नागपञ्चमी : नाग लगायत सबै जीवको संरक्षण गरौं


     नेचर न्युज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइन्छ । यसरी नागको तस्बिर टास्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

यसको अर्थ पृथ्वीमा रहेको सबै प्राणीको अस्थित्व हुनु आवश्यक छ भन्ने हो । वर्षमा एक दिन नागलाई पुजा गर्ने र अरु दिन दुःख दिन यो पर्व मनाइने गरिएको होइन । सबैको अस्थित्वमै मान्छेको पनि अस्थित्व रहदैन भन्ने नै हो आज देशभर नागपञ्चमी मनाउनुको अर्थ

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । नागपञ्चमीको अवसरमा शुक्रबार देशभरका नागपोखरी, नागको मन्दिर नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको छ । बिशेषगरि काठमाडौंको नागपोखरीमा बिशेष मेला लागेको छ ।

नागका बाह्र नाम रहे पनि अनन्त, वासुकी, पद्म, महापद्म तक्षक, कुलीर, कर्कट र शंख गरी अष्ठनागको पूजा गर्ने चलन रहेको छ । ब्राह्मण पुरोहितहरुले यजमानका घरमा पुगेर विधिपूर्वक पूजाआजा गरी घरको ढोकामाथि टास्ने गर्दछन् । नागको पूजा गरेपछि खेत बारीमा खनजोत गर्न नहुने मान्यता पनि रहेको छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

जुन घरमा नागको पूजा हुन्छ,त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग,सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।