मान्छे र वन्यजन्तु दुवै बाँच्ने वातावरण बनाउँ


     नेचर न्युज    
     पौष १७ गते २०८० मा प्रकाशित


संरक्षित जीवको सूचीमा रहेको जङ्गली हात्ती र मानव द्वन्द्व बढेको छ । यसले गर्दा मान्छे र हात्ती दुवैको ज्यानै गएका समाचार आइरहेका छन् । मानव बस्तीमा हात्ती पसेर किसानका बालीनाली खाने मात्र होइन बास नै ध्वस्त पार्ने र मान्छेलाई समेत आक्रमण गरेर ज्यान समेत जाने घट्ना राष्ट्रिय निकुञ्ज वरपर घट्ने गरेका छन् ।

तराईका जिल्लामा हात्ती मानव बस्तीमा पसेर बस्ती भत्काउने घट्ना पनि भइरहेका छन् । यसरी मानव र हात्तीको द्वन्द्वका कारण जनधनको क्षति नहोस् र हात्ती पनि नमर्ने गरी वन्यजन्तुको व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।   संरक्षित जीवको सूचीमा रहेका वन्यजन्तुलाई संरक्षण गर्नु राज्यको र आम नागरिकका करतव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्यजन्तुको सिकार गर्न निषेध गरेको छ । यसैले पनि वन्यजन्तु र मानव द्वन्द्व कम गर्ने वातावरण बनाउनु पर्छ । वन क्षेत्र खुम्चिँदै गाएकोले वन्यजन्तु वन क्षेत्रबाहिर आई मानिस वा घरपालुवा पशुपंक्षीलाई नोक्सान गर्ने गरेका छन् ।

यसरी बाहिर आएका वन्यजन्तुबाट हुने नोक्सानलाई नियन्त्रण गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । कानुनतः वन्यजन्तु बौलाएको अवस्था, नबाँच्ने किसिमले रोगग्रस्त भएकालाई अधिकारीको आदेशमा मात्रै पक्रन वा मार्न पाइने कानुनी व्यवस्था छ । मानव–वन्यजन्तु द्वन्द्व तराईमा मात्र होइन हिमाल, पहाडमा पनि हुँदै आएको छ । हिमाली जिल्लामा हिउँ चितुवाले भेडी गोठमा बसेर एकै रातमा सय बढी सम्म भेडा, बाख्रा मारेका समाचार आउने गरेका छन् । भालुको आक्रमणबाट मान्छेको ज्यानै गएका समाचार पनि आउँछन् । यस्तै गरी पहाडी जिल्लाहरूमा चितुवाले मान्छेलाई समेत आक्रमण गरेर मारेका समाचार पनि प्रशस्त आइरहेका हुन्छन् । तराईका जिल्लामा हात्ती, बाघ लगायतका जनावर र मान्छे बिच द्वन्द्वका कारण ज्यानै गएका समाचार आइरहेका छन् । 

यसरी मानव–वन्यजन्तु द्वन्द्व बढिरहँदा जनधन जोगाउनुको साथै वन्यजन्तु पनि जोगाउनु चुनौती बढेर गएको छ । हालै मोरङको सुन्दरहरैंचा नगरपालिकाको एक सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा जङ्गली हात्ती भेटिएको छ । हात्तीको पुच्छर नै गायब छ । हात्तीको मृत्यु र पुच्छर गायब भएको प्रकृति हेर्दा चोरी सिकारी समूहले गोली हानेर हात्ती मारेको विज्ञ कर्मचारी बताउँछन् । यसरी वन्यजन्तुलाई चोरी सिकारीबाट बचाउनु पनि मानव–वन्यजन्तु द्वन्द्व जतिकै चुनौती छ ।बाघ, हात्ती, चितुवा लगायत वन्यजन्तुबाट क्षति पुग्दा सरकारले राहत दिने गर्दछ । सरकारले केही महिनाअघि मात्रै वन्यजन्तुबाट हुने क्षतिको राहत दिन  राहत वितरण निर्देशिका २०८० को रुपमा नयाँ निर्देशिका ल्याएको छ ।

वन्यजन्तुको आक्रमणबाट कोही सामान्य घाइते भए २० हजार, गम्भीर घाइते भए २ लाखसम्म औषधोपचार खर्च दिने कानुनी व्यवस्था छ । वन्यजन्तुको आक्रमणबाट घाइते भई शारीरिक रुपमा अशक्त भए जीविकोपार्जन खर्च पाँच लाख र कसैको ज्यान गए १० लाख रुपैयाँ राहत दिने भनिएको छ । हात्तीले भण्डारण गरेका अन्न, घर गोठ र खाद्यान्न बालीमा छुट्टाछुट्टै राहत रकम प्रदान गरिन्छ । यसअघि वन्यजन्तुबाट हुने क्षतिको सहयोग निर्देशिका २०६९ बमोजिम क्षतिको प्रकृति हेरेर राहत सहयोग उपलब्ध गराइँदै आएको छ । यसरी क्षति भएपछि त्यसबापत राहत दिने अवस्था आउनुभन्दा जनधनको क्षति हुन नदिने तर्फ लाग्नु पर्छ ।

यसकालागि तराईमा जङ्गली हात्ती, बाघ हिमालमा हिउँ चितुवा, पहाडमा धेरै जसो चितुवा किन मानव बस्ती पसेर स्थानीय वासीलाई आतङ्कित बनाउँछन् भन्ने गहिराइसम्म पुग्न आवश्यक छ । वन्यजन्तुकालागि आहारा र वासस्थान सुरक्षित रुपमा राख्न सके वन्यजन्तु बस्ती पस्दैनन् । यसकालागि सरकारले विज्ञ सँगको छलफल, थप अनुसन्धान गरेर मानव वन्यजन्तु द्वन्द्व कम हुने गरी व्यवस्थापन तर्फ लाग्नु पर्छ । यसैमा वन्यजन्तु र मानव दुवैको हित छ ।