
हिमाल पारीको जिल्ला मुस्ताङमा रहेका कस्तुरी र बिनामा सिकारीको आँखा लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्रको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ को जंगलमा सिकारीले बहुमुल्य बिना कालागि पासोमा पारेर वन्यजन्तु कस्तुरी मार्ने गरेको पाइएको हो ।
कस्तुरीको सिकारकालागि वन्यजन्तु तस्करले जंगलमा थापेको पासोमा परेर अन्य वन्यजन्तु पनि मरेका छन् । सूचनाको आधारमा गस्ती गर्दा पाँचवटा कस्तुरी पासोमा परेर मरेको अवस्थामा फेला परेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले बताए । पासोमा परेर दुईवटा रातो प्याउरो पनि मरेको उनले जानकारी दिए । कस्तूरी मृगको अनुसन्धान गर्न गएको टोलीका सदस्यले कस्तुरीको बासस्थान क्षेत्रमा पासो देखेपछि एक्यापमा सूचना दिएका थिए ।
सूचनाको आधारमा एक्याप, जनपथ प्रहरी, सशस्त्र प्रहरी, संरक्षण व्यवस्थापन समितिको टोलीले गस्ती गर्दा दुईवटा भाले कस्तुरी र तीनवटा पोथी कस्तुरी पासोमा परेको अवस्थामा फेला परेको हो । थप एउटा कस्तुरी भने जिउँदै अवस्थामा फेलापरेकोले जंगलमै छाडीएको एक्यापले जनाएको छ । पासोमा पारेर मारेको कस्तुरीको बिना निकालिएको पाइएको एक्यापले जनाएको छ । यही आधारमा बिनाकै लागि कस्तुरी मारेको पाइएको हो । पासो थापिएको स्थान कस्तुरीको मुख्य बासस्थान भएको क्षेत्र हो ।
सूचना पाएपछि एक्यापले सूरक्षा निकाय, व्यवस्थापन समितिका सदस्य सहितको टोलीले कात्तिक १५ गते देखि लुप्रा क्षेत्रमा गस्ती र अनुगमन सुरु गरेकको थियो । गस्तीका क्रममा कस्तुरी मृगलाई निशाना बनाउने उद्देश्यले जंगलमा राखिएका १ सय ७३ वटा पासो फेला परेको एक्पापका संरक्षण अधिकृत समेत रहेका बरालले बताए । सूचना पाइपछि तुरुन्तै गस्ती गरिएकोले ठूलो क्षति हुनबाट जोगिएको छ । सिकारीले मोटरसाइकलको ब्रेकको तार, डोरी प्रयोग गरेर जंगलमा पासो थापेको पाईको हो । कस्तुरी मृगको बढी आउजाउ हुने मार्गको पहिचान गरी सिकारीले पासो थापेको पाइएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले वन्यजन्तु संरक्षणमा चुनौती थपिएकोले थप चनाखो भएर गस्ती बढाइएको बताए । पछिल्लो समयमा यस्तो अवस्था नदोहोरीएको पनि उनले बताए । घट्नामा संलग्नको खोजी कार्य भइरहेको पनि उनले जानकारी दिए । बिनाकालागि कस्तुरी मृगलाई पासोमा पारेको पाइएपछि प्रमुख जिल्ला अधिकारी शर्मा पनि गस्तीमा गएका थिए ।
संरक्षण क्षेत्रमा सिकारीले ठूलो सख्यामा पासो राखेको पाइएपछि वन्यजन्तु संरक्षणमा थप चुनौती थपीएको छ । कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपौयाँ जरिवाना वा १० देखि १५ वर्षसम्मको कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ । कस्तुरी मृग झट्टा हेर्दा बाख्राजस्तो भए पनि यसको शरीर खैरो हुन्छ । यसलाई विज्ञहरुले सामान्यतया मृग परिवारमा वर्गीकृत गरेका छन् । तर मृगभन्दा भिन्न वर्गका गुणहरु यसमा पाइन्छन् । यो चिसो हावापानी भएको उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हो । नेपालमा हिमालयन कस्तुरी मृग र कस्मिरी कस्तुरी मृग गरी दुई प्रजातिका कस्तुरी मृग पाइन्छन् । एसिया महाद्वीपमा सात प्रजातिका कस्तुरी मृग पाइन्छन् ।
तस्बिर : मुस्ताङको जंगलमा फेला परेका मरेका कस्तूरी। तस्बिर सौजन्यः एक्याप



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…