चराको संकटग्रस्त अवस्था बढ्दो


     –कृष्णप्रसाद भुसाल    
     मंसिर २५ गते २०७८ मा प्रकाशित


चराहरूको विश्वव्यापी अध्ययन, अनुसन्धान र संरक्षणमा काम गर्ने छाता संस्था ‘बर्डलाईफ इन्टरनेशनल’ले बिहीबार राति सार्वजनिक गरेको चराको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा नेपालमा पनि पाइने तीन प्रजातिका चरा आईयुसियनको संकट सूचि रेडलिष्टमा कम जोखिमबाट बढी जोखिमको अवस्थामा उक्लिएका छन् । 

सानो खरमुजूर, सुनौलो तोपचरा र पहाडी सदलचिल बढी संकटग्रस्त अवस्थामा परेका हुन । उक्त प्रतिवेदन अनुसार विश्वमा पाइने चराका हरेक आठ प्रजाति मध्ये एक प्रजाति संकटमा रहेको जनाएको छ र यसो हुनुको मुख्य कारण चराको वासस्थान विनाशलाई मानेको छ । हाल विश्वमा ११ हजार भन्दा बढी प्रजातिका चरा अभिलेख भइसकेका छन् भने नेपालमा ८ सय ८६ भन्दा बढी प्रजातिका चरा पाईन्छन । नेपालमा पनि वासस्थान विनाश नै चराको लागि मुख्य खतरा हो । राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा रहेका चराका १६८ प्रजाति मध्ये करिब ८६ प्रतिशत चराहरू वासस्थान विनाशले नै संकटापन्न अवस्थामा पुगेका हुन् ।

हालसम्म नेपालबाट आठ प्रजातिका चराहरू लोप भैसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चराहरू यहाँ अभिलेख भएका छन् । प्रजातिको संरक्षण अवस्थामा सबैभन्दा उच्च जोखिम समूह अति संकटापन्न अवस्थामा नेपालमा पाइने १० प्रजातिका चरा पर्छन । अति संकटापन्न अवस्थामा रहेका प्रजातिको संरक्षणमा विशेष पहल भएन भने दश वर्ष भित्रै नै लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

सानो खर मुजूर (Lesser Florican)

सानो खर मुजूर ।

अबलनेपालका लागि गृष्म आगन्तुकको सानो खर मुजूर सन् २००५ भन्दा पछिल्ला वर्षहरूमा भने भरपर्दो रूपमा अभिलेख गरिएको छैन । सन् १९९४ मा अति संकटापन्न अवस्थामा रहेको यो चरा सन् २००० मा आएर एक तह कम जोखिमको अवस्था संकटापन्न अवस्थामा झरेको थियो । तर पछिल्ला वर्षहरूमा यसको विनाश तीव्र गतिमा हुँदै गएकोले पुन अति संकटापन्न अवस्थामा पुगेको छ । चोरी सिकार र मुख्य वासस्थान घाँसे मैदानको अतिक्रमण, खण्डीकरण, सङ्कुचन र विनाशले यो चरा थप संकटमा परेको हो । यो सँगै नेपालको घाँसे मैदानमा मात्र पाइने विश्वमै दुर्लभ १३ र राष्ट्रिय रूपमा संकटापन्न २५ प्रजातिका चराहरूले संकट झेलिरहेका छन् । घाँसे मैदान पर्यावरणको सूचकका रूपमा हेरिने खर मुजूर जस्ता चराको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको ह्रासलाई जनाउँछ । यो सँगै परापुर्वकाल देखी सनातनरुपमा चलिरहेको पर्यावरणीय चक्र, खाद्यसृङखला र जैविक विविधताको अस्थित्व नै छिन्न भिन्न हुँदै गइरहेको एक उदाहरण हो यो ।

सुनौलो तोपचरा ( Finn’s Weaver)

सुनौलो तोपचरा । तस्बिर : राजेन्द्र गुरुङ

नेपाल र भारतमा पाइने सुनौलो तोप चरा नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र प्रजनन गर्छ । संवेदनशील अवस्थामा रहेको यो चरा अहिले बढी जोखिमको संकटापन्न अवस्थामा उक्लिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुनौलो तोपचरा करिब तिन सयको संख्यामा अभिलेख हुने गरेको सन् २०१५ देखी हरेक वर्ष अनुगमन गरिरहेका हिरुलाल डङ्गौरा बताउँछन् । सन् १९९४ देखी संवेदनशील समूहमा रहेको यो चराले पनि चोरी सिकार र घाँसे मैदान वासस्थान विनाशको असर भोगिरहेको छ । घाँसेमैदान संरक्षणकालागि संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रहरूले आफ्नो वार्षिक कार्यक्रम बनाएर काम गरिरहेको भएपनि काममा एकरुपता र प्राविधिक तालमेल देखिँदैन । उदाहरणको लागि घाँसेमैदानमा बस्ने यी चराहरूको प्रजनन समयसँग मिल्ने गरी वर्षा याम सुरु हुनुअघि घाँस काट्ने र जलाउने प्रचलन छ जुन यी चराहरूको लागि मुख्य खतरा बन्दै गएको छ । यो समयमा घाँस काट्ने, जलाउने र मानिसहरूको अत्यधिक आवत जावत जस्ता कार्यलाई रोक्नुपर्ने हुन्छ ।

पहाडी शदलचिल ( Mountain Hawk-eagle)

नेपालको रैथाने सिकारी चरा पहाडी शदलचिल पनि सुरक्षित अवस्थाबाट संकटको नजिक अवस्थामा उक्लिएको छ । अग्ला र ठुला रुखहरूमा बस्ने पहाडी शदलचिल विश्वव्यापी रूपमा बढ्दै गएको वन विनाशले जोखिममा परेको उल्लेख छ । नेपालमा भने यो चरा किसानहरूले आफ्ना कुखुरा, हाँसका चल्लाहरू खाईदिने भन्दै गर्ने सिकार र विद्युतीय तार तथा पोलहरुमा करेन्ट लागेर र ठोकिएर मर्ने गरेको यसै प्रजातिमा लामो समयदेखि अनुसन्धान गरिरहेका सन्देश गुरुङ बताउँछन् । पहाडी शदलचिल बेलायती प्रकृतिविद् ब्रायन हडसनले सन् १८३६ मा नेपालबाट बिश्वकोलागि नयाँ प्रजातिको चराको रूपमा पहिचान हो । सर्वप्रथम नेपालबाट अभिलेख गरिएकाले यसको प्रजाति नाम ‘निपालेन्सीस’ राखिएको हो ।

यसर्थ पहाडी शदलचिको पहिचान सँग नेपाल जोडिएको छ, जुन आफैमा एक गर्विलो अनुभूति हो ।यस वर्ष चराको संरक्षण अवस्था मूल्याङ्कनमा नेपालमा पनि पाइने चिरान्तक बाज ९इचष्भलतब िज्यददथ० पनि समावेश गरिएको थियो । तर विज्ञहरूले हाललाई यो चरा संकटग्रस्त अवस्थामा नरहेको निष्कर्ष निकालेका छन् । यसरी हरेक वर्ष चराहरू झन झन जोखिममा पर्दै जानु निश्चय नै सुखद खबर होईन । यसको मुख्य कारक मानविय क्रियाकलाप नै भएकोले हामी आफैm सचेत र जिम्मेवार बन्नुपर्छ । चरा संरक्षण विशुद्ध एकल अभियानले सम्भव हुन सक्दैन यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगोव्यवस्थापन एवम् पर्यटन उद्योग र विकास सँग सँगै लैजानु पर्छ । यिनीहरूको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दीर्घकालीन संरक्षणमा स्थानीय समुदाय, संरक्षण समूहहरू, राजनैतिक शक्ति, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रमहरू बाट नै सम्भव छ । चरा संरक्षणमा अझ व्यापक र प्रभावकारी कदमको खाँचो छ ।