
मार्चे खर्कमा प्रत्येक श्रावण महिनाको पहिलो हप्ता चौँरीको रगत खाने मेला लाग्छ। यस समयमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत थुप्रै जिल्लाका मानिसहरूको घुइँचो लाग्ने गर्छ।
चौँरीको रगत खायो भने ग्यास्टिकलगायतका अन्य रोगहरू सन्चो हुन्छ भन्ने जनविश्वास छ। चौँरी (याक)ले विषादी भएको खानेकुरा खाँदैनन् र लेकको जडीबुटी खाएर स्वस्थ भएकोले यिनको रगत राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ।
थकाली भाषामा चौँरीको रगत खाने परम्परालाई ‘प्रियकाथुङब’ भनिन्छ, ‘प्रिय’ अर्थात् चौँरी, ‘का’ अर्थ रगत र ‘थुङब’ अर्थ पिउने हो ।
एउटा वयस्क भाले चौँरीबाट ३० देखि ४० गिलाससम्म रगत निकाल्न सकिन्छ र पोथी चौँरीबाट रगत निकालिँदैन। एक गिलास रगतको १ सयदेखि १ सय ५० रुपियाँ पर्ने गर्दछ।
तल्लो मुस्ताङअन्तर्गत थासाङ गाउँपालिका वडा नं १, २ र ५ को साझा चरन क्षेत्र हो मार्चे खर्क। यो वडा नं १ को कुञ्जो, वडा नं २ को कोवाङ र वडा नं ५ अन्तर्गतको टुकुचे गाउँको साझा चरन क्षेत्र हो। हामी पुग्दा यस खर्कमा ८ वटा चौँरी गोठ र ८ वटा भेडीगोठहरू थिए ।
यस खर्कमा तिनै वटा गाउँहरूबाट पुग्न सकिन्छ। स्थानीयलाई साढे तीन घण्टा लाग्छ भने बाहिरी व्यक्तिलाई पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ।
यस खर्कमा हिउँचितुवा, नाउर देखिन्छ भने बाटोमा पर्ने जङ्गलमा कस्तुरी पनि देख्न सकिन्छ। नेपालमा पाइनै सबै हिमाली कालिज प्रजातिहरू पनि यो क्षेत्रमा अभिलेख गरिएको छ।
यो खर्क यार्सागुम्बाको लागि पनि निकै राम्रो क्षेत्र हो। समुन्द्र सतहबाट करिब ३ हजार ९ सय मिटरमा रहेको यो खर्कमा केही दिनअघि जाने मौका मिल्यो। हामी जोमसोमबाट मोटरसाइकलमा कोवाङ र त्यसपछि कालीगण्डकी तरेर पैदल सौरू गाउँ हुँदै मार्चे गएका थियौँ।
फोटोमा हेर्नुहोस् मार्चे जाँदा र आउँदाको दृश्यहरू







(ऋषि बराल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख हुन्l उनी वन्यजन्तुको अध्ययन, अनुसन्धान र उद्धारमा रुचि राख्छन्)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…