
संरक्षित जीवको सूचीमा रहेको जङ्गली हात्ती र मानव द्वन्द्व बढेको छ । यसले गर्दा मान्छे र हात्ती दुवैको ज्यानै गएका समाचार आइरहेका छन् । मानव बस्तीमा हात्ती पसेर किसानका बालीनाली खाने मात्र होइन बास नै ध्वस्त पार्ने र मान्छेलाई समेत आक्रमण गरेर ज्यान समेत जाने घट्ना राष्ट्रिय निकुञ्ज वरपर घट्ने गरेका छन् ।
तराईका जिल्लामा हात्ती मानव बस्तीमा पसेर बस्ती भत्काउने घट्ना पनि भइरहेका छन् । यसरी मानव र हात्तीको द्वन्द्वका कारण जनधनको क्षति नहोस् र हात्ती पनि नमर्ने गरी वन्यजन्तुको व्यवस्थापन गर्नु आजको आवश्यकता हो । संरक्षित जीवको सूचीमा रहेका वन्यजन्तुलाई संरक्षण गर्नु राज्यको र आम नागरिकका करतव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्यजन्तुको सिकार गर्न निषेध गरेको छ । यसैले पनि वन्यजन्तु र मानव द्वन्द्व कम गर्ने वातावरण बनाउनु पर्छ । वन क्षेत्र खुम्चिँदै गाएकोले वन्यजन्तु वन क्षेत्रबाहिर आई मानिस वा घरपालुवा पशुपंक्षीलाई नोक्सान गर्ने गरेका छन् ।
यसरी बाहिर आएका वन्यजन्तुबाट हुने नोक्सानलाई नियन्त्रण गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । कानुनतः वन्यजन्तु बौलाएको अवस्था, नबाँच्ने किसिमले रोगग्रस्त भएकालाई अधिकारीको आदेशमा मात्रै पक्रन वा मार्न पाइने कानुनी व्यवस्था छ । मानव–वन्यजन्तु द्वन्द्व तराईमा मात्र होइन हिमाल, पहाडमा पनि हुँदै आएको छ । हिमाली जिल्लामा हिउँ चितुवाले भेडी गोठमा बसेर एकै रातमा सय बढी सम्म भेडा, बाख्रा मारेका समाचार आउने गरेका छन् । भालुको आक्रमणबाट मान्छेको ज्यानै गएका समाचार पनि आउँछन् । यस्तै गरी पहाडी जिल्लाहरूमा चितुवाले मान्छेलाई समेत आक्रमण गरेर मारेका समाचार पनि प्रशस्त आइरहेका हुन्छन् । तराईका जिल्लामा हात्ती, बाघ लगायतका जनावर र मान्छे बिच द्वन्द्वका कारण ज्यानै गएका समाचार आइरहेका छन् ।
यसरी मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुको साथै वन्यजन्तु पनि जोगाउनु चुनौती बढेर गएको छ । हालै मोरङको सुन्दरहरैंचा नगरपालिकाको एक सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा जङ्गली हात्ती भेटिएको छ । हात्तीको पुच्छर नै गायब छ । हात्तीको मृत्यु र पुच्छर गायब भएको प्रकृति हेर्दा चोरी सिकारी समूहले गोली हानेर हात्ती मारेको विज्ञ कर्मचारी बताउँछन् । यसरी वन्यजन्तुलाई चोरी सिकारीबाट बचाउनु पनि मानव–वन्यजन्तु द्वन्द्व जतिकै चुनौती छ ।बाघ, हात्ती, चितुवा लगायत वन्यजन्तुबाट क्षति पुग्दा सरकारले राहत दिने गर्दछ । सरकारले केही महिनाअघि मात्रै वन्यजन्तुबाट हुने क्षतिको राहत दिन राहत वितरण निर्देशिका २०८० को रुपमा नयाँ निर्देशिका ल्याएको छ ।
वन्यजन्तुको आक्रमणबाट कोही सामान्य घाइते भए २० हजार, गम्भीर घाइते भए २ लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ । वन्यजन्तुको आक्रमणबाट घाइते भई शारीरिक रुपमा अशक्त भए जीविकोपार्जन खर्च पाँच लाख र कसैको ज्यान गए १० लाख रुपैयाँ राहत दिने भनिएको छ । हात्तीले भण्डारण गरेका अन्न, घर गोठ र खाद्यान्न बालीमा छुट्टाछुट्टै राहत रकम प्रदान गरिन्छ । यसअघि वन्यजन्तुबाट हुने क्षतिको सहयोग निर्देशिका २०६९ बमोजिम क्षतिको प्रकृति हेरेर राहत सहयोग उपलब्ध गराइँदै आएको छ । यसरी क्षति भएपछि त्यसबापत राहत दिने अवस्था आउनुभन्दा जनधनको क्षति हुन नदिने तर्फ लाग्नु पर्छ ।
यसकालागि तराईमा जङ्गली हात्ती, बाघ हिमालमा हिउँ चितुवा, पहाडमा धेरै जसो चितुवा किन मानव बस्ती पसेर स्थानीय वासीलाई आतङ्कित बनाउँछन् भन्ने गहिराइसम्म पुग्न आवश्यक छ । वन्यजन्तुकालागि आहारा र वासस्थान सुरक्षित रुपमा राख्न सके वन्यजन्तु बस्ती पस्दैनन् । यसकालागि सरकारले विज्ञ सँगको छलफल, थप अनुसन्धान गरेर मानव वन्यजन्तु द्वन्द्व कम हुने गरी व्यवस्थापन तर्फ लाग्नु पर्छ । यसैमा वन्यजन्तु र मानव दुवैको हित छ ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…