दश महिना घर नजाँदा यसरी भएको थियो बाघसँग जम्काभेट !


     बेदबहादुर खड्का    
     श्रावण ७ गते २०७८ मा प्रकाशित


 बाघसँग मानिस र मानिससँग बाघ डराउँछ

चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्य गरिरहँदा खोला र वनमा नबिर्सने घट्नाहरू भइरहन्थे । घटना  २०७७ आश्विन १० गतेको हो । बिहान ८ बजेतिर यो पङ्क्तिकार, सहयोगी बुद्धि बोटे र राम माझी वन्यजन्तुको अवलोकन गर्नका लागि कसरास्थित घडियाल प्रजनन केन्द्रबाट साइकलमा तमोर ताल क्षेत्रतिर हिँड्यौँ । तमोर ताल र घडियाल प्रजनन केन्द्रको दूरी झन्डै ३ कि.मी. रहेको छ।

हिँड्ने बित्तिकै हात्तीसार पछाडि विक्रमबाबा थान नजिक बाटोको छेउमा कुकुर बसाइँ गरेर बसेको बाघ हामीलाई देखेर झाडीतिर लसक्क लस्क्यो । अब बाघ गइसक्यो होला भन्ने विश्वासका साथ हामी के अगाडि बढेकामात्र थियौँ बाघ त बाटो नजिकै आफू लुकेजस्तो गरेर हामीलाई हेरी बसेको रहेछ । हामीले पनि नदेखेजस्तो गर्यौं । मेरा सहयोगी भने बाघको निगरानी गरिरहेका थिए ।

आफ्नो नजिक कोही आउन सक्ने सम्भावना देखेमा सुरुमा गुर्रर्रर्रर्र…गरेर सङ्केत दिन्छ । उक्त सङ्केत कसैले नबुझेर बाघतर्फ बढेको खण्डमा गुर्रर्रर्रर्र…को आवाजलाई बढाउँदै अन्तमा एकै साथ घुवा….ङ्ग…घुवा….ङ्ग… घुवा…ङ्ग…  गर्दै ठूलो आवाजका निकालेर बाघले आक्रमण गर्न सक्छ ।

मैले भने साइकलबाट उत्री आफ्नै जिउमा साइकल अडाएर फोटो खिच्ने प्रयास गरेँ । तर त्यसरी क्यामरा चलाउन सम्भव नभएपछि साइकलको लङ्गडा लगाई  भुईँमा अड्याएँ । बाघतर्फ  क्यामरा तेर्साउँदा मन अत्तालिएर हातले भनेको ठाउँमा क्यामराको फोकसभित्र बाघलाई पार्न हम्मे–हम्मे पर्यो र बल्लतल्ल बाघलाई क्यामरामा कैद गर्न सकेँ । क्यामरा बाघतिर तेर्साउँदा बाघ त सतर्क भएर हामीलाई नियाली रहेको आभास भएपछि  दोस्रो पोज खिच्ने आँट  गर्न सकिन र हतार–हतार गरेर तमोर तालतर्फ लाग्यौँ ।

तमोरताल के पुगेका थियौँ, त्यहाँ पनि झाडीमा बाघ कराएको जस्तो टाढैबाट आवाज सुनियो तर कतापट्टि भन्ने भेऊ पाउन सकिएन । अगाडि बढ्दै जाँदा हल्का सिनोको गन्ध आएजस्तो लाग्दा–लाग्दै बाघ गर्जियो। त्यहाँबाट फनक्क फर्किएर आ–आफ्नो बलबुताले भ्याएसम्म साइकल पेलेर ढिस्कोमा गएर रोकियौँ ।

जसरी हामी बाघसँग डराउँछौ त्यसरी नै बाघ पनि मान्छेदेखि डराउँछ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन । हामीले बाघलाई नदेखे पनि उसले चुपचाप मानिसको गतिविधि नियाली रहेको हुन्छ । आफ्नो नजिक कोही आउन सक्ने सम्भावना देखेमा सुरुमा गुर्रर्रर्रर्र…गरेर सङ्केत दिन्छ । उक्त सङ्केत कसैले नबुझेर बाघतर्फ बढेको खण्डमा गुर्रर्रर्रर्र…को आवाजलाई बढाउँदै अन्तमा एकै साथ घुवा….ङ्ग…घुवा….ङ्ग… घुवा…ङ्ग…  गर्दै ठूलो आवाजका निकालेर बाघले आक्रमण गर्न सक्छ ।

यो घटनामा हाम्रो चहलपहल परैबाट नियालिरहेको बाघले ऊ बसेको ठाउँतिर कोही नजाओस् भनेर गुर्रर्रर्रर्र… पहिलो आवाजवाटै सङ्केत दिएको रहेछ तर हामीले बुझ्न नसक्दा उसले फेरि दोस्रो गुर्रर्रर्रर्र… गरेको रहेछ । यसलाई पनि अटेर गरेको भए सायद अकल्पनीय घटना घट्थ्यो होला।

त्यसदिन १ घण्टाको बिचमा २ वटा बाघको गतिविधिको अनुभव गरियो । म खाना खाएर आराम गर्दै टेलिभिजन हेरिरहेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बेलसर सामुदायिक वनमा घाँस काट्न जाँदा बाघको आक्रमणमा परी जगदीश महतोको मृत्यु भएको खबरले स्तब्ध तुल्यायो । मान्छे मार्ने बाघ अर्कै भए पनि आफूलाई परेको घटना सम्झी मेरो दिमाग पनि नाच्न थाल्यो । एकछिन अघि बाघसँगको घटना परिघटना सम्झेर भित्री मनदेखि नै डर लागेर आयो ।

नजिकै बाघको सिकार

बिहानको करिब ९ बजेको समय थियो होला, म ल्यापटप चलाएर घडियाल प्रजनन केन्द्र परिसरभित्र कोठामा बसिरहेको थिएँ । अरू कर्मचारीहरू घडियालको पोखरीहरू सरसफाइ गर्नमा व्यस्त थिए । चित्तलका बथान अत्तालिएर तर्सिँदै  कराउँदै केन्द्र परिसरकै छेउमा रहेको घोलमा छतलाङ–छुतलुङ गरेर उफ्रेको आवाज आयो । मेरो मनमा उब्जी सकेको थियो कि पक्कै पनि बाघले चित्तलहरूलाई हान्यो भनेर।

नभन्दै भ्यालबाट नियाल्दा बाघले आक्रमण गरेर चित्तललाई भुईँमा लडाएको रहेछ। हाम्रो चहलपहलले गर्दा बाघले एकछिन चित्तललाई छोडेर झाडीतिर लस्क्यो। घाइते चित्तल सकी नसकी लरखराउँदै बथानतर्फ लाग्दै थियो तर बाँच्ने अवस्थामा भने थिएन। बेलुकीपख घटनास्थल गएर नियाल्दा अलि पर झाडीमा मृत चित्तलको आधा भन्दा बढी शरीरको भाग बाघले खाई सकेको अवस्थामा थियो। हामी त्यहीँ छौँ, हाम्रो कुनै मतलब नगरी बाघले चित्तललाई आक्रमण गर्यो।

त्यो भन्दा त त्यही प्रजनन केन्द्रमा काम गरिरहेका गोठालालाई अट्ठ्याउन सजिलो हुन्थ्यो। तर अपवाद बाहेक बाघले त्यस्तो अनुशासनहीन काम गर्दैन ! गर्ने त मानव नै हुन् ! पानीमुनी बस्ने अनि माछालाई सिध्याउन खोज्ने ।

बाघ लजालु स्वभावको हुने र प्राय: गरेर हामीले भन्दा पनि पहिला बाघले हामीलाई देख्छ। त्यसैले हाम्रो सङ्केत पाउने बित्तिकै झाडीमा  बाघ लुकी हाल्छ। त्यसैले कतिपय अवस्थामा हामीले भन्दा ज्यादा बाघले हामीलाई झाडीबाट नियाली रहेको हुन्छ । हामीलाई थाहा हुँदैन। त्यसैले कोभिडको समयमा निकुञ्जमा मानवको चहलपहल नभएकोले बाघको चहलपहल जताततै हुन पुग्यो। लाग्दथ्यो बाघको उपस्थिति बाक्लैजस्तो गोठालालाई महसुस हुन्थ्यो। यी सबै घटना परिघटना लकडाउन कै उपज थिए।

अन्तमा, कोरोना सङ्क्रमणको डरले धेरै जसो मानिसहरू घरभित्रै सीमित हुन पुगे । समय बिताउन कसैले पुस्तक पढे, कतिले सिनेमा हेरे, कतिले कविता लेखे होलान् त कति त फेस बुकमा झुन्डिए । कति टिक टक बनाउन मै व्यस्त रहे होलान् । विशेष गरी सहरी क्षेत्रमा आजकल समय कटाउने माध्यम भनेको यिनै विषयवस्तु होलान्।

तर चिकित्साकर्मी, सुरक्षाकर्मी, किसान, पशुपालन र वन्यजन्तु क्षेत्रमा काम गर्ने हामीलाई न त कोभिडले घरमै सीमित बनाउन सक्यो न त सहरमा जस्तो घरमै कोच्चिन पर्‍यो। चाहेर पनि आफ्नो जिम्मेवारी निभाउनबाट अलग हुन सकिएन। वन्यजन्तुसँगै रमाउनु पर्यो । यो काम कुनै सरकारी भत्ता खाएर गरिएको होईन, नितान्त  आफ्नो  लगावमा भएको काम हो।

यसरी काम नगर्दा पनि हुन्छ तर मनले मान्दैन । कामको जिम्मेवारीले पोल्छ। माउडे/हाकीम पल्टेर संरक्षणको गतिलाई उचाइमा पुर्‍याउन सकिन्न। खुला रूपमा निकुञ्जभित्र जङ्गली जनावरको अनुशासनमा रमाउँदा–रमाउँदै पहिलो  कोरोना  अवधि भर १० महिनासम्म घर नगएको पत्तै भएन।

 (लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)