अनौठो बानी भएको काठे भालुको अन्तिम यात्रा


     वेदबहादुर खड्का    
     पौष ६ गते २०७८ मा प्रकाशित


घटना त्यस्तै २०५८ सालको पौष-माघ तिर चितवन राष्ट्रिय निकुञ्जको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत माडी क्षेत्रमा रहेको चैनपुर गाउँमा भएको हो ।भालुले चैनपुर गाउँमा आएर बाख्रा मारी आतङ्क मच्चाएको कुरा समितिका अध्यक्ष नारायण दत्त सापकोटाले दिनु भएको हो ।

यो समाचार सुरुमा त पत्याउन सकिएन किनभने भालुले जनावरको सिकार गरेर मारेर खाएको कहिल्यै देखिएको र  सुनिएको थिएन । जिम्मेवार व्यक्तिबाट खबर आएकोले नपत्याउनु पनि कसरी? पत्याउनै पर्ने अवस्था भयो । तर घटना सवैका लागि चकित पार्ने खालको थियो ।तै पनि पत्यार नलागी नलागी पनि यस घटनाको सत्य तथ्य बुझ्न  नजिकमा रहेको निकुञ्जको वन कट्टा पोष्टका कर्मचारीलाई फिल्डमा खटाइयो । वस्तुस्थिति बुझ्दा  सही रहेछ । त्यसैले भालु नियन्त्रणको लागि निकुञ्जका पशु स्वास्थ्य प्राविधिक वालकृष्ण गिरी सहितका कर्मचारी, जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक हर्कमान लामा र विष्णु लामा सहितको टोली रात बस्ने गरी घटनास्थलमा खटाइयो ।भालु नियन्त्रण कार्यमा नारायण दत्त सापकोटाले स्थानीय समुदायलाई सक्रिय गराई परिचालन गरेका थिए ।

भालु धेरै चलाख थियो ।भालु साँझ परेपछि मात्र गाउँमा प्रवेश गर्दथ्यो । चकमन्न साँझमा छरिएर रहेको चैनपुर गाउँको कुनै गोठको बाख्राखोर भत्काएर मार्दथ्यो । सुरुसुरुमा त केले बाख्रा मारेको हो थाहै हुन सकेन किनकि अँध्यारोमा कालो भालु देख्न सकिन्नथ्यो । बाख्राधनिले बाख्रा मारेको थाहा पाउने  बीतिक्कै हो हल्ला गर्दथे । हल्लाको कारणले भालु त भाग्दथ्यो तर फेरी तुरुन्तै अर्को गोठमा गएर बाख्रा मारी हाल्दथ्यो । भालुले कराउँदै गरेको बाख्रोको पेट फुटाएर ५ मिनेट भित्र फोक्सो कलेजो र मुटु खाएर भ्याई सक्दथ्यो।कहिलेकाहीँ मानिसको खैलाबैलाले गर्दा खादै गरेको फोक्सो कलेजो छोडेर पनि भाग्ने गर्दथ्यो।

भालुले कहिलेकाहीँ ४–५ दिन सम्म लगातार घटना घटाउँथ्यो भने कहिलेकाहीँ गाउँमा आउँथेन । गाउँमा आएका दिन भने बाख्रा मारेर मात्र फर्किन्थ्यो । यो भालुको निगरानी गर्दा गर्दै झन्डै डेढ महिना जति बीत्यो।यस अवधिमा भालुबाट ९० वटा बाख्रा मारिए । रातमा मात्र भालुले बाख्रा मार्ने भएकाले चाल पाउनेहरूले टर्च बालेर लखेट्थे । तर रातमा समेत लाग्ने हुस्सुले गर्दा केही देखिन्थेन र भालु छिन भरमै लापत्ता हुन्थ्यो ।अतः डार्ट गनको प्रयोग गरी भालुलाई नियन्त्रणमा लिने अनुकूल नै मिलेन । पछि बुझ्दै जाँदा भालुका दुई वटा बच्चा साथमा रहेछन् । भालु लखेट्ने क्रममा भालुबाट ३ जना स्थानीयवासी घाइते भइसकेका थिए । एकै रातमा ३ वटा सम्म बाख्रा मार्ने गरेकोले उद्धारमा खटिएका टिम र पीडित पक्ष आजित भएका थिए ।

वन्यजन्तुवाट स्थानीयलाई क्षति पुगे पनि चिफ वार्डेनले हाम्रो कुरा सुन्यो भन्ने हिसाबले स्थानीयलाई गर्व हुँदो रहेछ । पछिल्लो समयमा चिफ वार्डेनले जनताको घरमा रात बिताउने कार्य दुर्लभ हुँदै गएको छ र त्यसै अनुसारको प्रत्यक्ष जनतासँग सरोकार राख्ने फिल्डका कर्मचारीहरूको मानसिकतामा आएको परिवर्तनले संरक्षणमा जटिलताहरू थपिँदै गएको भान हुन्छ ।

भालु नियन्त्रण गर्न केही शिप नचलेपछि त्यतिखेरका चिफ वार्डेन पुरन भक्त श्रेष्ठ र यो पङ्क्तिकार समेत त्यसतर्फ गयो । भालुलाई पक्रने रणनीति बनाउँदै स्थानीय पीडित किसानहरू र भालु उद्धार टिमको बिचमा गहन छलफल भयो। भालुको गतिविधि देख्दा डार्टवाट भालुलाई नियन्त्रण लिन नसकिने भन्ने निष्कर्षमा पुगियो । त्यसो भए के गरेर नियन्त्रणमा लिने त भन्ने सन्दर्भमा छलफल गर्दा जालमा फसाएर मात्र भालुलाई नियन्त्रणमा लिन सकिने निचोड निक्लियो । यस कुरामा चिफ वार्डेनको सहमतिको आवश्यकता थियो र सहमति पाइयो पनि । छलफलकै क्रममा साँझ परिसकेकाले रातमा भालुको गतिविधि नियालेर अर्को दिन भालुलाई जालमा फसाई नियन्त्रणमा लिने निष्कर्ष भयो । चिफ वार्डेन लगायत भालु उद्धार गर्ने टिम स्थानीयको घरमा रात बस्यो ।सामान्य कृषकको घरमा सबैलाई एउटै घरमा खानवस्न उपलब्ध गराउन समस्या हुने बुझी घरैपिच्छे छरिएर खाना खाइयो साथै जाडो याम भएकाले ओढने कपडाको समस्याले गर्दा पनि छरिएर घरैपिच्छे बाँडिएर सुतियो ।

रातमा  भालु आएछ भने लखेट्न तमतयार बसेका हामी निर्भय पाराले सुत्न सकेनौ तर त्यस रात भालु भने गाउँमा आएन । चिफ वार्डेन आएपछि भालु नै डरले आएन भन्ने हाँसो पनि चल्यो । भालुले बाख्रा खाएर नोक्सान गरे पनि निकुञ्जप्रति पीडित किसानहरूले देखाउनु भएको हार्दिकता भने अमूल्य थियो। गाउँमा चिफ वार्डेनको उपस्थितिले एक किसिमको रौनक छाएको थियो र निकुञ्ज र जनतासँगको सामिप्यता बढेको महसुस भइरहेको थियो। वन्यजन्तुवाट स्थानीयलाई क्षति पुगे पनि चिफ वार्डेनले हाम्रो कुरा सुन्यो भन्ने हिसाबले स्थानीयलाई गर्व हुँदो रहेछ । पछिल्लो समयमा चिफ वार्डेनले जनताको घरमा रात बिताउने कार्य दुर्लभ हुँदै गएको छ र त्यसै अनुसारको प्रत्यक्ष जनतासँग सरोकार राख्ने फिल्डका कर्मचारीहरूको मानसिकतामा आएको परिवर्तनले संरक्षणमा जटिलताहरू थपिँदै गएको भान हुन्छ ।

भोलिपल्ट बिहान भरी हुस्सु लागेकोले सो समयमा केही काम गर्न सकिएन । घाम लागे पश्चात् खाना खाएर अघिल्लो दिनमा भएको छलफल अनुसार स्थानीयहरूसँग रहेको बालीनाली सुरक्षाको लागि बनाइ राखेका जालहरू सङ्कलन गरी चेम्फावर गाउँ नजिकै मध्यवर्ती सामुदायिक वन रहेको सितई खोलाको सोमेश्वर पाखोमा करिब ५०० मिटर जाल विच्छाईयो ।यसै नाकाबाट भालु ओहोरदोहोर गर्छ भन्ने अनुमान लगाइएको थियो। सोमेस्वर पाखाको माथिल्लो भेगबाट स्थानीय जनताको सहयोगमा भालु खेदियो र बीच्छाएको जालमा आएर भालु फस्यो ।

त्यसपछि भालु जालबाट फुत्कन प्रयास गर्दै थियो भने प्राविधिक टिमले बेहोस पार्ने औषधी तयारी गर्दै थिए । तबसम्म भालु नजिक जम्मा भएका मानिसको भिडभाडले भालुलाई भाटाले र ढुङ्गाले हिर्काउन थाले । निकुञ्जको उद्धार टिमले सो कार्य रोक्ने प्रयास गर्‍यो  तर सकेन ।धेरै बाख्राहरू नोक्सान गरेकाले स्थानीयहरू ज्यादै रिसाएका रहेछन् । अन्तमा भिडभाडमा कसैले नदेख्ने गरी भुईँबाट जालमा अल्झाएको भालुलाई भाला प्रहार गरिएछ र भालुको मृत्यु हुन गयो । आँखै अगाडि भालुलाई मारेको दृश्य भुल्न नसकिने खालको थियो ।

भालुको मृत्यु भएपछि स्थानीयले विजय उत्सव मनाए । भालु नियन्त्रणमा सक्रिय भूमिका खेलेका नारायण दत्त सापकोटालाई फुल माला र अबिर लगाइ जात्रा गरे तर निकुञ्जबाट खटिएको टोलीलाई भने भालु बचाउन नसकेकोमा खिन्नता वोध भइरहेको थियो । उपद्रो मच्चाउने भालु पोथी थियो जसका २ वटा बच्चा रहे पनि बच्चा लिएर गाउँमा आएको कसैले देखेन। हिमाली कालो भालुले त चौँरीका बच्चा र भेडा मारेर खाएको थाहा थियो । तराईमा पाइने काठे भालुले कुहिएको सिनो मात्र खान्थ्यो तर मारेर खाएको देखिएको थिएन भनेर भन्नु हुन्छ भालु नियन्त्रणमा खटिएका हर्कमान लामा ।  

भालुले बाख्रा मारेको घटना एकदम दुर्लभ हो । यस भन्दा अगाडि पनि यस्ता घटना घटेका थिएनन् र पछि पनि घटेको सुनिएको/देखिएको छैन ।भालुलाई मारेपछि के साचिक्कै भालु हो त भनेर उद्धार टिमलाई पत्रकारले प्रश्न तेर्स्याएका थिए ? यो भालु नै हो अन्यथा नलेख्नु होला भनेर पत्रकारलाई सम्झायौँ ।

भालुले बाख्रा मारेको घटना एकदम दुर्लभ हो । यस भन्दा अगाडि पनि यस्ता घटना घटेका थिएनन् र पछि पनि घटेको सुनिएको/देखिएको छैन ।भालुलाई मारेपछि के साचिक्कै भालु हो त भनेर उद्धार टिमलाई पत्रकारले प्रश्न तेर्स्याएका थिए ? यो भालु नै हो अन्यथा नलेख्नु होला भनेर पत्रकारलाई सम्झायौँ । पत्रकारलाई सम्झाउन निकै मेहनत गर्नु पर्‍यो  । किनकि भालुले जनावर मारेर खाँदैन भन्ने हल्ला सवैतिर फैलिएको थियो, त्यसैले वन मान्छे आएर बाख्रा मारेको भन्ने हल्ला भित्रभित्रै भुसको आगो झैँ सल्किएको रहेछ ! बिचरा पत्रकारलाई पनि के दोष ? जसले जे भन्यो त्यसका पछि लाग्ने बानी परिसकेकाले गर्दा पत्रकारको प्रश्न  गराइमा नौलो मान्नु पर्ने अवस्था थिएन । यसरी एउटा दुर्लभ भालुको अन्त्य भयो तर त्यस भालुका दुई वटा बच्चाहरूको स्थितिको बारेमा भने कुनै सुराक/जानकार प्राप्त भएन ।

अन्तमा

बेला बखतमा भालुले मान्छे मार्‍यो, मान्छेले भालु मार्‍यो  भन्ने कुरा नसुनिएको होईनन्  । तर भालुले मान्छेको घरमा गएर मान्छे मारेको उदाहरण सायद भेटिँदैन । केवल आफूलाई खतरा भएको अवस्थामा भालुको घरमा अर्थात् वन जङ्गल गएका मान्छेलाई भालुले आक्रमण गरी घाइते बनाउने, मार्ने गर्छ । मानिसले पनि जङ्गलबाट भालु झूकिएर गाउँमा निस्किएको अवस्थामा आफ्नो सुरक्षित स्थान वन जङ्गल/वासस्थानतर्फ भालु फर्किन खोज्दा स्थानीयको चारैतिरको हो हल्ला गर्दा हताश अवस्थामा भालु पुग्न जान्छ र उसले उपयुक्त बाटो नभेट्दा भालुले आफूलाई मानवीय घेराबन्दीमा परेको महसुस गर्दछ।

त्यस अवस्थामा भालु भाग्ने क्रममा आफू अगाडि पर्ने गाईबस्तु मान्छे जे भेट्छ त्यसलाई सामना  गर्दै भाग्दा त्यस अवस्थामा भालु मारिने, घाइते हुने, मान्छे मारिने, घाइते हुने घट्नाहरु हुने गरेका छन् । बाघको जस्तो  सिकार गरेर खाने जनावरमा भालु पर्दैन तर मरेका जनावरको सिनो भने यसले खाएको यदाकदा भेटिन्छ ।  भालुले जनावरको सिकार गरी खान्छ भन्दा भालुको बारेमा थाहा नपाउनेलाई त केही फरक पर्दैन होला तर माथिको घट्नाले यसका जानकार व्यक्ति, सङ्घसंस्था,संरक्षणमा खटिएका गोठाला,पथप्रदर्शक,संरक्षणविद्, प्रकृतिविद् र जीव वैज्ञानिकलाई अचम्म लाग्न सक्छ ।

(वेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन । उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन् ।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!