आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरूलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाउनुभयो।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताउनुभयो । उहाँले तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानवीय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङाले तिब्बती समस्यालाई मानवीय समस्याको रूपमा हेर्न प्रेरित गरेको बताउनुभयो ।
हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउँदै गएको अवस्थामा यस कृतिले केही हदसम्म शरणार्थीको मुद्दालाई उजागर गरेको बताउनुभयो । उहाँले दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको सम्मिश्रण रहेको बताउनुभयो।
कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीडा साथै मानवीय संवेगलाई स्पष्ट पुस्तकमा उतारिएको बताउनुभयो।
पत्रकार एवं समीक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रूपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानवीय संवेग र प्रेमलाई समेटेको बताउनुभयो।
कार्यक्रममा तिब्बती शरणार्थी एवं पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउँदै पहिचान र राष्ट्र विहीन हुँदा धेरै समस्या झेल्नुपरेको बताउनुभयो।
सांग्रील बुक्सद्धारा प्रकाशित दुङालको मूल्य चार सय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास रहेको छ।