
रातिको लगभग ११ बज्दै थियो l म सुत्ने तयारी गर्दै थिएँ l यतिकैमा ढोका बाहिर चरा कराएको जस्तो अनौठो अवाज आयो l के रहेछ भनेर हेर्न जाँदा त हाम्रो घरमा बस्दै आएकी माउ बिरालीले भँगेरी पो समातेर ल्याएकी रहेछ l उसले आफ्नो शिकार रमाइलो मान्दै खेल्दै थिई र आफ्नी सानी छोरी बिरालीलाई शिकार हेर्न र खेल्न बोलाउँदै थिई ।
“भँगेरी घाइते भैसक्यो होला, मर्यो कि बा ?” म अकमक्क परी सोच्दै थिएँ l
त्यो भँगेरीले पखेटा फट्फटाएको देखेँ l जिउँदै रहेछ l लामो सास फेरेँ l माउ बिराली आफ्नै सुरमा भँगेरीलाई समातेर खेल्दै थिई l म चाहिँ निकै अलमलमा परेँ l त्यो भँगेरीलाई बचाउन मन लाग्यो l फेरि छोरीलाई शिकार गर्न सिकाउँदै गरेकी आमाको पञ्जाबाट उसको मिहिनेत खोस्न ठीक हो कि हैन भन्ने दोधारमा परेँl
माउ बिरालीले आफ्नी छोरीलाई बोलाउन गएको मौका छोपी मैले भँगेरीलाई बिस्तारै टिपेँ र थाहा नपाउने गरी अर्को कोठामा सुरक्षित ठाउँ खोजेर भँगेरीलाई राखेँ l त्यसपछि म माउ बिरालीकहाँ आएँ l माउ बिराली भँगेरी खोज्दै थिई l शिकार हराएकोमा दु:खी हुँदै एक्लै घर बाहिर निस्कीl
छोरी बिराली माउ बिरालीलाई हेर्दै थिई l म चाहिँ दुबैलाई हेर्दै भँगेरीको ज्यान बचाएकोमा खुसी मान्नु कि एउटी आमाको मुखबाट उसको बच्चालाई खुवाउन समातेको आहारा खोसिएकोमा दु:ख मान्नु भन्ने सोचले दोधारमा परेँl खुसी र दु:खको अनौठो अनुभव एकैचोटी भयो । मनमनै मैले सही नै गरेँ जस्तो लाग्यो तर कुन तरिकाले सही गरेँ? बिराली भन्दा कमजोर भँगेरीको प्राण बचाएर अथवा बिरालीको शिकार खोसेर म बिराली भन्दा बलियो छु भन्ने देखाएर ? सोच्दै निदाएछु।
बिहानको करिब ४ बजे माउ बिरालीले फेरि हल्ला गरी र म बिउझिएँ l आबुई, निक्कै ठूलो मुसा पो मारेर ल्याएको रहेछ ! जीवन भनेको शिकार र शिकारीको खेल रहेछ भन्ने लाग्यो l माउ बिरालीले शिकार गरेर ल्याएको मुसा छोरीलाई दिई l छोरी बिरालीले मुसा खेलाएको हेर्दै गर्दा आफूले राति बचाएको भँगेरीलाई सम्झेँ र सुटुक्क अर्को कोठामा हेर्न गएँ l भंगेरी आरामले सुतिरहेको रहेछl मनमा आनन्द लाग्यो र म फेरि सुत्न आएँ।
माउ बिरालीको लगभग १ वर्षको ठूलो छोरो पनि सँगै थियो र उसकी बहिनी दुई महिनाकी थिई l बेलाबेला मुसा खेलाउँदै मेरो कोठाभित्रै आइपुग्थे बिराला दाजु बहिनी l दाजु र बहिनी मिलेर आमाले मुसा खाएको हेरेर बसे । म तिनीहरुको क्रियाकलाप हेर्दा हेर्दै निदाएछु l
बिहानको ८ बजे म उठेँ र हतारिँदै भंगेरीलाई हेर्न गएँ l भँगेरी मैले राखेको ठाउँमा थिएन l म आत्तिएँ र आमालाई बोलाएँl
“मैले त बिहानै झ्यालबाहिर उडाइदिएँ” भन्दै आमा हाँस्नु भयोl
म झ्याल बाहिर हेरेको हेर्यै भएँ l भँगेरीलाई मैले बाई नै भन्न पाइनँ l टोलाउँदै बस्दा सानो हुँदा पढेको सुगा र दु:खी महिलाको कथा याद आयो l त्यस कथामा एउटी महिलाले एउटा घाइते सुगालाई घर ल्याएर बचाएर उद्दार गर्छे । पछि सुगा महिलालाई सुनको दाना दिन फर्किन्छl महिलाले त्यो दाना माटोमा रोप्छे र त्यसबाट सुनको रुख उम्रन्छ।
“मैले बचाएकी भँगेरी पनि कुनै दिन मलाई सुनको दाना दिन फर्केर आउन सक्छ, तर उसले उज्यालोमा मेरो अनुहार नै देख्न पाएन । उसले मलाई चिन्ने पो कसरी होला ?” यस्तो सोच्दै म मनमनै खितिक्क हासेँl
(ललितपुर निवासी सबिना गुरुङ आर्किटेक्चरमा स्नातक हुन् l उनले एनिमल रेस्क्यु एन्ड रिहाब सेन्टर बिषयमा सोधपत्र सम्पन्न गरेकी छिन् l उनी बिरालोसँग खेल्न, चित्र कोर्न, भ्रमण गर्न र जनावरसम्बन्धी चलचित्र हेर्न रुचाउँछिन्)