म वनमारा हुँ , जाने सुख नत्र दु:खमात्र दिन्छु !


     आशिष पौडेल    
     असार २९ गते २०७८ मा प्रकाशित


साठीको दशकको मध्यतिर एउटा गीत खुब चलेको थियो, ‘वनमाराले वनै खायो, पिरै पिरले जीउ खायो’। हो,यही गीतमा वन नै खाने भनेर इङ्गित गरिएको वनमारा म नै हूँ । मलाई हजुरहरूले पक्कै पनि देख्नुभएको होला । एकपटक याद गर्नुहोस् त । कालो बैजनी रङ्गको डाँठ भएकी, करौँते किनारा भएको त्रिकोणीय पात हुने र फागुन-चैत्रतिर सेता मसिना गुच्छामा फूल फुल्ने म, झाडी वर्गकी वनस्पति हूँ ।

जंगलको छेउछाउ, नदी किनार, सडक किनार, बाँझो खुल्ला जमिन र बाढी पहिरो गएको एवम् भू-क्षय भएको क्षेत्रमा निकै सप्रिने मलाई हजुरले अब त चिन्नुभयो होला । चिन्नुभयो त ? अहँ रे ! पर्खनुहोस् म मेरो नामहरू भन्छु अनि त चिनिहाल्नु हुन्छ । मलाई नेपालीमा वनमारा, कालो वनमारा, काली मुन्टे, काली तिते भनेर बोलाउँछन्  l अङ्ग्रेजीमा क्रोफ्टन विड, मेक्सिकन डेभिल भनेर चिन्छन्। अनि वैज्ञानिक र वनस्पति शास्त्रीहरूले ‘एजेराटिना एडिनोफोरा’ भनेर मेरो न्वारान गरिदिएका छन् । बल्ल मेरो नाम भनेर सकियो, अब अरू कुराहरू पनि भन्छु, अल्छी नमानी सुन्नुहोस् ल !

वनमाराको बिरुवा

‘सयपत्री’ फूलकै परिवार अर्थात् ‘एस्टेरासी’ परिवारकी सदस्य म, मध्य मेक्सिकोकी रैथाने वनस्पति हूँ। वैज्ञानिकहरूका अनुसार आज भन्दा करिब २ सय  वर्षअगाडि म मेरो पुरानो घर छाडेर संसारभरि फैलिएँ रे¸अनि त्यहाँको रैथाने वनस्पतिका प्रजातिहरूको वासस्थान कब्जा गरेर बाह्य मिचाहा प्रजाति बने रे । तर यस्तो हुनुमा मेरो भन्दा बढी हजुरहरूकै पुर्खाको हात छ, जसले मलाई मेरो घरबाट टिपेर संसारभरि छरिएका बगैँचाहरूमा लगेर रोपे र म त्यस्ता ठाउँहरूबाट भागिदिएँ ।

मलाई पनि त एकै ठाउँमा बस्न मन कहाँ लाग्छ र ! धेरै बिउ उत्पादन गर्ने, रैथाने वनस्पति भन्दा छिट्टै बढ्ने, बिउ बाहेकका अन्य अङ्गजस्तै जरा र काण्डबाट पुनरुत्पादन  हुने  अनि प्रतिकूल वातावरण एवम् धेरै प्रकारका माटोमा उम्रन र हुर्कन सक्ने जस्ता क्षमता भएकी म लगिएका ठाउँहरूबाट भागेर नयाँ ठाउँमा स्थापित भएँ । यसरी नै हजुरहरूको छिमेकी देश भारतमा सन् १९०० को पहिलो दशकमा म पहिलोपटक बगैँचामा रोप्नको लागि ल्याइएकी थिएँ र पूर्वी सीमानाको नाका हुँदै नेपालमा छिरेकी थिएँ ।  मलाई सन् १९५२ मा नेपालमा अभिलेख गरिएको थियो।

यसरी नै हजुरहरूको छिमेकी देश भारतमा सन् १९०० को पहिलो दशकमा म पहिलोपटक बगैँचामा रोप्नको लागि ल्याइएकी थिएँ र पूर्वी सीमानाको नाका हुँदै नेपालमा छिरेकी थिएँ । 

घाम लाग्ने अनि घाम नलाग्ने चिसो ओसिलो  दुईवटै ठाउँमा हुर्कन सक्ने म बाटा-घाटा, खोलाहरूको सहायताले धेरै ठाउँमा फैलिँदै गएँ। यसरी फैलिनुमा मेरा स-साना हलुका बिउले निकै सहयोग गरे । मेरा बिउ कहिले हावामा उड्थे त कहिले पानीमा बग्थे , अनि कहिले काहीँ हजुरहरूसँग र अरू जनावरसँग टाँसिएर नयाँ ठाउँ पुग्थेँ । यसरी म नेपालभरि फैलिएँ।

त्यसपछि, आफ्नो शरीरमा भएका विभिन्न खाले रसायन (एलिलोकेमिकल्स) को मद्दतले अरू वनस्पतिहरूलाई बढ्न दिइन् र त्यस ठाउँको पानी, माटोको पौष्टिक तत्त्वलगायतका स्रोतहरू ओगटेँ अनि रैथाने वनस्पतिहरूलाई विस्थापित गरेर आफ्नै घना झाडीहरू फैलाएँ। यसरी  म वनमा मात्र नभई खुल्ला बाँझो जमिन र सबैतिर फैलिन लागेँ । मलाई बाह्य मिचाहा प्रजातिमा वर्गीकरण गरियो । वनमारा भन्न लागियो।

शरीरबाट आउने फरक गन्ध र शरीरभित्र हुने रसायनले गर्दा गाई वस्तुहरूले नरुचाउने भएकाले म अझै सप्रिन सकेँ। अधिक मात्रामा फैलिएपछि मैले अन्य वनस्पतिलाई उम्रन र हुर्कन नदिई स्थानीय पर्यावरणमा असर पार्छु रे । यसका साथै स्थानीय जैविक विविधता र परिस्थतिकीय प्रणालीलाई पनि नकारात्मक प्रभाव पार्छु रे भनेर वैज्ञानिकहरूले भन्छन्। अनि खेतबारीको छेउछाउमा फैलिएर मैले कृषि उत्पादन घटाउँछु रे। अझ घोडाजस्ता घरपालुवा जनावरहरूले मलाई खाएमा बिरामी समेत पर्छ रे । मेरो प्रकृति नै यस्तो छ, म के गरूँ?

यस्तै रितले बाह्य मिचाहा प्रजाति बनेर नेपालका धेरै ठाउँमा पुगिसकेकी म समुन्द्री सतहबाट २ सयदेखि ३२ सय  मिटरसम्मको उचाइमा बस्न रुचाउँछु । बढ्दो तापक्रम  तथा जलवायु परिवर्तनले गर्दा म अझै धेरै ठाउँ र उचाइमा पुग्छु भनेर वैज्ञानिकहरूले आँकलन गरेका छन्।

चौतर्फी रूपमा धेरै नकारात्मक असर गर्ने म यसरी फैलिनु मेरो रहर होइन । मलाई हजुरहरूलगायत प्रकृतिलाई असर पार्नुमा मेरो स्वार्थ लुकेको छैन। यो पूर्ण प्राकृतिक प्रक्रिया हो । त्यसैले म हजुरहरूलाई मलाई फैलन रोक्ने र मेरो व्यवस्थापन गर्ने उपायहरू खुसुक्क भन्छु है। अनि मबाट लिन सकिने फाइदाहरू पनि भन्छु । हजुरहरू मेरो असरलाई पक्कै पनि कम गर्न चाहनुहुन्छ , त्यसैले ध्यान दिएर सुन्नुहोस् है त।

मलाई नयाँ ठाउँमा फैलिन नदिन र मेरा असरहरूलाई कम गर्ने उपायहरू छन् । रोकथाम र व्यवस्थापन गर्ने तरिकाहरू पनि । क्वारेन्टिन सुरक्षा नीति पालना गरेर मलाई नयाँ ठाउँमा छिर्न नदिने पनि एउटा तरिका हो । यद्यपि म फैलिसकेको ठाउँमा भौतिक, रासायनिक र जैविक विधि प्रयोग गरेर रोकथाम र व्यवस्थापन गर्न सक्नुहुन्छ।

जस्तै भौतिक विधिअन्तर्गत फूल फुल्नुअगाडि नै मलाई जरैदेखि उखेलेर  जमिनमुनि गाड्न सकिन्छ । आगो पनि लगाउन पनि सक्नुहुन्छ तर आगोको प्रयोग गर्दा विशेष सावधानी लिनु है । मेरो जरा निकै बलियो हुने हुँदा यो तरिका अलि समय लाग्ने र गाह्रो छ।

म नयाँ ठाउँमा यसरी फैलिनुको कारण यहाँ मेरा जन्मजात शत्रुहरू नहुनु पनि हो, त्यसैले मलाई रोकथाम र व्यवस्थापन गर्न मेरा जैविक शत्रुहरू प्रयोग गर्न सक्नुहुन्छ, यसलाई जैविक विधि भनिन्छ। मलाई ‘गल फ्लाई’ नामको किरादेखि निकै डर लाग्छ, यसले मेरो डाँठमा प्वाल पारेर खाइदिन्छ । मलाई ढुसीहरूसँग पनि डर लाग्छ, तिनीहरूले मलाई बिरामी बनाउँछन् र म मर्छु।

मलाई रोकथाम र व्यवस्थापन गर्ने अर्को तरिका विषादीको प्रयोग गर्नु हो, तर विषादीको प्रयोग गर्दा म बाहेक अरू जीवहरूलाई असर नपर्ने गरी गर्नुहोस्। मेरो कारणले गर्दा अरूले किन दुःख पाउने ?

म हेर्दा नराम्री अनि मेरा असरहरू नकारात्मक भएता पनि मलाई प्रयोग गर्नै नमिल्ने वा छुनै नमिल्ने होइन। मलाई हजुरहरूले गोठमा गाईबस्तुलाई ओछ्याउने सोत्तरको रूपमा प्रयोग गर्न सक्नु हुन्छ । गोबरसँग वा एक्लै कुहाएर जैविक मलको रूपमा खेतबारीमा हाल्न मिल्छ । अझै मलाई गोल पोलेझैँ पोलेर बायो ब्रिकेट, बायोचार पनि बनाउन सक्नुहुन्छ।

फाइदाहरू भन्दा बेफाइदाहरू धेरै भएता पनि मलाई रोकथाम र नियन्त्रण  गर्दा आउने फाइदा हजुरहरूले पक्कै लिनु हुन्छ र लिनु पनि पर्छ । बेलैमा उचित कदम चाल्नु भएन भने म र म जस्तै बाह्य मिचाहा वनस्पतिहरूले हजुरहरू र यहाँको जैविक विविधता र परिस्थतिकीय प्रणालीलाई झन् धेरै नोक्सान गर्छौ। तसर्थ हामीलाई प्रयोग गर्न मिल्ने ठाउँमा प्रयोग गरी उचित लाभ लिन र बेलैमा रोकथाम र नियन्त्रणमा अगाडि बढ्नको लागि म ‘कालो वनमारा’ सबै बाह्य मिचाहा वनस्पतिहरूको तर्फबाट हजुरहरूलाई अनुरोध गर्छु।

वनमाराले खुला चौर वन सबैतिर आक्रमण गरेको छ

(आशिष पौडेल वन विज्ञानका विद्यार्थी हुन्l उनी बनस्पतिको इकोलोजी, मिचाहा प्रजाति र प्रकृति संरक्षणमा रुची राख्छन्)

Facebook Notice for EU! You need to login to view and post FB Comments!