
दुबै अभिभावक गुमाएका बच्चाको अवस्था हामी कल्पना पनि गर्न सक्दैनौँ । झन् मानवका कारण वा प्राकृतिक रूपमै दुबै अभिभावक गुमाएका टुहुरा वन्यजन्तुको अवस्था कस्तो होला ? कथाजस्तै लाग्ने त्यस्तै गुँडमा आमाको मायालु अँगालोमा बेरिएर पनि मृत्यु भएकी आमालाई जगाउन चलमलाइरहेको गिद्धका बचेरोको उद्धार कथा हाे याे ।
जाडो याममा प्रजनन गर्ने गिद्धका बच्चा हुर्कँदै जाँदा गर्मी मौसम आइसकेको हुन्छ । चैत-वैशाखसम्म गुँडबाट बचेरा उडाउने समयमा गिद्धका गुँडको अनुगमन र निगरानी नियमित र प्राथमिकताका साथ गर्नु पर्ने हुन्छ । यसै क्रममा २०७३ साल चैत २६ गते गिद्ध संरक्षणकर्मी डी.बि चौधरी, नेपाल पन्छी संरक्षण सङ्घमा डेढ दशकदेखि गिद्धको अनुसन्धान र संरक्षणमा क्रियाशील ईश्वरी चौधरी र जीव विज्ञ अङ्कित बिलास जोशी विश्वमै दुर्लभ डंगर गिद्धका गुँड अनुगमनका लागि नवलपरासी जिल्लाको कावासोतीमा पर्ने चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गुन्द्रही ढकाह सामुदायिक वनमा जानुभएको थियो ।
प्रत्येक गुँडको कम्तिमा १५ मिनेट अवलोकन गरी गुँडको अवस्था, माउ र बच्चाका क्रियाकलापलगायतका जानकारी अभिलेख गरिन्छ । गुँड अनुगमन गर्दै जानेक्रममा एउटा गुँडमा अस्वाभाविक अवस्था देखियो । गुँडमै माउ गिद्ध मरेको थियो तर बच्चा चलेको देखिन्थ्यो । केही घण्टासम्म बसेर अवलोकन गर्दा पनि गुँडमा अर्को माउ आएन । यत्तिकैमा रात पर्यो, अर्को दिन पनि आएर हेर्ने र यदि अर्को माउ नआएको खण्डमा बच्चाको उद्धार गरी बचाउन पहल गर्ने योजना बनाउँदै टोली फर्कियो ।

भोलिपल्ट २०७३ चैत २७ गते आवश्यक तयारीसहित टोली अनुगमनमा निस्कियो । अपसोच, त्यस दिन पनि अर्को माउ आएन सायद ऊ पनि अन्त कतै मरेको हुनुपर्छ । डोरीको सहायताले ईश्वरी चौधरी र स्थानीय युवा रुख चढेर जीवित बच्चाको उद्धार र मरेको माउ गिद्धको शरीर पनि पोस्टमार्टमको लागि झिक्न तम्सिए । अत्यन्तै कमजोर अवस्थामा रहेको बच्चाको सकुशल उद्धार गरियो । बचेरोको अवस्था हेर्दा कम्तिमा पनि चार दिनदेखि केही खान नपाएको हुनुपर्छ ।
पहिला पानी र त्यसपछि स–साना मासुका टुक्रा खुवाइयो । माउको पोस्टमार्टमबाट मृत्युको खास कारण पत्ता लगाउन सकिएन । ल्याब परीक्षणका लागि नमूना सङ्कलन गरिए पनि नेपालमा त्यसको परीक्षण सम्भव भएन । सम्भवत मन्द विष सङ्क्रमित सिनो खाएकोले यसको मृत्यु भएको हुन सक्छ । सायद यसको जोडीको पनि । भुईँमा झारेपछिको तस्बिर अङ्कित विलास जोशीले फिल्डबाटै म्यासेन्जरमा मलाई पठाउनु भयो । गिद्धको कामकै सिलसिलामा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा रहेको म त्यो तस्बिर हेरेर निःशब्द भएँ ।
गुन्द्रही ढकाह क्षेत्रमा अलि हुर्किसकेको माउविहीन अर्कौ डंगर गिद्धको बच्चा पनि भेटियो र त्यसको पनि सँगै उद्धार गरियो । त्यसपछि ती दुबै बच्चालाई कावासोतीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा ल्याइयो । साँझसम्म नरेन्द्रमानबाबु प्रधान सर र एकजना विदेशी टोबी ग्यालीगनसहितको हाम्रो टोली पनि पिठौली पुग्यो । गिद्ध संरक्षण तथा प्रजनन केन्द्रका डाक्टर विकल्प कार्कीको परामर्शअनुसार स्वास्थ्य परीक्षण गरी स्लाईन र भिटामिन बि कम्प्लेक्स मासुमा मिलाएर खुवायौ ।
उद्धार त गरियो तर राख्ने कहाँ भन्ने चिन्ता आईहाल्यो । बच्चा भएकोले अत्यन्तै संवेदनशील अवस्थामा थिए । अर्को दिन जटायु रेस्टुरेन्ट क्षेत्रमा यिनीहरू राख्नको लागि गुँडसहितको संरचना बनाइयो । यिनको नियमित रेखदेख तथा दैनिक रूपमा मासु र पानी खुवाउने र बेला-बेलामा स्वास्थ्य परीक्षण पनि गरियो । करिब एक महिनासम्म यो क्रम जारी रह्यो । जति बेला हामी त्यहाँ पुग्थ्यौँ, ती बचेरा हामीलाई देखी पखेटा फटफटाउँदै चलमलाउँथे, हामी उत्साहित हुन्थ्यौ ।
बचेराको नियमित स्याहार सुसारमा खटिरहनु भएका यम नेपाली र मिना नेपालीको आफ्नै सन्तान सरहको मायामा पुलपुलिँदै डंगर गिद्धका टुहुरा बचेरा हुर्कँदै थिए । तर विडम्बना हामीले दुबै बचेरा हुर्काउन सकेनौँ । सानो बचेराको शारीरिक विकास अपेक्षित रूपमा हुन सकेन र अन्त्यमा हामी सबैलाई स्तब्ध बनाउँदै सदाको लागि बिदा भयो । हामीले उपलब्ध स्रोत र ज्ञानको प्रयोग गरी अथक प्रयास गर्दा पनि बचाउन सकेनौ ।

यसले देशमा वन्यजन्तु उद्धार केन्द्र र आवश्यक दक्ष प्राविधिकको आवश्यकता टड्कारो रहेको सङ्केत गर्छ । अर्को बचेरा करिब डेढ महिनापछि खुट्टामा लेग रिङ्ग लगाएर जटायु रेस्टुरेन्ट क्षेत्रमा छाडियो । अन्य गिद्धसँग सहजै घुलमिल भई आफै आहारा खान सक्षम उक्त बचेरा पछिका दिनमा पनि त्यस आसपासका क्षेत्रमा देखा परी रह्यो ।
यही शनिबार, भाद्र १९ गते तेर्हौ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ । प्रत्येक वर्ष अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिबार र त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्त्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ । ‘प्रकृतिको कुचीकार’ का रूपमा चिनिने गिद्धले मरेका जनावरको सिनो खाई प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न सरूवा महामारी रोगहरू फैलनबाट रोक्छन् ।
करिब तीन दशक अघिसम्म हाम्रो देशमा सयौँ गिद्धका समूहहरू देख्न सकिन्थ्यो । आज त्यो दृश्य दुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाइने गिद्धहरू धर्तीबाटै लोप हुने खतरामा छन् । यसैले यी दुर्लभ गिद्ध जोगाउन सबैमा सचेतना प्रवाह र संरक्षणमा हातेमालो जरुरी छ । तेर्हौ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा गिद्ध संरक्षणमा समर्पित सबैमा नमन, हामी सबैको हातेमालो जारी रहोस् शुभकामना ।





( लेखक कृष्ण भुसाल गिद्धको अनुसन्धान, संरक्षण र लेखनमा रुची राख्नु हुन्छ)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…