
तलतिर गर्मी भए पनि रारामा चिसो नै छ l हो म रारा तालको कुरा गरिरहेको छु l त्यही रारा ताललाई समेटेर स्थापित रारा राष्ट्रिय निकुञ्जमा काम गरिरहेका हामी सुसारेको बारेमा पनिl अर्थात् निकुञ्ज प्रशासन अनि निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको टुकडीl हामीलाई पोहर साल जस्तै यसपाली पनि लकडाउनले रोकेको छैनl
अत्यधिक जाडोको कारण ढिला उठे पनि फटाफट नित्यकर्म सकी सुसारेहरुको गस्ती सुरु हुन्छl बाटोमै फोनको घण्टी बज्छl अहो घण्टी बज्यो त, म मनमनै खुसी हुन्छुl यतातिरको नेटवर्क नै कमजोर, फोन आउँदा पनि खुसी हुनु पर्नेl
‘हेलो !! गुड मर्निंग, के छ खबर ?’ मैले भनेका यी कुराहरुहरू उनले सुने कि सुनेनन् कुन्नि , तर फोन काटियोl नेटवर्कको समस्याले गर्दा कहिले पनि पूरा कुरा गर्न पाइन्नl फेरि फोन आयो l काटिएला कि भनेर, सबै बेलिबिस्तार लगाएँl

‘गस्तीमा छु म’ भन्दा भन्दै फोन फेरि काटियोl फोन देखेर बेस्कन रिस उठ्छl यस्तो दुर्गममा बस्नु छ, घरमा राम्रोसँग कुरा पनि गर्न सकिन्नl घरपरिवारसँगको कुराको एक मात्र विकल्पको नै यो हालत भएको कैयौँ महिना भैसकेको छ, कहीँ कतैबाट केही पहल भएको अहिलेसम्म पनि महसुस भएको छैन l
फोन गोजीमा राखी गन्तव्यतिर होमिन्छु l
‘यही फोनले गर्दा मेरो त घरायसी सम्बन्ध नै धरापमा पर्ला जस्तो पो छ सर, एक त घर पनि जान पाको छैन l’ एकजना सुसारे दुख पोख्छन्l
‘त्यही त है !’ म पनि उनलाई साथ दिन्छुl हामी हिँडीरहन्छौंl केही पर एक जना महासय तालमा पौडी रहेका थिएl
‘सर हेलो सर ! यहाँ पौडी खेल्न पाइँदैन है , हजुर बाहिर निक्लिहाल्नुस् त ?’ एक जना सुसारेले भनेl तर उनले टेरेनन्l
भित्री वस्त्रमा सज्जित एक युवक अप्सराको सुन्दरतामा डुबुल्की मार्दै थिए l अर्को एकजना आधा खुट्टा पानीमा राखी क्यामेरा तेर्साउँदै थिए l
‘किन नि के हुन्छ र’ ? दुवै जना रुखो स्वरमा झर्किएl
सर यो निकुञ्जको नियम कानुनले वर्जित गरेको कुरो हो, यहाँ फोहर फाल्न,पौडी खेल्न, माछा मार्न पाइँदैनl हामी सबैले भन्यौँ l एक्लो आवाज मात्र भएको भए सायद उनी दुई जना जवाफी हमलामा उत्रिन्थे होला , यहाँ सबै सुसारेहरूको आवाज सुन्दा मौन रूपमै बाहिर निस्किँदै अप्सरामाथि आक्रोश पोखिरहेको देखिन्थ्योl उनीहरूको अनुहारमा खुसी थिएनl
यो त दिनहुँ हुने प्रक्रिया न होl हामी हिँडिरहन्छौंl
पौडी खेल्ने मात्र होइन ,रारालाई हेर्न आउनेको लर्को लाग्छl तर पनि उनलाई भने कुनै असर परेको देखिँदैनl स्वर्गमा अप्सरालाई नियाल्न अनेकौँ देवगण अनि राक्षसहरू आएझैँ यता उनीलाई नियाल्न कति देवतारूपी पर्यटक आउँछन् अनि कति राक्षस रूपीl देउता रूपी पर्यटक आउँछन्l उनलाई नियाल्छन्,उनको सुन्दरतामा मन्त्रमुग्ध हुँदै उनलाई कुनै असर नपुर्याई उनीसँगको क्षण क्यामेरामा कैद गर्छन् र सम्झनाको चिनो स्वरूप त्यही लिएर जान्छन् l
अर्कोथरिका आउँछन्, एकदम फरकl उनको चीरहरण गर्न खोज्ने अनि उनको त्यो साधना भङ्ग गराउन खोज्ने राक्षसरूपीहरूl आफ्नै दासिनी बनाउन पाए नि हुने झैँ गरी उनको सुन्दरतामा हिलो छ्याप्न खोज्नेहरूl सुसारेहरूको निरन्तर रेखदेखले गर्दा उनीहरूको कार्य सफल भएको हुँदैनl
एकछिन पर नपुग्दै गुनगुन आवाज आएको जस्तो सुनिन्छl नजिकै प्रेमी जोडी एक अर्काको हात समात्दै अप्सराको छेवैमा हिँडिरहेको दृश्य देखिन्छl म एकटकले तिनीहरूलाई नियाल्छुl उनीहरूको त्यो दृश्य नै रमाइलो लाग्छ नियालिरहन्छुl त्यो ठाउँमा म भएको कल्पना गर्छुl आनन्द लाग्छl म अगाडि बढी रहन्छुl म मेरी उनीसँगको वार्तालापमा डुब्छुl
एकछिन पर नपुग्दै गुनगुन आवाज आएको जस्तो सुनिन्छl नजिकै प्रेमी जोडी एक अर्काको हात समात्दै अप्सराको छेवैमा हिँडिरहेको दृश्य देखिन्छl म एकटकले तिनीहरूलाई नियाल्छुl उनीहरूको त्यो दृश्य नै रमाइलो लाग्छ नियालिरहन्छुl त्यो ठाउँमा म भएको कल्पना गर्छुl आनन्द लाग्छl म अगाडि बढी रहन्छुl म मेरी उनीसँगको वार्तालापमा डुब्छुl
बिहे गरेको यत्रो वर्षमा नि कहीँ कतै डुलाउन घुमाउन नलगेको गुनासो गरी रहन्छिन् उनीl म भने सदाझैँ एउटै उत्तर दिन्छु ‘नआत्तिऊ न कुनै दिन त आउला नि संरक्षणकर्मीको पनि, आफ्नो परिवार अनि बच्चासँगै बस्ने अनि भविष्यका अनेकौँ पलहरूको कुरा गर्नेl कतै स-परिवार घुम्न जानेl’
उनले पत्याईकनl उनले असहमतिमा आँखा अनि मुन्टो बटारेको झलझली सम्झना आइरहन्छl उनीसँग सधैँ आफूले बोलिरहने सहानुभूतिवाला झुटहरू सम्झेर फेरि मन आफै खिन्न हुन्छl त्यसैले त त्यो जोडीभित्र म भए जस्तो लाग्छ, उनी भए लाग्छl
हामी गस्तीमा छौँl भोकले व्याकुल बनायो l प्लास्टिकमा राखेको चिउरा खायौँl भोक मेटियोl घरमा हरियो मकै पोलेर खाने बेला भयोl मोही र मकै खाँदाको कल्पना गरियोl फेरि एकपटक घर सम्झ्यौँ हामी सबैलेl
‘अचम्मको जागिर छ है सर हाम्रो’ एक जना सुसारे अचम्मित मान्दै थिएl उनले थपे ‘ कहिले मानिसले बिगार्छ भन्दै हिँड्न पर्या छ , कहिले घरपालुवा जनावरलेl’

‘जनावरलाई के दोष दिनु l’ म सम्झाउन कोसिस गर्छु l उ मौन समर्थन जनाउँछ l म फेरि हाँस्दै भन्छु , ‘यही पशु चौपाया नभाको भए अहिले लकडाउन कटाउन नि मुस्किल पर्थ्यो हैन त ? देखेनौ हिजो दिनभर गाई भैँसी पौडी खेलेको अनि हामी भगाउँदै हिँडेको , जे होस् ३,४ घण्टा त बित्यो नि’l हामी सबै धित पुर्याएर हाँस्यौंl
‘त्यति मात्र हो र सर , अस्ति पारि मिलिचौरबाट पौडी खेल्न सुरु गर्या भैँसी यहाँ ओखर बोटसम्म आइपुग्यो l भिडियो छ नि सर , हेर्नुस् भन्दै’ देखाउन थाल्छ अर्को सुसारे भाइl
देश लक डाउनले रोकिएको बेलामा हामी भने रोकिएका छैनौl अप्सरा नियाल्न आउने पर्यटकको सङ्ख्या पनि शून्य छ तर हामी शून्य भएका छैनौl
म दङ्ग पर्दै भन्छु ‘भगवानले नि पशुलाई अचम्मको वरदान दिएको छl चाहे जिन्दगीभर उसले पोखरी नदेखेको किन नहोस् पौडी खेल्न चैँ आफै आउँदो रहेछl यो सन्दर्भमा हेर्दा त हामी भन्दा अब्बल त यिनी पशु चौपाया नै हुन् हैl
यतिकैमा एक जना सुसारे साथी मलाई बोलाउँदै भन्न थाल्छ, ‘सर अस्ति भैँसी मरेको तिर आज फेरि एउटा गोरु मरेको छ रे , के गर्ने ?’l
बलियो अनि जवानी हुँदा खेत जोत्नेदेखि अनेकौँ काम गर्ने पशु चौपायालाई बुढेसकालमा चैँ कानमा बिमाको ट्याग लगाएर मरे मरोस् बाँचे बाँचोस् भनी यो क्षेत्रमा छोडेको मात्र भेटिन्छन्l समातेर, थुनेर जति दिन राखे पनि मालिक भनाउँदाहरू जरिवाना तिर्नु पर्ने लोभले कोही आउँदैननl अनि फेरि दया लागेर छोड्न पर्छl कहिले काहीँ मर्ने नै भयोl जब मरेको खबर बाहिर पुग्छ, अनि बल्ल आफ्नै हो कि भन्दै खोज्न आउनेको ठूलो जमात रहेको छ यहाँl
जे होस् गोठालो हुन पाइएको छl मनमनै हाँस्छुl मैले निकुञ्जबाट गाई भैँसी यसरी लखेट्नु पर्छ भनेर कहिले पनि पढिनl तर त्यो पनि गर्नु परेको छl
‘सर के गर्ने अब?’ फेरि अर्को सुसारे साथी सोध्न थाल्छl
‘अब जाने त्यतै, खाल्डो खन्ने गाड्नेl बरु फोन गरेर अरू साथीहरूलाई नि बोलाऊ,कोदालो, बेल्चा अनि डोरी पनि ल्याउन भन l’ म एक सासमै निर्देशन दिन्छुl
‘हस् सर, आज टिकटक बनाउन पर्छ है सर गोरु बोकेको, बाहुबलीवाला गीतमा’ उनको कुरा भुइमा नखस्दै चारैतिर लामो हाँसो गुन्जिन्छl अप्सराको समीपमा मृत्यु भएका पशु चौपायाहरूको अन्त्यस्टिका लागि पाइलाहरू चलिरहन्छन्l देश लक डाउनले रोकिएको बेलामा हामी भने रोकिएका छैनौl अप्सरा नियाल्न आउने पर्यटकको सङ्ख्या पनि शून्य छ तर हामी शून्य भएका छैनौl अहिलेलाई तलको कविताबाट बिट मारे,
अप्सराले परिचित उनी, नाम उनको रारा l
मिलीजुली काम गरौँ, साथी बनाऊ हराभरा l
प्रण गरौँ सजाउने उनीलाई, हातेमालो गरौँ हामी l
पुरा गरौँ स्वच्छ सुन्दर, बनाउने हाम्रो अभिभारा l
जय संरक्षण !!
(सरोज खड्का रारा राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्छ l उहाँ वन्यजन्तुको संरक्षण र फोटोग्राफीमा रुचि राख्नुहुन्छ)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…