हिमाली क्षेत्रका गाउँलेहरू ठान्छन्– जलवायु परिवर्तन दैवी बदलाको संकेत हो


     एलिस मिलिंगटन    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


हिजो बिहान आकाशमा रातो बादल देखिएको थियो,” हिमाली जिल्ला ताप्लेजुङको वालुङ गाउँकी याकपालक पेम्बा भुटी शेर्पा भन्छिन्, “भोलि हिउँ पर्न सक्छ ।”

नोभेम्बर २०२१ मा हामीले उनीसँग कुराकानी गरिरहँदा हिमपातबारे पूर्वानुमान गर्नुमा उनको निहित स्वार्थ पनि लुकेको थियो– उनका याकहरु तमोर उपत्यकाको उपल्लो छेउमा अवस्थित वालुङ क्षेत्रमा छरिएका थिए । पानी आउन सुरु हुनुभन्दा पहिले नै ती याकलाई नफर्काउने हो भने ती जनावरसँग उनको सम्पर्कविच्छेद हुनसक्छ । घाँसलाई बाक्लो हिउँले छपक्कै ढाकेपछि याकले त्यहाँ केही खान नपाएर भोकै मर्नसक्छन्। पेम्बाले सधैँ त्यसरी नै आकाशमा बादलकाे अवस्था हेरेर आफ्ना जनावर भेला पार्ने गर्छिन् ।

अर्को दिन आयो तर हिउँ भने परेन ।  ​ 

अन्ततः डिसेम्बर २९ का दिन जब हिउँ प¥यो तब एकैचोटि खनियो । केही घण्टाभित्रै तीन फिट बाक्लो हिउँ प¥यो । आजकल हिमपातको समय भने पर सरिरहेको छ भन्ने उनलाइ‍ लाग्छ । पेम्बा बच्चा हुँदा सेप्टेम्बर महिनादेखि नै हिउँ पर्थ्यो ।

घरका छानाहरु हिउँले थिचिएर चुइँचुइँ कराइरहेका हुन्छन् । गाउँमा एउटाको छानो खसेपछि अन्य गाउँलेहरू पनि आआफ्ना घरका छतमा चढेर हिउँ पन्छाउन थाल्छन् । हरेक हिउँदमा ६ वा ७ पटकसम्म यस्तो गर्नुपर्थ्यो । तर आजकल पहिलेभन्दा निकै कम हिउँ पर्ने हुँदा विरलै मात्र त्यसरी पन्छाउनुपर्छ ।

अनियमित हिमपातका कारण क्षति

याकपालकहरूका लागि अनिश्चित प्रकारका हिमतुफानले गम्भीर समस्यामा पार्ने गर्छ । तारहरूका बीचमा झुलेको डोरीजस्तो देखिने बादलकाे थुप्राे अर्थात गुजिगलाई परम्परागतरुपमा हिमपात आउने संकेत मानिन्छ । एक दिन पहिलेसम्म मौसम सफा थियो । हिमपातको कुनै संकेत नै थिएन । अचानक परेकाे हिउँले छेकेर अल्पत्र परेका याकहरू उपत्यकाभित्र निस्फिक्री डुलिरहेका थिए । गोठालाहरूको पहुँचभन्दा पर पुगेका ६–७ वटा याकहरू खान नपाएर वा हिउँकै कारणले त्यहीँ मरे । त्यसबाट याकपालकलाई लगभग ९ लाख ६० हजार रुपैयाँ क्षति भयो ।

पेम्बा पनि यस्ता घटनाकी भुक्तभोगी हुन् । यस्तै अनुमान नै गर्न नसकिने हिमपातका कारण दुई वर्षअघि उनले पनि लगभग ४५ वटा याक गुमाएकी थिइन् । त्यसका कारण आफूले दशौँ लाख रुपैयाँ नोक्सान व्यहोर्नुपरेको उनको भनाइ छ ।

इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को कञ्चनजंघा ल्यान्डस्केप इनिसियटिभ नामक संरक्षण कार्यक्रमका प्रमुख टासी दोर्जीले वालुङका लागि पनि यो कुरा नौलो नभएको बताए । यही हिउँदमा अस्वाभाविकरुपमा परेको भारी हिमपातका कारण भुटानमा १ सयभन्दा बढी याक मरे भने उत्तरी सिक्किममा ३ सयभन्दा बढी मरे । वनस्पतिमा परिवर्तन, रोग र पानीको अभावले पूर्वी हिमालय क्षेत्रमा समस्या थपिरहेका बेला जनावरहरूका लागि अनियमित वर्षा टार्नै नसक्ने कालको रुपमा आइलाग्न थालेको छ ।

“याकपालकहरू पहिलेजस्तो मौसम अनुमान गर्ने उनीहरूको परम्परागत ज्ञानमा भर पर्नसक्ने अवस्थामा अहिले छैनन्,” दोर्जीले भने, “मौसमसम्बन्धी अनुमान गर्नका लागि पुस्तौँदेखि आधार मानिने गरेका सूचकहरू पनि जलवायु परिवर्तनसँग बिथाेलिएका छन् ।”

हिमालय क्षेत्रमा जति छिटो जलवायु परिवर्तन पृथ्वीको अन्य कुनै पनि ठाउँमा भएको छैन । यो क्रम जारी नै रहनेवाला छ । पृथ्वीकाे औसत तापक्रम वृद्धिलाई १.५० सेल्सियसमा सीमित गरिए पनि हिमालय क्षेत्र त्यसभन्दा थप कम्तीमा ०.३० सेल्सियसले तात्ने अनुमान गरिएको छ । पर्यावरणीयरुपमा उच्च जोखिममा रहेको हुँदा सामान्यस्तरको तापक्रमले पनि हिमालमा गम्भीर असर पारेको हुन्छ । जलवायुविज्ञहरूका लागि यो आश्चर्यको कुरा होइन । वालुङका स्थानीयवासीको भने एउटै बुझाइ छः वातावरणमा देखिएको यो अस्वाभाविक परिवर्तनले कावा नेम्पा अर्थात् अशुभकालको आगमनको संकेत गरेको हो ।

दैवी बदलाको रुपमा जलवायु परिवर्तन

बौद्धधर्मीहरू रहेको हिमाली क्षेत्रका बासिन्दाहरूमा एउटा बुझाइ भने व्यापक छ । याे क्षेत्र स्थानीय देवीदेवता र आत्माहरूबाट तीव्ररुपमा चलायमान रहन्छ भन्ने उनीहरूको विश्वास छ । मानव गतिविधिबाट देवीदेवता रिसाए भने त्यसको बदलाको रुपमा सामान्यतया कठोर मौसम देखापर्छ । मानवशास्त्री टोनी ह्युबर र पौल पिडर्सनले यसलाई ‘तिब्बती नैतिक जलवायु’को संज्ञा दिएका छन्, जसमा मौसमले मानव समुदायको स्वभावको नक्कल गर्छ भन्ने मान्यता छ ।

आर्कटिक र प्रशान्त टापुहरूमा बस्ने आदिवासी समुदायहरूले पनि यस्तै विश्वास गरेको पाइन्छ । दशकौँदेखि अनियन्त्रितरुपमा हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण नेपालका विभिन्न समुदायलाई बाढीले सताइरहेको छ भने पोलिनेसिया क्षेत्रमा समुद्रले बालुवा सोसिरहेको छ । त्यसैले विश्वका सबैभन्दा बढी जोखिमपूर्ण अवस्थामा रहेका समुदायहरूमध्ये कतिपयले आफूहरूसँग देवता किन रिसाए भनी चिन्ता गरेका हुनसक्छन र आफ्ना साथी वा छिमेकीलाई त्यसको दोष थोपर्ने गरेको पनि पाइन्छ ।

वालुङका बासिन्दासँग याे लेखका लागि कुराकानी गर्दा उनीहरूले धार्मिक आस्थाप्रति विश्वास घट्दै गएका कारण सामाजिक तथा वातावरणीय समस्या आइपरेको बताए । जब हिमतुफान आउँछ अनि कैयौँ मानिसहरूले आफ्ना जनावरको रक्षाको कामना गर्दै धूप तथा अगरबत्ती बाल्छन्, जसलाई झ्यासुमसु भनिन्छ । तर अरु मानिसहरू भने मानिसहरूको आन्तरिक स्वभावका कारण जलवायुमा समस्या आएको हुँदा यस्ता बाह्य गतिविधिबाट त्यसको समाधान नहुने भनी चिन्ता व्यक्त गर्छन् ।

५८ वर्षीया याङचेन शेर्पाले पनि केही समयदेखि जलवायुमा देखिएका परिवर्तनले पक्कै पनि केही अशुभकाल (कावा नेम्पा) आगमनकै संकेत गरेको हुनुपर्ने बताइन् । “यसलाई कसरी व्याख्या गर्ने भन्ने मलाई थाहा छैन । विगतमा, ठीक समयमा हिमपात हुने गर्थ्यो, वर्षा पनि समयमै हुन्थ्यो र आकाश निकै सफा हुन्थ्यो,” उनले भनिन्, “आजकल मुश्किलले हिमपात भएको पाइन्छ तर वर्षा भने धेरै हुने गर्छ । आजकल हिउँ त विरलै मात्र देख्न पाइन्छ ।” यति भनेपछि उनी धेरैबेर चुप रहिन् । अनि भनिन्, “समय बदलिरहेको छ र मानिस पनि फेरिएका छन् । राम्रा मान्छे जति त सबै मरिसके ।”

अशुभ संकेतको फाइदाजनक पाटो

हिमाली क्षेत्रको जैविक विविधता डरलाग्दो गरी घटिरहेको छ जसका कारण समग्र पारिस्थितिक प्रणाली (इकोसिस्टम) को स्थिरतामै चुनौती सिर्जना भएको छ । तर त्यसका कारण चुकाउनुपर्ने मानवीय मूल्य सधैँ तत्काल देखिँदैन । त्यसो त वालुङवासीकालाइ जलवायु परिवर्तन सधैँ समस्यामूलक मात्र लाग्दैन ।

एक जना याकपालकले भने, “एक प्रकारले भन्दा जलवायु परिवर्तनले हाम्रो जीवन सहज बनाएको छ । विगतमा जस्तो ठूलो हिमपात नभएका कारण हामीलाई घरपालुवा जनावरहरूको निगरानी गर्न सजिलो भएको छ ।” न्यानो जलवायुमा जनावरका लागि घासपाँतको व्यवस्था गर्न पनि सहज हुन्छ किनभने हिउँ नभएपछि जनावरहरूलाई चरनमा छाडिदिए पुग्छ ।

गलैँचा, राडी, पाखीजस्ता सामग्री बेच्ने बिक्रेताहरूले पनि न्यानो नै मन पराउँछन् किनभने तिप्तजस्ता ५ हजार १ सय ३६ मिटरको उचाइमा रहेका , तिब्बत सीमाका प्रवेशविन्दुहरू पहिले हिउँदमा प्रायः हिउँले छोपिन्थे । केही समय बाटो रोकिन्थ्यो । अहिले त्यहाँ आवतजावत गर्न वर्षैभरि नै सहज छ ।

तर पनि वातावरणमा देखिएको यो अस्वाभाविक परिवर्तन कुनै अशुभ संकेत हो भन्ने धारणामा वालुङवासीहरू एकमत देखिन्छन् । उनीहरूलाई केही असहज अनुभूति भएको पाइन्छ । आफूहरूले बुझ्ने गरेको संसार टाढिँदै छ भन्ने आभास उनीहरूमा भइरहेको छ ।

हिमपात जसरी अविश्वसनीय हुँदै गइरहेको छ, त्यसैगरी मानिसहरूको चरित्र पनि विगतमा जस्तो भरोसायोग्य नभएको स्थानीयको गुनासो छ । द्वन्द्व र गिर्दो नैतिकतालाई अशुभकालको प्रमुख कारणको रुपमा हेरिरहँदा अन्य कतिपयले स्थानीय समुदायलाई जलवायु परिवर्तनको मुख्य कारकको रुपमा दोष दिने गरेका छन् ।

“सबै जना राजनीतिकरुपमा विभाजित छन्,” तामदिङ ग्याल्पा शेर्पाको गुनासो छ, “मान्छेहरू तिमीले कांग्रेसलाई समर्थन गर्छौ, तिमीले कम्युनिष्टलाई समर्थन गर्छौ भनेर एकआपसमा झगडा गर्छन् । यस्ता गतिविधिले पनि वालुङमा मौसम खराब हुने गरेको छ ।”    

राम्रा मान्छेप्रतिको विश्वास कायमै छ

६५ वर्षीय व्यापारी दोर्जी बारा उनको बाल्यकालमा वालुङमै हिमताल फुटेको विनाशकारी घटना सम्झिन्छन् । हिमताललाई रोक्ने प्राकृतिक बाँधलाई पग्लेको पानीले फुटाएपछि हिमताल विष्फोट हुने गर्छ । हिमाली क्षेत्रमा नियमित प्रकोप बन्दै गएको हिमताल विष्फोटन यस क्षेत्रको जलवायु परिवर्तनको एक जबर्दस्त प्रतीक बनेको छ ।

दोर्जीले आफ्नै जीवनकालमा जलवायु परिर्वतनमा तीव्र परिवर्तन नियालेका छन् । वालुङमा यसअघि विष्फोट गराउने हिमताल केही वर्षयता खुम्चिरहेको छ किनभने पहिले पहिले हिउँले छोपिने हिमालहरू अहिले नांगो चट्टानमा परिणत भएका छन् । तर पनि भविष्यमा आइपर्नसक्ने जोखिमप्रति आशावादी हुने उनको आफ्नै बुझाइ छ । यो परिवर्तन आफैँले नियालिरहेका वालुङवासीहरूले अब हिमताल विष्फोटको जोखिम कम भएको धारणा बनाएका छन् । तर वैज्ञानिकहरूले भने हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम झन् बढिरहेको भनी सचेत गराइरहेका छन् ।

बौद्धमार्गीहरूको कर्मसम्बन्धी सिद्धान्तलाई आधार मान्ने दोर्जी मानिसहरूको नकारात्मक व्यवहारले वातावरणमा प्रकोप निम्त्याउने विश्वास गर्छन् । तर समुदायमा राम्रो आत्मा भएका राम्रा मान्छेहरु छन् भन्ने विश्वासले यो उपत्यका सुरक्षित छ भन्ने उनलाई लाग्छ । “विनाशको जिम्मेवारी हामीमा आउँछ,” उनी भन्छन्, “यदि हामीले नराम्रो काम गर्छौं र कुनै विनाश हुन्छ भने म त पृथ्वीलाई दोष दिन सक्दिन, म दलाई लामालाई पनि दोष दिन सक्दिन । त्यो दोष हामीमाथि नै आउँछ नि !” 

तस्बिर : डिसेम्बर २०२१ मा आएको हिमतुफानपछि जमेको बाक्लो हिउँ छिचोलेर अघि बढ्न संघर्ष गरिरहेका याकहरू । (तस्बिरः एलिस मिलिङटन)

समाचार द थर्ड पोलबाट साभार गरिएकाे हाे । लेखक Alice Millingtonएलिस क्याम्ब्रिज विश्वविद्यालयमा भूगोलमा पीएचडी अध्ययन गरिरहेकी विद्यार्थी हुन् । उनी नेपालको ताप्लेजुङमा एथ्नोग्राफिक विषयको स्थलगत अध्ययन सम्पन्न गर्ने क्रममा छन् । उनले आफ्नो अध्ययनमा दुर्गम हिमाली समुदायमा जलवायु परिवर्तनको कारण र परिणामसम्बन्धी विश्वास, नैतिक सजाय र तिब्बती बुद्धिज्मसम्बन्धमा केन्द्रित छ ।