फिनल्यान्डको तालमा सानो डुङ्गाको यात्रा


     करुणा कार्की    
     श्रावण ३० गते २०७८ मा प्रकाशित


उत्तरी युरोपमा रहेको फिनल्यान्ड देशको एउटा सानो सहर हो योन्सु । चारैतिर तालै-तालले भरिएको कोही हेर्दा कालो, कोही नीलो र कोही एकदमै सङ्लो ।  जब मे को महिना सुरु भयो, एकाएक यहाँ पनि ताल होला र भनेर कल्पना नै नगरेका ठाउँमा हिउँ पग्लिएर तालै-ताल देखिन थाले । यिनै तालका छेउछाउ समर कटेज र डुङ्गा भरिभराउ देखिन्थे ।  मैले पोखराको फेवा र मुगुको रारा ताल सम्झिएँ । यी डुङ्गाहरू देखेसँगै मलाई पनि यी सुन्दर तालमाथि डुङ्गामा डुल्ने रहर जागेको थियो । म डिसेम्बर महिनामा पहिलोपटक योन्सु आएको केही हप्तामा संयोगले एक फिनिस जोडी टुला र पेट्रीसँग भेट भएको थियो।

एक शनिवारको दिन टुलाले पेट्री तालमा डुङ्गा लिएर जाने योजना बताइन् । मलाइ पनि जानको लागि भनिन्। यहाँको तालमा डुल्ने अनुभव गर्नु भनेपछि मेरो अपार्टमेन्टबाट  करिब ३० मिनेट साइकलिङ गरी म टुला र पेट्रीको निवास पुगेँ । हामी बाटोमा खाने खाजा, पानी, जुस, लाइफ ज्याकेट, नक्सा र अन्य आवश्यक सामान लिई डुङ्गा भएतिर लाग्यौँ।

मलाई पोर्टमा पुगिसक्दा पनि हामी जाने डुङ्गा कुन हो थाहा थिएन ।  त्यहाँ भएका मोटर डुङ्गा, काठे डुङ्गा, सेलिङ डुङ्गाहरू थिए। मैले अनुमान गरेको डुङ्गा नभएर त्यसैको आडमा रहेको निकै आकर्षक लाग्ने करिब ८० वर्ष पुरानो १९२० को स्विडेनमा बनेको स्कायानडियन मोडलको सल्लाको काठले बनेको निकै चम्किलो र आकर्षक, इन्जिन बिनाको, हावाको बेग र अग्लो डन्डीमा टाँगिएका २ वटा सेलको मद्दतले चल्ने सेलिङ बोट पो रहेछ । यसलाई यार्च पनि भनिँदो रहेछ ।

कसरी चल्छ होला भनेर म अचम्म मान्दै थिएँ ।  करिब आधा घण्टा लगाई पेट्रीले सबै जोडजाड गरे । यार्चको सबै भन्दा मुख्य आकर्षक र इन्जिन भन्नु नै अग्लो डन्डीमा सेतो फराकिलो झन्डा  सेल टाँगिनु रहेछ । ती दुई वटा सेल झन्डालाई हावाको चालसँगै मिलाउँदै डोरीको सहायताले नियन्त्रण गर्नु नै मुख्य काम रहेछ ।  यार्चको पछिल्लो भागमा एउटा काठको हेन्डिल हुँदोरहेछ, दायाँ वा बायाँ गर्न मिल्ने जसको सहायताले यार्च कतातिर मोड्ने निर्धारण गर्न सकिने रहेछ।

सेलिङ गर्न सुरु गरेको एकछिनमा पानी पर्न थाल्यो, हावाको बेग पनि बढ्दै थियो।  सेलिङ बोट निकै रफ्तारमा हल्लिँदै पानीमाथि दगुर्दै थियो । केही बेरमा पानी रोकिएसँगै पेट्रीले नियन्त्रण गर्ने तरिका सिकाउँदै यार्च नियन्त्रण गर्न मलाई दिए ।

सेलिङ बोट सुरुमा सबै जोडजाड गर्न केही समय लाग्ने र हरेक पटक जोड्ने र खोल्ने गर्नु पर्ने भएता पनि एकपटक जोडिसकेपछि साधारण हेण्डिल नियन्त्रण र सेललाई डोरीले नियन्त्रण गरेमात्र पुग्ने रहेछ। त्यसपछि गीत सङ्गीत सुन्दै ती तालमाथि दौडदै गर्दा हावाको बेगले तालको सतहका पानीहरू छछलकिँदा गीतसँगै यी छालहरू पनि नाचे जस्तो आभास हुँदै थियो ।

हामी निकै पर पुग्यौँ, एक, दुई गरी धेरै टापुहरू पनि कटेर गई सकेका थियौँ । यी बिच धेरै मान्छेहरू कोही मोटर डुङ्गा, कोही काठे डुङ्गा र कोही सेलिङ डुङ्गा जाँदै या आउँदै गरेको भेट्यौँ र हरेकले हरेकलाई भेट्दा हात हल्लाएर अभिवादन गरिने र मित्रताको भाव झल्काउनु रहेछ । यसको कारण अर्को पनि रहेछ कि कुनै अकस्मात्  घटना घटेमा कसैले हामीलाई गइरहेको या आइरहेको याद गरुन् भन्ने रहेछ ।

अहिलेको अवस्थामा वातावरणमा कुनै प्रतिकूल असर नपार्ने र डिजेल वा पेट्रोल पनि नचाहिने यो वातावरण मैत्री यार्च सेलिङ जस्तो मनोरञ्जनका लागि निकै उपयुक्त लाग्यो । कहिले सवार पनि नगरेको सेलिङ बोटमा आफू नै सेलर बनेर सेलिङ बोट ती विशाल तालमाथि सेल गरिरहँदा निकै आनन्द र रोमाञ्चक अनुभूति हुँदै थियो । यो अनुभव “सेलर फर वान डे, सेलिङ इन ऐलिगेन्ट सेलिङ बोट अफ पेट्री” सधैँ मेरो मन मस्तिषकमा अविस्मरणीय रहने भयो ।

(करुणा कार्की युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डमा वन विज्ञान विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ। उहाँ नयाँ गन्तव्यहरूको यात्रा र नौला मानिसहरूसँग भेटघाट गर्न रुचाउनुहुन्छ। उहाँ  वन तथा वातावरण मन्त्रालय नेपालमा सहायक वन अधिकृत हुनुहुन्छ।)