नुवाकोटका बाढी प्रभावित क्षेत्रका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप


     नेचर न्युज    
     भाद्र २७ गते २०८३ मा प्रकाशित


नुवाकोट स् भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको वडा नम्बर ४, ७ र ९ नम्बर वडाका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामी चौपायाको उपचार, कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाउने गरी पोखराबाट हिमालयन पशु उद्धार समूह पुगेको हो । नुवाकोटको विदुर नगरपालिकाको ढुंगेबजार, तुप्चे, चाँपको फेदी लगायतका क्षेत्रमा पुगेर बिरामी गाई, भैँसीलाई समेत आवश्यक औषधी उपलब्ध गराइएको हिमालयन पशु उद्धार समूहका अध्यक्ष दिव्यकुमार बरालले बताए ।

बाढीले नदी किनारमा ल्याएका जनावरको सिनो कुकुर, स्याललाले खाँदा रेबिज लाग्छ । यस्तो सिनोमा हुने कीटाणु पचाउन नसक्दा कुकुर, स्यालमा रेबिज लाग्छ । रेबिज बढे कुकुर हुँदै मान्छेमा पनि सर्छ । रेबिज मात्र होइन सिनोबाट हैजा, झाडापखाला जस्ता धेरै रोग फैलन्छ । यसैले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलनबाट जोगाउन सिना व्यवस्थापन महत्त्वपूर्ण रहेको समूहका अध्यक्ष बरालले बताए ।
यस अघि समूह धादिङ हुँदै गल्छी र नुवाकोटको बेत्रावती क्षेत्रमा पुगेर चौपायाको उद्धार र उपचार गरेको समूहका सदस्य सुरेश ढकालले बताए ।

बाढीले कति घरपालुवा चौपाया लगायत परेर कति वन्यजन्तु परे भन्ने यकिन छैन । यसको बारेमा अध्ययन पनि हुन सकेको छैन । आफ्नो पिडा भन्न नसक्ने पशु चौपायाको उपचार र आहारा उपलब्ध गराउन बाढी प्रभावित क्षेत्रमा पुगेको हिमालयन पशु उद्धार समूहका सदस्य ढकालले बताए । समूहले बाढी प्रभावित क्षेत्रका बस्ती नजिकै त्रिशूली नदीको बगरमा अव्यवस्थित रूपमा रहेका जनावरको सिनोमा औषधी समेत छरेको जनाएको छ ।

भोटेकोसीमा गएको बाढीले नुवाकोटका त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पु¥यायो । हिमालयन सुनामी नाम दिइएको भोटेकोसी बाढी नदी किनारका धेरै घर नामनिसान समेत नरहने गरी बगाए । बाढीसँगै मानिस र मानिसका सपना पनि बगे ।

घरमा पालेका चौपाया लगायत धनसम्पती केही रहेन । बाढीमा परेर धेरैको मृत्यु भयो । बचेकाको जीवन अस्तव्यस्त भयो । बाढीले बगाएर बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको पनि ज्यान गयो । बाढीमा हराएकाहरूको खोज कार्य अझै पनि जारी रहेको छ ।

बाढी प्रभावित क्षेत्र नुवाकोटको वडा नम्बर ९ र ७ मा पुग्दा त्रिशूली नदी किनारका बस्तीका स्थानीयमा अझै त्रास उस्तै छ । त्यो दिनको बाढीका रुप देखेकाहरू अझै पनि तर्सने गरेका छन् । बालबालिका अझै पनि सपनामा पनि त्यही दृश्य देखेर चिच्याउने गरेको स्थानीय अभिभावकहरू बताउँछन् ।

बाढीका कारण मानव जनजीवन मात्र होइन पशु चौपायाको जीवनमा पनि अप्ठ्यारो आइपरेको छ । जनावरको सिनो अझै पनि नदी किनारमा देखिएका छन् । बाढीले बगाएर ल्याएका जनावरको सिनोको उचित व्यवस्थापन नहुँदा बस्तीमा अझै पनि दुर्गन्ध आइरहेको स्थानीय रूपक नेपाल बताउँछन् ।