म हिजो आज एकान्त प्रेमी भएको छु। तर एकान्त मन पर्दछ भनेर भिडदेखि भाग्न खोजेको चाहिँ होइन है। म भिड पनि मन पराउँदछु। तर किन हो कुन्नि भिडमा पनि म एक्लो महसुस गर्दछु। हिजोआज एकान्त हुँदाको क्षणमा मेरा साथीहरू धेरै बनेका छन्। प्रकृति नै मेरो साथीहरू हुन् । तर पनि मेरो खास साथी चाहिँ कोचलगाँडे बनेको छ।
कोचलगाँडे यानेकी लाटोकोसेरो। सानो आकारको लाटोकोसेरो । मानिसले खिसिट्युरी गर्ने प्रजाति पनि हो यो l अङ्ग्रेजीमा यसलाई Spotted owlet भनिन्छ। ल्याटिन भाषामा Athene brama। हेर्दा सानो देखिए तापनि काम भने बडा- बडा गरेको देख्छु । रातमा होस् या दिनमा यो मेरो साथ र आसपासमा नै रहेको हुन्छ। यसले मलाई हरेक कुरामा सघाइ रहेको हुन्छ। जस्तो कि खेतको कुनाकानी खन्दा होस् वा घर आसपासको झाडी सफा गर्दा होस् । त्यहाँ रहेको विषालु किरा-फट्याङ्ग्रा खाएर मलाइ सहयोग गरिरहेको हुन्छ। रात परेपछि खेतमा बत्ती बल्न सुरू भए देखि नै यिनीहरू बत्तीको आसपासमा खेल्दै त्यहाँ बत्तीमा आउने हाम्रो बाली र बिरुवालाई सङ्कटग्रस्त अवस्थामा पुर्याउने विषालु किराजन्य जीवहरू खाइदिने गर्दछन्। रातभर बत्ती आसपासमा घुम्दै , खेल्दै , खाँदै अनि रमाउँदै गरेको दृश्यले पनि मलाइ मेरो हृदयदेखि नै साथी स्वीकार्न मन लाग्यो। यसले अन्नबाली नोक्सान गर्ने मुसा पनि खान्छन् l
हिजो मैले बारीको कान्ला खन्दा त्यस ठाउँमा रहेको दुलोमा सर्पका अन्डा रहेछन्। त्यो अन्डा देखेर उ बेजोडले करायो सेटाप सेटाप सेटाप……। एकछिन पछि टाउको चारैतिर घुमाइ-घुमाइ मलाइ ठुल्ठूलो आँखाले हेर्यो । फेरि ठूलो-ठुलो आवाज गरेर करायो । किन करायो भनेर निकै बेर सोचेँ । ऊ मलाइ टुल-टुल्ति हेरी रहेको थियो। जब मैले साङ्लोलाई छोडिदिएँ ऊ तुफानसँग आएर एकै गाँसमा साङ्लोलाई निल्यो । अनि मलाई थाहा भयो उसको आहारालाई मैले चलाएको रहेछु, जुन थियो कालो साङ्लो। साङ्लो यसको एकदम मीठो भोजनमा पर्ने मैले ठम्याएँ। किनकि साङ्ग्लोलाइ यसले मीठो मानेर खाएको मैले देखेँ । खेतबारीको कान्लामा रहेका विभिन्न विषाक्त कीराहरूलाई पनि बडो मीठो मानेर खाएको देखेँ। सर्पको अण्डाभित्र रहेको सर्पको स-सानो बच्चाहरूलाई पनि मीठो मानेर खायो। उनीहरूको लागि यी माथि उल्लेख गरिएका खानाहरू कुनै कन्टिनेन्टल खाना भन्दा कम थिएनन्।
राति-राति मैले यसलाई निकै आनन्दित भएको पाउँछु। यो ‘रात मेरो नै हो कुनै माइकलालले मलाइ केही गर्न सक्दैन’ भन्दै अत्यन्त आनन्दित हुन्छ जस्तो लाग्छ। कहिले नाच्दै आकाश तिर पुग्दै फेरि पातालमा ड्राइभ हान्दै मेरो आसपास घुमिरहेको हुन्छ। दुई जोडी कराउँदै , नाच्दै रोमाञ्चित हुँदै सिकार गर्ने गर्दछन्। क्या जीवन छ ! यिनीहरूलाई हेरेर म सोच्छु। इर्ष्या लाग्छ। सँगसँगै यिनीहरूको आनन्दमा म पनि आनन्दित हुन्छु। त्यो आनन्दमयी वातावरणमा म पनि यिनीहरूसँगै आफैमा हराउने गर्छु। सोच्छु म पनि यी मेरा साथीहरू जस्तो हुन पाएl कल्पनामा झन् डुब्छु। झल्याँस्स बिउँझन्छु, फेरि म आफूलाई मान्छेको स्वरूपमै भएको पाउँछु।
यी मेरो साथीहरूको आवाजले मेरो ध्यानलाई थप गहिराइमा पुर्याउन मद्दत गरेको छ। ध्यानको अवस्थामा मलाई यिनीहरूको आवाजले एउटा त्यो ऊर्जा भरिदिन्छ,जसले शरीरको अन्तर हृदयभित्र नै म आफैलाई विलीन गराइदिन्छु। म आफैमा हराउने अनि बिलाउने क्षणको क्रेडिट मेरो यिनै साथीहरूलाई नै दिन्छु। यही कारणले पनि हिजो आज यिनीहरू मेरो एकदम नजिकको साथी बनेका छन्। साथीहरूप्रति मेरो प्रेम छ। त्यस्तै सद्भाव पनि छ । साँझ परेपछि मेरो साथीहरू खेल्न निस्कन्छन् । साथीहरू खेल्न निस्कँदा म मेरो साथीहरूसँग अनुरोध गर्दै बेलुकाको भोजनपछि भेट्ने वाचा गर्दै म चाहिँ त्यस ठाउँबाट निस्कन्छु।
मेरो भेट रात परेपछि साथीहरूसँग पक्कै हुने नै भयो । भेटपछि म फेरि मेरो यिनीहरूको क्रियाकलापमा आनन्दित हुन्छु। मध्यरातमा पनि उत्तिकै सक्रिय यिनीहरूलाई सुतेको देख्दिन। म मध्यरातमा मस्त निन्द्राबाट उठ्दा कहिले काहीँ ठूलै अरू जनावार आएको जस्तो हुने गरी आफ्नो चाल देखाउँछन्। म दङ्ग पर्छु, यति सानो साथीको यति ठूलो चाल देखेर। मध्यरातमा पनि यिनीहरूको कस्तो मज्जाले सिकार गरेर खाने गर्छन्। सिकार गरेको देखेर म त छक्कै परेको हुन्छु। सिकार गर्दा त्यो अँध्यारो रात पनि दिउँसो जत्तिकै नै हुदोँरहेछ यिनीहरूको लागि।
त्यो समयमा अन्य कोचलगाँडे लाटोकोसेरोहरूलाई जसमा तीनवटाअन्यलाई खानेकुरा बाँडेर दिइरहेको थिएँ। शायद ती यिनीहरूको बचेरा हुनुपर्दछ। मध्यरात भएकोले म चाहिँ सथिहरूसँग बिदा मागी सुत्न जान्छु। बिहान पाँच बजेतिर म उठ्दा साथीहरू मस्त रूपमा मस्ति नै गरिरहेको हुन्छन । बिहानको झिसमिसेमा आवाज कुर्र्रर्र्रर्र्र कुर्र्र्रर्रर …. सेटप सेटप ….. गरेर वार्तालाप सुरू गरिरहेका हुन्छन् l यिनीहरूको एक आपसको कुराकानीले शायद भनेको हुन् सक्छ ‘अब उज्यालो भयो, जतिसक्दो छिटो सिकार गर’। अनि एक आपसमा रमाऊ भन्ने सङ्केत यी साथीहरूले गरेको हुनु पर्छ । रात हाम्रो, दिन अरूको भन्दै अन्य साथीहरूसँग पनि पक्कै वार्तालाप भएको होला।उज्यालो बढ्दै गएपछि मेरा साथीहरू शान्त हुँदै जान्छन् l यिनै मेरो साथीको चर्तिकला नै मेरो लागि एउटा रमाइलो क्षण बनेको छ आजभोलि।
(चितवन निवासी मनोज घिमिरे मानवशास्त्रमा स्नातकोत्तर हुन् l उनी हरित विद्यालय, प्रकृति भ्रमण र चराको विभिन्न आयामहरूमा रुचि राख्छन्l)