जेनजी आन्दोलनको एक वर्ष , पुनर्निर्माण पखिँदै संरचना


     नेचर न्युज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरा : जेनजी आन्दोलनको एक वर्ष पुरा हुँदा आन्दोलनमा भएका भौतिक क्षतिको पुनर्निर्माण अझै हुन सकेको छैन । देशभर सरकारी तथा निजी लगानीका भौतिक संरचनामा ठूलो क्षति हुने गरी आन्दोलनकारीले आगजनी गरेका थिए । 

जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रको लगानीमा पनि आगजनी गरेर ठूलो क्षति पुग्यो । जेनजी आन्दोलनमा आगजनी भएका पर्यटकीय पूर्वाधार अझै तयार भएका छैनन् । माओवादी द्धोन्द, ०६२÷०६३ को आन्दोलन, भूकम्प, कोरोनाको समयमा पर्यटकको आगमन कमी आए पनि व्यावसायिक प्रतिष्ठानै उठ्नै नसक्ने गरी आगजनी भएका थिएनन् । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पर्यटकीय क्षेत्रको लगानी उठ्नै नसक्ने गरी आगजनीका कारण थला परेपछि लगानी नै विदेश पलायन हुने हो कि भन्ने जोखिम झन् बढेको छ । 

पर्यटन क्षेत्रको ठूलो लगानी रहेका होटेलमा जेनजी आन्दोलनमा आगो झोसियो । ती संरचना अझै निमार्ण सम्पन्न भएका छैनन् ।  । पोखराका सरकारी कार्यालयहरू अझै पुनः निमार्ण भएका छैनन् । कास्की जिल्ला अदालत डढेकै छानामुनि इजलास हुँदै आएको छ । 

जेनजी आन्दोलनमा २ हजार ६७१ भवनमा क्षति 

जेनजी आन्दोलनका कारण २ हजार ६७१ भवनमा क्षति पुगेको सरकारी तथ्यांक छ, जसको मूल्याङ्कन ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ भएको थियो ।

सरकारले क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि तीन वर्षे रणनीति बनाएको छ, जसअनुसार चालु र आगामी आवमा सङ्घीय सरकारले १०र१० अर्ब रुपैयाँ विनियोजन गर्ने बताइएको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र अन्य संरचनामा ठूलो क्षति भएको छ, तर पुनर्निर्माणको गति सुस्त रहेको अधिकारीहरूले बताएका छन् ।

सरकारले तत्कालै क्षतिग्रस्त भवन र संरचनाहरूको प्राविधिक परीक्षण गरेको थियो । त्यसबाट प्रयोग गर्न योग्य संरचनालाई तत्काल रंगरोगन गरेर पुनः सञ्चालनमा ल्याइयो । क्षतिग्रस्त भवनमध्ये ९०४ वटा भवनको गत आवमै मर्मत सुरु भएको थियो । ४ सय ९४ भवन गत आवमै मर्मत सम्पन्न भई सञ्चालनमा ल्याइएको थियो । गत आवको तथ्याङ्क अनुसार कुल क्षतिग्रस्त भवनमध्ये ३५ प्रतिशत भवन भने पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकेको अवस्था रहेको बताइएको छ ।