
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन् । सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन् ।
गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तमीका दिन गौरा देवी भित्र्याएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानमा नचाइन्छ । गौरा भगवान् शिवकी पत्नी, हिमालयकी छोरीलाई हुन् ।
गौरीले कडा उपासना गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पुजारी डिल्लीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शिव पति पाउन पार्वतीले गरेको कठोर तपस्या जस्तै यहाँका महिलाले पनि गौरा देवीको निकै तपस्या गर्छन्, सुदूरपश्चिममा यस पर्वको आफ्नै विशेष खालको महत्व रहेको छ ।” गौराको सुरुआत हरेक वर्ष भाद्र शुक्लपक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ । सो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत हुन्छ । गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितीया÷तृतीयामा ब्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने चलन रहेको दिपायल राजपुरकी गौरीदेवी शाखले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ अर्थात् धुने चलन रहेको छ । पखालिएका ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ । गौरा पर्वमा चैत, धमारी, पुराना वीर योद्धा, राजामहाराजाका वीरगाथाका बारेमा गीत बनाई खेल खेल्ने चलन रहेको छ । ठाउँ र जिल्लाअनुसार यहाँ गौरा पर्वमा डेउडा खेलसमेत खेलिने प्रचलन रहिआएको छ । सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ । पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ । भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौ महिनामा निकै रौनक थप्ने गर्दछ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाइ भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ ।
त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा रहेको दिपायलका पण्डित मेखराज भट्टले जानकारी दिनुभयो । यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन रहेको स्थानीय धर्मादेवी जोशी पाठकले बताउनुभयो । गौरामा महिलाले ग्रहण गर्ने दुबे–धागोको महत्व हिन्दू पुरुषले लाउने जनैसरह हुने गरेको उहाँको भनाइ छ । ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन् । दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातवटा गाँठोको डोरा) भनिएको छ । शास्त्रअनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ ।
गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ । गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन् । कामका लागि जिल्ला छोडेर विदेशिएका पनि घर फर्किरहेकाले यहाँका गाउँघरमा अहिले चहलपहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो । यहाँको स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुने गरी डेउडालगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासनले एक सार्वजनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पूजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…