कोसी टप्पु वन्यजन्तु आरक्षबाट भारत छिरेका गोहीलाई नेपाल फर्काउन सकिएला त ?


     वेदबहादुर खड्का    
     फागुन ३० गते २०७८ मा प्रकाशित


सन् १९७०को दशकमा नेपालमा बाघ गैँडा जस्तै घडियाल गोही पनि लोप हुन सक्ने अवस्थामा पुगी सकेको थियो । त्यस वेला नारायणी नदीमा ५७ वटा मात्र घडियाल बाँकी रहेका थिए । न्यून सङ्ख्यामा रहेका घडियाल गोहीहरूलाई के कसरी बचाउने भन्ने कुराले तत्कालीन अवस्थाका संरक्षणविदहरुमा  हुटहुटी जाग्यो । फलस्वरूप चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल प्रजनन केन्द्रको स्थापना भयो।

नारायणी नदीको बगरमा घडियाल गोहीका गुँडहरू पहिचान गरी तिनले पारेका अण्डाहरू सुरक्षित कसरामा ल्याई बच्चा कोरल्ने र हुर्काउने कार्यक्रम निरन्तर चली रह्यो । घडियालका बच्चा हुर्काउँदै चितवनको नारायणी र राप्ती नदी तथा देशका अन्य प्रमुख नदीहरू (घडियालको प्राकृतिक वासस्थान) मा समेत  क्रमशः पुनर्स्थापन गर्दै जाने काम राज्यले गर्‍यो ।

छोडेका घडियाल गोहीहरू कता गए भन्नेतर्फ कौतूहल नै रह्यो। हामी कोशीटप्पु वन्यजन्तु आरक्षबाट पुनर्स्थापना गरिएका घडियाल मात्र हरायो भनिरहेका छौ तर सन् १९९३ ताका हिउँदमा साइबेरिया देखि आई कोसी टप्पु वन्यजन्तु आरक्षमा देखा पर्ने बथानका बथान जल हाँस हाल कता गए होलान् !

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रबाट सन् १९८३ देखि २०१० सम्म ९५ वटा घडियाल कोसी नदी अर्थात् कोसी टप्पु वन्यजन्तु आरक्षमा लगेर छाडियो । छोडेका घडियाल गोहीहरू कता गए भन्नेतर्फ कौतूहल नै रह्यो। हामी कोशीटप्पु वन्यजन्तु आरक्षबाट पुनर्स्थापना गरिएका घडियाल मात्र हरायो भनिरहेका छौ तर सन् १९९३ ताका हिउँदमा साइबेरिया देखि आई कोसी टप्पु वन्यजन्तु आरक्षमा देखा पर्ने बथानका बथान जल हाँस हाल कता गए होलान् ! जसको एउटै बथानमा तिनीहरू पचासौँ हजारको सङ्ख्यामा देखिन्थे । पानीबाट जल हाँसका बथान एक्कासि उड्दाखेरि जेट उडेको जस्तो आवाज आउँथ्यो । अहिले आएर यस्तो दृश्य देख्न दुर्लभ भईसक्यो।

त्यस समयसम्म कोसी नदीको बगरमा ५ वटासम्म घडियाल देखिई रहेका थिए । शायद त्यस वेला आरक्षको वासस्थान राम्रै भएर होला, जल हाँस र घडियाल देख्न पाइएको थियो । कहीँ कतै आरक्षको वासस्थान बिग्रेर पो हो कि साइबेरिया देखि आउने जल हाँस हराएको जस्तै घडियाल गोही पनि हराएको त होइन ? कोसी नदीको जलीय वासस्थान बिग्रेर पनि जल हाँस अन्तै गएको हुन सक्दछ! त्यस्तै घडियाललाई पनि भएको हुन सक्दछ ! सन् २०१६ मा भएको राष्ट्रिय गोही गणनामा एउटा पनि घडियाल कोशीमा फेला परेनन्। तर घडियाल भारत छिरे भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो। नभन्दै तरुन नयर समेतको २०१९को अध्ययनले भने नेपाल भारत सिमानाभन्दा तल भारततर्फको कोशीको बहाव क्षेत्रमा ४ वटा घडियालहरू फेला परेको तथ्य उल्लेख छ।

बम्वै नेचरल हिस्ट्री म्युजियमका अनुसार सन् १९५० भन्दा अगाडि कोशीमा घडियाल प्रशस्त नै पाइन्थ्यो। त्यसवखत भारतमा बेलायतीहरूको उपस्थिति बाक्लो भएको अवस्थामा उनीहरूले नेपाली भूमिमा समेत आएर घडियालको सिकार गर्ने गर्दथे । सन् १९२४ तिर कोशीमा ७ मिटर लम्बाई भएको भाले घडियालको सिकार गरेका थिए। पछि आएर बढ्दो मानवीय चापले यसको वासस्थान विनाश र अवैध सिकार आदिले गर्दा सन् १९७०को दशकतिर आएर कोशीमा घडियाल गोही हराएर गए। भारत सरकारले आप्नो क्षेत्रको कोसी नदीमा घडियाल पुनर्स्थापना गरेको थिएन । तर एक्कासि ५० बर्सपछि मार्किङ गरेका घडियाल समेत भारततर्फको कोसी नदीमा देखिएको हुँदा नेपालको कोसी टप्पु आरक्षबाट घडियाल आएको भन्ने कुरा तरुन नैरको अध्ययनमा समेत उल्लेख छ।

सुरुको अवस्थामा कोसी नदीमा छाडिएका घडियाललाई मार्किङ गरिएको थिएन तर चितवनका नदीमा छोड्दा भने मार्किङ गर्ने गरिएको थियो। चितवनका नदीमा छोडेको मार्किङ घडियाल गङ्गा नदी हुँदै नेपाल भारत सिमाना कोसी ब्यारेज नजिकको सितापुर भन्ने भारतीय गाउँ भएर बग्ने कोसी भँगालोमा फेला पर्‍यो । त्यसैले ती घडियालहरू चितवनको नारायणी नदीमा छोडिएको हुन सक्छन् भनेर अनुमान लगाउन सकिन्छ । हुन त, चितवनको राप्ती नदीमा छोडेका घडियालहरू एक हजार १ सय कि.मी. टाढा भारतको पश्चिम बङ्गाल स्थित माहानन्द (नेपालमा मेची भनिन्छ) नदीमा समेत फेला परेको तथ्याङ्क बाहिर आई सकेकोले चितवनमा छोडेका घडियाल कोशीमा पनि देखा पर्‍यो  भनेर अचम्म मान्नु पर्ने अवस्था भने रहँदैन । त्यसै गरी जेफ्रीलाङ्गले भारतको चम्बल नदीमा घडियालको शरीरमा सेटलाईट जडान गरी गरेको अध्ययन अनुसार घडियालले जहाँ पहिला अण्डा पारेर बच्चा कोरलेको थियो पुनः एक वर्ष पछि त्यसै ठाउँमा आई अण्डा पारेको बताएका छन्। यस अध्ययनले  एक वर्षको अवधिमा  घडियालले नदीहरूमा २०० कि.मी. सम्म भ्रमण गरेको देखिएको छ।

सुरुको अवस्थामा कोसी नदीमा छाडिएका घडियाललाई मार्किङ गरिएको थिएन तर चितवनका नदीमा छोड्दा भने मार्किङ गर्ने गरिएको थियो। चितवनका नदीमा छोडेको मार्किङ घडियाल गङ्गा नदी हुँदै नेपाल भारत सिमाना कोसी ब्यारेज नजिकको सितापुर भन्ने भारतीय गाउँ भएर बग्ने कोसी भँगालोमा फेला पर्‍यो ।

कोसी नदीमा घडियाल गोहीहरू प्राकृतिक वासस्थान/भूगोलबाट हराएका छैनन् तर राजनैतिक भूगोलबाट हराएका हुन । तर आरक्षको वासस्थान जोगाइ सुरक्षित बनाएको खण्डमा भारततर्फ गएका घडियाल गोहीहरू फर्किन सक्छन् । नेपाल भारत सिमानामा अवस्थित बाँधको ढोका खुलेको अवस्थामा केही फर्केर आएका उदाहरणहरू पनि भेटिन्छन् । हामीले चितवनमा हुर्काएर कोसी नदीमा पुनर्स्थापन गरेका घडियाल गोहीहरू भारततर्फ गएको र फर्की नआएको तथ्यले भने कोशीटप्पु वन्यजन्तु आरक्षको जलीय वासस्थान राम्रो छैन भन्ने देखाउँछ वा वासस्थान सुधार गर्नुपर्ने स्थितिमा पुगिसकेको देखाउँदछ वा क्षेत्र विस्तार गर्नुपर्ने देखाउँछ । विना रोकतोक कोसी ब्यारेज क्षेत्रमा सक्नेले जे जसरी भए पनि आप्नै पोखरीको जस्तो गरेर माछा मारेका छन् । अनि यस्तोमा के कसरी घडियाल गोही रमाउँछ त ! यसको निराकरणतर्फ ध्यान जानु जरुरी रहेको छ।

नेपालका ताल तलैया र ठुला नदीहरूको जलीय वासस्थान स्वास्थ्य र सुरक्षित रहेका कारणले यहाँका सिमसार क्षेत्रहरूमा हिउँदमा साईवेरियादेखि चराहरू आउँछन् ।  सबै सिमसार क्षेत्रहरूको संरक्षणको अवस्था फरक फरक होला तर यो कुरा निश्चित हो कि वासस्थान जोगिएको सिमसार क्षेत्रमा मात्र त्यस्ता फिरन्ते चराहरू बसाइँ सराई गरेर आउने गर्दछन् । पहिलो चोटि कोसी टप्पु भ्रमण गर्ने जो कोहीलाई पनि झट्ट हेर्दा अहिले कोसी टप्पु वन्यजन्तु आरक्ष अर्ना संरक्षणको लागि नभई गाउँलेहरूका गाई भैँसी संरक्षणको लागि खड भएको जस्तो भान हुन्छ। किनभने आरक्ष भित्र वन्यजन्तुलाई नियालेर खोज्नु पर्ने हुन्छ भने तर घरपालुवा गाई–भैँसी हजारौँको सङ्ख्यामा जताततै सहजै देख्न सकिन्छ । कोसी टप्पु वन्यजन्तु आरक्षको दक्षिणी डुबान क्षेत्र र उत्तरी क्षेत्रतिर विस्तार गर्ने योजना वर्षौँ देखि अलपत्र अवस्थामा छ । आरक्ष क्षेत्रको विस्तार हुन सक्यो भने घडियाल लगायत धेरै वन्यजन्तुको कल्याण हुने थियो।

घडियालको मुख्य वासस्थान भनेको बिहान देखि बेलुकासम्म पहारिलो घाम लाग्ने, बालुवाका ढिस्काहरू र प्रशस्त माछाहरू पाइने नदी तटीय क्षेत्र हो । पहाडी खोंचखाचका नदी तटीय क्षेत्रहरू घडियाल गोहीहरूको उपयुक्त वासस्थान हुन सक्दैन किनभने डाँडाको खोँचमा पर्याप्त घाम नलाग्ने हुँदा वासस्थान क्षेत्र ओसिलो हुन्छ र नदीको पानी पनि त्यहाँ धेरै चिसो हुने गर्दछ र आहाराका लागि माछाहरूको अपर्याप्तता कारणले गर्दा पनि घडियाल त्यस्ता क्षेत्रमा बस्न सक्दैनन्।

घडियाल मान्छेको स्वार्थ अनुसार चल्ने प्रजाति होइन। घडियाल उँधौलीतिर लाग्दा भारत पुग्ने भएकाले उभौलीतिर घडियाल गइदिए हुन्थ्यो भन्ने हाम्रो सोचाई भए पनि नदीको बहाव, आहाराको विविधता, बालुवा,घमाइलोपना र पानीको तापक्रम आदि विविध कारणले गर्दा नदीको माथितिर नजाने तर तलतिर नै जाने गरेकाले घडियालहरू भारत पुगेका हुन् । राजनैतिक भू–गोलले गर्दा घडियाल भारत पुगे पनि ऊ आफ्नो प्राकृतिक भू–गोल मै छ।

जलचरहरू नदीमा पानीको बहावको उल्टो सुल्टो दुवैतिर यात्रा गर्न सक्दछन् । कयौँले छोटो यात्रा गर्छन् भने अनेकौँले लामो यात्रा गर्छन् तर यिनीहरूलाई राजनैतिक भू–गोलले केही असर पुर्याउँदैन। गङ्गा नदीका माछाहरू पनि नेपालको नदीनाला हुँदै पहाडका खोल्सा खाल्सीसम्म पुगेर बच्चा प्रजनन गरी फेरी गङ्गा नदीमै फर्कन्छन् । भनिन्छ, राज वाम नदीमा बस्दछ तर फुल पार्न समुन्द्रमा जान्छ । सालमोन माछा समुन्द्रमा बस्छ तर फुल पार्न नदीमा पस्छ । यो माछाहरूको प्राकृतिक नियम हो । जलचर एउटै राष्ट्रको मात्रै पनि सम्पत्ति होइन । तर नेपालले छोडेका घडियाल भारतमा गए भनेर चिन्ता लिई रहनु आवश्यक छैन । तर घडियाल वा अन्य जलचर आऊ–जाउलो क्रममा मानवीय समस्यामा पर्नु भएन भन्ने मात्र चिन्ता हो।

यस वर्षको विश्व सिमसार दिवसको (फरबरी २, २०२२) उपलक्ष्यमा चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन गरिएका २० वटा घडियाल कोसी नदीमा लगेर तामझामका साथ  छाडियो । यसरी प्राकृतिक वासस्थानमा गोहीहरू छोड्नुमा गर्व र उत्साहित हुनु स्वाभाविक नै होला । तर त्यो भन्दा बढी छोडेका घडियालहरू पूर्णरुपमा  बचाउन सकियो भने साँच्चिकै गर्व नै मान्नुपर्ने हुन्छ । अबको चुनौती भनेको घडियाल गोही माछा मार्ने जलाहारीहरुको जालमा फसी मर्ने, जालमा परेका गोहीहरूलाई हिर्काएर मार्ने र माछा उनेको बल्छी घडियालले निल्दा हुने दुर्घटनाहरू न्यूनीकरण गर्नु नै हो । यस्ता घडियालको जिऊ जोखिममा पर्ने अवस्था वाट जोगाउन घडियाल लक्षित नदी अनुगमन गर्नु पर्दछ । यदि हामीले यस्ता अनुगमन निरन्तर गर्न चुक्यौ भने हामीले घडियाल गुमाउने छौ । किनभने मानवीय रेखदेखमा हुर्केका घडियाल अलि बढी सोझो र लाटो हुन्छ । प्रकृतिमा के कसरी बाँच्ने भन्ने सिकी नसकेको अवस्था रहनाले मानिस नजिक नजिक आउन  खोज्छ र टोक्न आयो भनेर मानिसले हिर्काएर घाइते वा मारेर फाली दिन सक्छन्।

विगत वर्षहरूमा चितवन राष्ट्रिय निकुञ्जमा घडियालको अनुगमन गरेको अनुभव यहाँ प्रस्तुत गर्न लायक हुन्छ होला । डुङ्गामा रासन र गोही उद्धारका सामाग्रीहरू बोकी जहाँ रात पर्‍यो  त्यहीँ बगरमा बास बसी नारायणी र राप्तीमा अनुगमन गरिन्थ्यो जसमा घडियालले जाल र बल्छी अड्काएको देखेमा तत्काल नै जाल छुटाउने गरिन्थ्यो । कोसी नदी क्षेत्रमा पनि यो स्तरको काम कारवाहीहरु अगाडि बढाउनु पर्ने जरुरी देखिन्छ। नत्रभने नदी किनारमा घाम तापी बसेका घडियालहरूलाई मानिसले जिस्काउने ढुङ्गा, गुलेली हानी घाइते गर्न वा मार्न सक्छन् । नयाँ ठाउँ नयाँ परिवेश र घडियाल नै नदेखेका मानिस भएकाले यस व्ययमा प्रचार प्रसार गर्नु पनि जरुरी रहेको छ । त्यसै गरी नेपाल भारत सिमाना क्षेत्रमा रहेको सम्बन्धित निकाय सुपौल वीरपुर (विहार) स्थित वन कार्यालयका पदाधिकारीसङ पनि यस विषयमा परामर्श गर्नु पर्ने त्यतिकै आवश्यकता देखिन्छ । घडियाल भारत गए भन्ने पिर होईनकी जहाँ भए पनि घडियाल बच्नु पर्‍यो  र वासस्थान बचाउनु पर्यो भन्ने चिन्ता हो । वासस्थान भनेको घर हो, यती भएपछी अन्य प्रजाति आए जस्तै घडियाल आप्नो घर खोज्दै रोज्दै आई हाल्छन् नि हैन र?

नदीका माछा खाइदिने भयो भनेर माछा मार्ने क्रममा घडियाललाई हानी नोक्सानी गर्ने सम्भावना पनि प्रशस्तै रहन्छ । किनभने यस विषयमा कोसी क्षेत्रका मलाहा/गोढी समुदायबाट आवाज उठी सकेको छ। त्यही भएर आरक्षले स्थानीय जातका भुरा माछा कोसी नदीमा छोडी सकेको अवस्था छ जसले घडियाल र माछामा आश्रित समुदायलाई फाइदा पुग्ने आशा गर्न सकिन्छ । तर चितवनको अनुभवबाट हेर्दा भने चितवनको राप्ती र नारायणीमा घडियालको सङ्ख्या कम हुँदा माछा पनि कमै पाइन्थ्यो तर घडियालको सङ्ख्या बढ्दै जाँदा नदीमा माछा वृद्धिदर बढेको पाइन्छ । जहाँ जहाँ गोही छ त्यहाँ माछाको सङ्ख्या धेरै रहेको भेटिन्छ । त्यसै भएर जाँगरिलो माछा मार्नेले कम्तीमा दैनिक सरदर ५ कि.ग्रा माछा मार्ने गरेको र आक्कल–झुक्कल २५ कि.ग्रा.सम्म माछा मार्ने गरेको पाइएको छ । यो सबै घडियाल र माछाको अन्तरसम्बन्ध (Ecological relation) ले गर्दा भएको हुनु पर्दछ।

घडियालले माछा खाने हो, माछालाई त्यो कुरा थाहा हुदाहुदै पनि घडियाल सँगसँगै माछाहरू बसेको देखिन्छ । घडियालको शारीरिक गन्धले गर्दा र घडियालको दिसा माछाको आहारा हुने भएकोले पनि माछाहरू आहाराको लोभले घडियाल भएको स्थानमा उफ्री रहेकै हुन्छन  । घडियाल र माछाको यस्तो खाले सम्बन्ध मानव यस धर्तीमा टेक्नु अगाडि देखिनै रहने गरेको देखिन्छ । अर्को कुरा के छ भने रोगी माछाहरू सुस्त हुने हुँदा घडियाल गोहीले सहजै पक्रेर भोजन बनाइ माछाहरूमा विभिन्न सङ्क्रमणहरूको नियन्त्रण गर्दछन् । त्यसैले जलिए इकोसिस्टमलाई स्वास्थ्य राख्न घडियाललाई कोशीमा जगेर्ना गर्न नितान्त आवश्यक देखिन्छ । कोसी नदीमा आश्रित मछवाराहरुलाइ निरन्तर माछा र गोहीको सहकार्यको विषयमा तालिम गोष्ठी मार्फत जानकारी गराइरहने र प्रकृतिमा घडियाल गोहीको बाँच्न पाउने अधिकार छ र मानिसहरुनै जलिए पर्यावरण चुस्त दुरुस्त राख्न र यथोचित लाभ हासिल गर्न सक्षम हुन आवश्यक छ।

(लेखक खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)