भोटेकोशी बाढी : ११ औं दिनमा दुई जनाले पाए नयाँ जीवन


     नेचर न्युज    
     भाद्र २० गते २०८३ मा प्रकाशित


भोटेकोशीमा बाढी गएको ११ औं दिनमा बाढीमा परेका दुई जनाको सकुशल उद्धार गरिएको छ । एक महिला र एक चिनियाँ नागरिकले नयाँ जीवन पाएका हुन् । भोटेकोसीमा भदौ १० गते बिहान आएको बाढीले सयौंको ज्यान लिएको र हजारौं सम्पर्कविहीन छन्। बाढीमा परेका मानिसहरूको खोज तथा उद्धारमा तल्लिन खोजकर्ताले शनिबार दुई जनालाई उद्धार गरेर नयाँ जीवन दिएका हुन् ।

नुवाकोटको विदुर नगरपालिका(१० स्थित वेत्रावतीबाट शनिबार दिउँसो ६४ वर्षीया चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको एपीएफ र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई घरभित्र अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो ।

उनी आप्नै घरको चौथो तालमा घर पुरिएको ठाउँमा फेला परेकी हुन् । सशस्त्र प्रहरीको टोली पुरिएको घरभित्र खोज तथा उद्धार गर्ने क्रममा श्रेष्ठलाई भेटेको हो।

बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाउने क्रममा उद्धार टोलीले उनको आवाज सुनेको खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल १९ नं। गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र राउतले बताएका छन् । घरभित्र आवाज सुनेपछि सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।

हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरेर थप उपचारका लागि काठमाडौं लगिएको छ । अचेत अवस्थामा भेटिएकी उनी उद्धारपछि होसमा आएकी छन्।

यस्तै नेपाली सेना र कोरियाली टोलीले माथिल्लो त्रिशूली(१ जलविद्युत आयोजनाको सुरुङबाट शनिबार दिउँसो एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ। आयोजनाको अडिट(४ सुरुङबाट उनको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

उनी पनि सकुसल छन्। उद्धार पछि उपचारका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको थियो। प्राथमिक उपचारपछि उनलाई काठमाडौं लगिएको छ ।

यसअघि शुक्रबार पनि दुई जनाको उद्धार गरिएको थियो। त्रिशूली(३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई उद्धार गरिएको थियो। दुवै जनाको उपचार भइरहेको छ।

बाढीमा परेर हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ८८७ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको छ।