मुस्ताङमा बिनाकालागी कस्तुरीलाई सिकारीकाे पोसो


     नेचर न्युज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित


हिमाल पारीको जिल्ला मुस्ताङमा रहेका कस्तुरी र बिनामा सिकारीको आँखा लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्रको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ को जंगलमा सिकारीले बहुमुल्य बिना कालागि पासोमा पारेर वन्यजन्तु कस्तुरी मार्ने गरेको पाइएको हो ।

कस्तुरीको सिकारकालागि वन्यजन्तु तस्करले जंगलमा थापेको पासोमा परेर अन्य वन्यजन्तु पनि मरेका छन् । सूचनाको आधारमा गस्ती गर्दा पाँचवटा कस्तुरी पासोमा परेर मरेको अवस्थामा फेला परेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले बताए । पासोमा परेर दुईवटा रातो प्याउरो पनि मरेको उनले जानकारी दिए । कस्तूरी मृगको अनुसन्धान गर्न गएको टोलीका सदस्यले कस्तुरीको बासस्थान क्षेत्रमा पासो देखेपछि एक्यापमा सूचना दिएका थिए ।

सूचनाको आधारमा एक्याप, जनपथ प्रहरी, सशस्त्र प्रहरी, संरक्षण व्यवस्थापन समितिको टोलीले गस्ती गर्दा दुईवटा भाले कस्तुरी र तीनवटा पोथी कस्तुरी पासोमा परेको अवस्थामा फेला परेको हो । थप एउटा कस्तुरी भने जिउँदै अवस्थामा फेलापरेकोले जंगलमै छाडीएको एक्यापले जनाएको छ । पासोमा पारेर मारेको कस्तुरीको बिना निकालिएको पाइएको एक्यापले जनाएको छ । यही आधारमा बिनाकै लागि कस्तुरी मारेको पाइएको हो । पासो थापिएको स्थान कस्तुरीको मुख्य बासस्थान भएको क्षेत्र हो ।

सूचना पाएपछि एक्यापले सूरक्षा निकाय, व्यवस्थापन समितिका सदस्य सहितको टोलीले कात्तिक १५ गते देखि लुप्रा क्षेत्रमा गस्ती र अनुगमन सुरु गरेकको थियो । गस्तीका क्रममा कस्तुरी मृगलाई निशाना बनाउने उद्देश्यले जंगलमा राखिएका १ सय ७३ वटा पासो फेला परेको एक्पापका संरक्षण अधिकृत समेत रहेका बरालले बताए । सूचना पाइपछि तुरुन्तै गस्ती गरिएकोले ठूलो क्षति हुनबाट जोगिएको छ । सिकारीले मोटरसाइकलको ब्रेकको तार, डोरी प्रयोग गरेर जंगलमा पासो थापेको पाईको हो । कस्तुरी मृगको बढी आउजाउ हुने मार्गको पहिचान गरी सिकारीले पासो थापेको पाइएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले वन्यजन्तु संरक्षणमा चुनौती थपिएकोले थप चनाखो भएर गस्ती बढाइएको बताए । पछिल्लो समयमा यस्तो अवस्था नदोहोरीएको पनि उनले बताए । घट्नामा संलग्नको खोजी कार्य भइरहेको पनि उनले जानकारी दिए । बिनाकालागि कस्तुरी मृगलाई पासोमा पारेको पाइएपछि प्रमुख जिल्ला अधिकारी शर्मा पनि गस्तीमा गएका थिए ।

संरक्षण क्षेत्रमा सिकारीले ठूलो सख्यामा पासो राखेको पाइएपछि वन्यजन्तु संरक्षणमा थप चुनौती थपीएको छ । कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपौयाँ जरिवाना वा १० देखि १५ वर्षसम्मको कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ । कस्तुरी मृग झट्टा हेर्दा बाख्राजस्तो भए पनि यसको शरीर खैरो हुन्छ । यसलाई विज्ञहरुले सामान्यतया मृग परिवारमा वर्गीकृत गरेका छन् । तर मृगभन्दा भिन्न वर्गका गुणहरु यसमा पाइन्छन् । यो चिसो हावापानी भएको उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हो । नेपालमा हिमालयन कस्तुरी मृग र कस्मिरी कस्तुरी मृग गरी दुई प्रजातिका कस्तुरी मृग पाइन्छन् । एसिया महाद्वीपमा सात प्रजातिका कस्तुरी मृग पाइन्छन् ।

तस्बिर : मुस्ताङको जंगलमा फेला परेका मरेका कस्तूरी। तस्बिर सौजन्यः एक्याप