
आज विश्वभर १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईदै छ । प्रत्येक वर्ष अंग्रेजी महिनाकाे सेप्टेम्बर पहिलो शनिबार देखि हप्ताभर गिद्ध सचेतना दिवस मनाइन्छ । सन् २००९ देखि सुरु भएको सचेतना दिवसमा गिद्धको महत्व, लोपहुनुको कारण र संरक्षणमा सहभागिता विषयमा केन्द्रित भएर दिवस मनाइन्छ ।
पृष्ठभूमि :
मानव स्वास्थ्य रूपमा बाँच्न गिद्ध संरक्षण हुनु आवश्यक छ । प्रकृतिमा गिद्ध नभईकन मानव स्वास्थ भएर बाँच्न सहज छैन । विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्धहरू पाईन्छन । धार्मिक ग्रन्थहरूमा गिद्धलाई जटायु भनेर उल्लेख गरेको पाइन्छ । सन् १९९० ताका नेपालमा करिब १० देखि १६ लाख र भारतमा करिब ३ देखि ४ करोड जोडीको हाराहारीमा गिद्धहरू पाईन्थे भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । आज गिद्ध देख्नै मुस्किल हुने गरी लोपोन्मुख अवस्थामा छन् ।
गिद्धले अग्ला सिमललगायतका रुखहरूमा गुँड लगाउँछन् । यस्ता ठूलाखाले रुखहरूको विनाशले गिद्धको प्रजननमा प्रभाव परेको छ । यस्तै गरी पूर्खौली कृषि¸ पशुपालन व्यवसाय हराउँदै जानुले गिद्धको आहारामा कमी हुन गएको छ । मानवीय गतिविधिका कारण यिनीहरूको सङ्ख्या घट्दै गइरहेको छ । यही परिप्रेक्ष्यमा एक्कासी सन् १९९७ देखि गिद्धहरू बिमारी परी भटाभट मर्न लागेको समाचारहरू आउन थाल्यो । जसले गर्दा गिद्धको सङ्ख्या घट्दै गईरहेको पाइयो । के कारणले गिद्धहरू मर्न थाले ? भन्ने विषय अनभिज्ञ नै रहन गयो । कारण पत्ता लगाउन वैज्ञानिकहरू लागी नै रहे । फलस्वरूप सन् २००४ मा आएर वैज्ञानिकहरूले गिद्ध मर्नका कारण पशु चौपायाहरुको उपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नामको औषधी हो भन्ने कुरो पत्ता लगाई छाडे ।
यो अवस्थासम्म आइ पुग्दा नेपाल, भारत र पाकिस्तानबाट गिद्ध पूर्णरुपमा लोप हुने खतरामा पुगेको थियो । त्यसैले डंगर गिद्ध, सानो खैरै गिद्ध, लामो ठूँडे गिद्ध र सुन गिद्धको सङ्ख्यामा एक्कासी ९० प्रतिशतभन्दा बढीले घटेको हुँदा आईयूसिएनले अति सङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा राखेको छ ।
के हो त डाईक्लोफेनेक ?
दुखाई, ज्वरो र सुन्निएको निको पार्न मानिस र पशुचौपायाहरूमा डाईक्लोफेनेक औषधी प्रयोग गरिन्छ । पशुचौपायाको उपचारका क्रममा डाईक्लोफेनेक औषधी प्रयोग गरिएका जनावर उपचारका क्रममा मरेपछि गिद्धले खाँदा यसको असरले गिद्धको मिर्गौला नै बिग्रेर गिद्ध मर्ने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको हो ।
डाईक्लोफेनेकयुक्त पशुचौपायाको एउटै सिनोबाट कैयौँ गिद्धहरू मर्ने गरेको पाइएको थियो । यहाँसम्मकी सिनोमा ०.८ प्रतिशत मात्र पनि डाईक्लोफेनेक भएमा गिद्ध मर्ने गरेको पाइएको छ । कोभिड –१९ बाट मानिस सुरक्षित हुनका लागि मास्क लगाउनु पर्ने भए जस्तै गिद्धले डाईक्लोफेनेक नभएको सिनो खान पाउनु नै उसको लागि सुरक्षित हुने उपाय हो । त्यसैले नेपाल, भारत,पाकिस्तान सरकारले पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेनेकको उत्पादन, आयात, बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । यसको विकल्पमा मेलोक्सिक्यामलाई बढावा दिएको छ ।
गिद्धको महत्त्व
गिद्धले पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । हिन्दू धर्ममा गिद्धलाई शनिदेवताको वाहनको रूपमा मानिन्छ । रावणले सीतालाई अपहरण गरी लग्दै गरेको अवस्थामा जटायुले अन्याय सहन नसकेर आफ्नो ठुडले अवरूद्ध गर्दै गर्दा रावणले गिद्धलाई तरबारले काटी घाइते बनाएको थियो । सीताको खोजी गर्दै राम घाइते जटायु भएको स्थानमा पुगेको र जटायुबाट कसले कता लगेको भन्ने विषयमा पुष्टि गर्नमा ठूलो सहयोग पाइएको वर्णन रामायणमा पाइन्छ ।
हाम्रो रूढीवादी परम्पराअनुसार गिद्धलाई अशुभ चरा मान्ने प्रचलन थियो । गिद्धको बिस्टा हाम्रो शरीरमा पर्यो या गिद्ध घर वरपर आएर उड्यो भने पनि कुनै न कुनै अनिष्ट वा अलच्छिन लाग्छ भन्ने परम्परावादी सोचले हाम्रो समाज ग्रस्त थियो । अहिले उक्त धारणा हराउँदै गएको छ । बौद्ध धर्म अनुसार मुस्ताङ क्षेत्रमा बसोबास गर्ने समुदायमा कोही मर्दा लामाको साईतअनुसार शव गिद्धलाई खान दिइने परम्परा छ । बौद्ध धर्ममा गिद्धले आएर शवलाई खाएमा मृत आत्माले चिर शान्ति पाउने विश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार भारत विहारको नागपुरको घना जङ्गलमा बस्ने ‘वीरहोर’ भन्ने जनजाति गिद्ध वंशको नामले प्रख्यात छ । ‘वीरहोर’ जातिका पुर्खा एउटा विशाल रुखमुनि बस्दथे । त्यसैवेला एउटा गिद्धको अण्डा टाउकोमा झरेर फुट्यो । त्यसैले वीरहोर वंशको नाम गिद्ध रहन गयो भन्ने किंवदन्ती वीरहोर समुदायमा भेटिन्छ ।
गिद्धप्रति समाजमा जे-जस्तो धारणा भए पनि गिद्ध पर्यावरण सन्तुलनको अभिन्न अङ्ग हो । रेबिज,निमोनिया, ऐन्थैक्स तथा विभिन्न घातक रोगबाट ग्रस्त भएर मृत्यु हुन गएका पाल्तु पशुचौपायाबाट निस्कने दुर्गन्धित वातावरणको सृजना हुन पाउँदा नपाउँदै गिद्धले सिनो खाई दिन्छ । सिनोले कैयौँ प्रकारका वन्य जीवजन्तुलगायत मानिस, पाल्तु पशुचौपायामा समेत कुनै न कुनै हैजा, महामारीजस्ता घातक रोग फैलन जाने सम्भावित खतराबाट पनि जोगाउन गिद्ध प्रजातिहरू निकै उपयोगीसिद्ध भएका छन् ।
सिनो खाई धरतीलाई छिनभरमै सफा स्वस्थ राखी पर्यावरण संरक्षण गर्ने भएकाले गिद्धलाई ‘प्राकृतिक कुचीकार’ पनि भनिन्छ । एक अध्ययनअनुसार एउटा गिद्धले आफ्नो जीवनकालमा करिब ११ हजार अमेरिकी डलर मूल्य बराबरको सिनो खाई सरसफाइमा योगदान पुर्याउन सक्दछ । गिद्धको अभावमा सिनो खाने सडक कुकुर र स्यालको सङ्ख्या बढ्ने कारणले समाजमा रेबिज र पशुचौपायाहरूमा ऐन्थ्रेक्स जस्ता घातक रोगहरू फैलन सक्दछ । करोनाले जस्तै रेबिज र कुनै न कुनै हैजा, महामारीजस्ता घातक रोगले विश्वलाई हायलकायल नबनाउला भन्न सकिँदैन । भारतमा गिद्धको सङ्ख्या घट्दै जाँदा कुकुरको सख्या बढ्नुका साथै रेबिजको सङ्क्रमण पनि बढेको अध्यनले देखाएको छ । यतिमात्र होइन त्यहाँको पार्सी समुदायको शव गिद्धलाई खुवाई दाहसंस्कार गर्ने प्रचलनमा समेत असर गरेको देखिन्छ ।
गिद्ध संरक्षणका प्रयास र चुनौतीहरू
‘हुलमुलमा जिउ जोगाउनु र अनिकालमा बिउ जोगाउनु’ भन्ने बूढाबूढीको उखानलाई मनन गरी प्रकृतिमा गिद्ध सकिए भने पनि बिउको रूपमा संरक्षण गर्नका लागि चितवन राष्ट्रिय निकुञ्ज कसरामा गिद्ध संरक्षण प्रजनन केन्द्रको स्थापना भयो । बच्चा प्रजनन गराई हुर्काई बढाइ प्राकृतिक वातावरण सुरक्षित भएपछि मात्र पुनर्स्थापन गर्ने उद्देश्यले स्थापित यस्ता प्रजनन केन्द्रहरू नेपाल¸ भारत र पाकिस्तानलगायतका देशमा समेत सञ्चालनमा आएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासी, लौखानीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा गिद्धले डाईक्लोफेनेक मुक्त सुरक्षित सिनो खाना पाउन् भन्ने उद्देश्यले जटायु रेष्टुरेण्टको स्थापना भएको छ । त्यस क्षेत्रका गाउँवस्तीमा रहेका बुढाखाडा पशुचौपायालाई न्यूनतम मूल्यमा खरिद गरी ल्याई सामुदायिक वन भित्र रहेको ‘गौ रक्षक केन्द्र’मा कुनै पनि औषधी नखुवाई पालनपोषण गरिन्छ । पशुचौपायाको जब प्राकृतिक मृत्यु हुन्छ तब सिनो जटायु रेष्टुरेण्टमा लगेर राखिन्छ ।
त्यस क्षेत्र वरपर प्राकृतिक अवस्थामा रहेका गिद्धहरू उक्त रेष्टुरेण्टमा आई सिनो खान्छन् । जटायु रेष्टुरेण्टमा पर्यटकहरूलाई गिद्धहरू हेर्न मिल्ने खालको मचान घर बनाइएको छ । गिद्ध रेष्टुरेण्ट स्वदेशी तथा विदेशी पर्यटकका लागि अध्ययन अनुसन्धानको केन्द्र बन्दै गएको छ । कतिपय नेपालीहरू झुक्किएर खाजाको लागि गिद्ध रेष्टुरेण्ट खोजी गर्दै गाडी लिएर पुग्ने गरेको पनि पाइएको छ ।
रेष्टुरेण्ट मान्छेको लागि नभई जटायुको लागि भन्ने थाहा पाएपछि लाजले भुतुक्क हुने गरेका यस्ता खालका उदाहरण कैयौँ भेटिन्छन् । यो केन्द्र स्थानीयकै सक्रियतामा थालनी भएको विश्वमै यो नौलो हो । अन्ततः आज यसलाई अनुसरण गरेर यस्ता रेष्टुरेण्टहरु देशभर ७ ठाउँमा सञ्चालनमा छन् । भारत, पाकिस्तान, कम्वोडिया र म्यानमारलगायतका देशमा पनि जटायु रेष्टुरेण्ट खोल्ने क्रम जारी छ ।

गिद्धले प्रजातिअनुसार कुनैले ठूला रुख त कुनैले ठूला पहराको चट्टानमा गुँड लगाउने गर्दछन् । पछिल्लो समयमा सिमललगायतका ठूला रुख विनास हुँदै जाँदा गिद्धको प्रजननमा समस्या पर्दै गएको छ । जनावरलाई विष खुवाएर मारेर जथाभावी फ्याँक्दा पनि गिद्ध ठूला सङ्ख्यामा मर्ने गरेका छन् । यस्तै दुःखद घट्ना २०७८ वैशाख ८ गते रामग्राम नगरपालिका वडा नं. ४ मा भयो । ५–६ वटा सडकका कुकुरलाई विष खुवाएर मारियो । खुला ठाउँमा छरिएर मरेका कुकुरको सिनो खाएर कम्तीमा ६९ वटा गिद्ध मरेको घट्नाले संरक्षणकर्मीहरूलाई स्तब्ध नै तुल्यायो । विष खुवाएर मारेको कुकुर गिद्धले खाएर मरे भन्ने प्रारम्भिक ठम्याई रहेको छ । सिनोमा विष हालेर गिद्ध मारेको यो हालसम्मकै ठूलो सङ्ख्या हो ।
गिद्ध संरक्षणमा दक्षिण एसियामै र विश्वमै नाम कमाएको नेपालले यस घट्नाले संरक्षणकर्मीलाई दुःखी बनाएको छ । विश्व समुदायमा यस अघिसम्म नेपालले गिद्ध संरक्षणमा पुर्याएको महत्त्वपूर्ण योगदानको चर्चा हुने गरेको थियो । गिद्ध संरक्षणका विषयमा नेपालको सफल जटायु रेष्टुरेण्टको उदाहरण दिने गरिन्थ्यो । यो घटनाले एकै दिनमा अन्तर्राष्ट्रिय प्रतिष्ठा गुम्ने अवस्था आएको छ । गिद्ध संरक्षणका लागि पन्छी संरक्षण क्षेत्रमा कम गरेका संस्था र राज्यले समुदायसँग मिलेर गिद्ध हुर्काउँदै प्राकृतिक वासस्थानमा पुनर्स्थापना गर्दै आएको छ । अर्कोतिर कुकुरलगायत जनावरलाई विष खुवाएर जथाभावी फ्याँक्दा त्यही सिनो खाएर गिद्ध मरेका घटना हुँदा संरक्षण क्षेत्रमा लागेकालाई दुःखित बनाएको छ ।
प्रकृतिको कुचीकार गिद्धविना मान्छे स्वस्थ रहन सक्ने हुन्थ्यो भने यसलाई कसैले महत्त्व पनि दिँदैन थियो । विना खर्च प्रकृतिमा आफै हुर्कने गिद्धलाई प्रजनन केन्द्रमा प्रजनन गराई गिद्ध प्राकृतिक वासस्थानमा छोड्नु पर्दैनथ्यो । पृथ्वमा रहेका सबै वन्यजन्तुको एक अर्कासँग अस्तित्व गाँसिएको हुन्छ । आज गिद्ध सङ्कटमा पर्दा भोलि मानव पनि सङ्कटमा पर्छ । यसैले गिद्ध संरक्षण गर्नु परेको हो । त्यसैले राज्य र संरक्षण साझेदार संस्थाले यसको संरक्षणमा सालिन्दा करोडौँ खर्च गर्ने गरेको छ ।
प्रजनन केन्द्रमा मात्र एउटा गिद्ध हुर्काउन सरदर महिनामा ३० कि.ग्रा. राँगाको मासु खर्च हुन्छ जसको हाल चलेको बजार भाउअनुसार प्रति किलो ४ सय रुपैयाँको दरले हुन आउने र १२ हजार रुपैयाँ प्रति महिना एउटा गिद्धको आहारामा मात्र खर्च हुन्छ । यो उदाहरण गिद्ध हुर्काउन कठिन होईनकी मानव हुर्किन कठिन भएको हो । यति ठूलो खर्च गरेर आफ्नो सन्तानलाई माया गरेर हुर्काएजस्तै गिद्धलाई हुर्काई बढाइ प्राकृतिक वासस्थानमा लगेर छोडिन्छ । अनि ६९ वटा गिद्ध एकैचोटी मारिँदा कसको मन चुडिँदैन होला ।

राज्यले गिद्ध प्रजनन केन्द्रको अलावा विभिन्न स्थानमा जटायु रेष्टुरेण्ट खोलेको छ । जसले प्राकृतिक अवस्थाका गिद्धलाई लोभ्याउन र हुर्काउन सहज भएको छ । गाउँवस्तीमा जनचेतनामूलक कामहरू सञ्चालन हुँदै आएका छन् भने गिद्ध प्रजनन केन्द्रबाट पनि देशका विभिन्न स्थानबाट पाल्नु हुने आगन्तुक, विद्यार्थीहरूलाई समेत चेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । जसले गर्दा हाल आएर नेपालमा गिद्धको सङ्ख्या उकालो लाग्दै गरेको अवस्थाले गर्दा नेपालले गरेका कामहरूको खुलेरै अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका थिए ।
तर हाल मारिएका गिद्धको घट्नाले गर्दा उनीहरूका सामुन्ने नेपाललाई लज्जित बनाई दिएको छ । नेपाललाई गिद्ध संरक्षणको पाटोमा कालो दाग लागेको मात्र नभई फेरि संरक्षणमा १० वर्ष पछि धकेलिएको अवस्था छ । यति ठूलो सङ्ख्यामा मानवीय लापरवाहीले गिद्धको एउटै चिहान हुँदा कसको मन कटक्क खाँदैन होला र झन् संरक्षणकर्मीहरूले यसलाई अत्यन्तै दुःखदायी घट्नाको रूपमा लिएका छन् ।
यस घट्नालाई लिएर जस-जसले आवाज उठाए¸ तिनीहरूको आवाजमा होस्टेमा हैँसे हुन सकेन । हालसम्मको घटनाक्रम हेर्दा जसका कारणले गिद्धको मृत्यु हुन गयो तिनीहरूलाई कारवाहीको दायरामा ल्याउने सम्भावना न्यून देखिन्छ । यसरी गिद्धहरू मारिँदै जाने हो भने गिद्ध त लोप होला तर गिद्धको अभावले वातावरणमा पर्ने दुष्प्रभावले मानवलाई कोरोनाले हायलकायल बनाएजस्तै बनाउने छ । त्यसैले पृथ्वी मानिस तथा सबै प्रकारको पशुपंक्षीको साझा घर हो । हामी पनि बाँचौँ¸ उनीहरूलाई पनि बचाऔँ भन्ने भावना सबैमा अभिप्रेरित हुन जरुरी छ ।



(लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…