला, ताल खहरे पुरेर भूमाफियाहरुलाइ बिक्री गर्यौँ। विष रोपेर अमृत फल्छ?
प्रकृति माता हुन। उनले आफ्नो तजबिजले करुणाका धारहरू बहाउंछिन। हाम्रो कर्तव्य उनको तजबिजमा चल्ने थियो तर हामीले प्रकृतिलाई आफ्नो तजबिजमा चलाउन खोज्यौँ ,आफ्नो स्वार्थमा घुमाउन खोज्यौँ,अनि परिणाम विनाशकारी नभएर कल्याणकारी हुन्छ त?
अझ्झै समय छ ,सुधार्न सकिन्छl युद्ध स्तरमा प्रकृतिको रक्षा अभियानमा लागौँ। समवेदना सन्देश, राहत,लुगाफाटो, चामल उठाउने राजनीतिले राजनीतिको रोटी सेकिएला ,समाजसेवी हुने कसैको धोको पुग्ला, तर जनता र देशको हित मरिकाट्टे हुँदैन।
(बिश्व सिग्देल राजनैतिक विश्लेषक तथा सामाजिक अभियन्ता हुन्)