संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड


     नेचर न्युज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।

 तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

पहिले पहिले ढुङ्गा माटोका घरको पछाडी खोपीहरू बनाइन्थ्यो । ती नै खोपीमा विभिन्न प्रजातिका चराले गुँड बनाएर बचेरा हुँकाउँथे । घर वरपरै विभिन्न स्थानीय प्रजातिका रुखहरू हुन्थे ती रुखहरू पनि चराका बासस्थान र गुँड बनाएर बचेरा हुँकाउने चराका घर हुन्थे । सहरीकरण संगै पुराना चरा मैत्री घरहरू हराउँदै गएका छन् । पछिल्लो समयमा बनेका आरसिसी घरहरू चरामैत्री नबनाइँदा पनि यो समस्या आएको छ । चरामैत्री स्थानीय जातका गिदरी, पाखुरी, सिमल लगायतका रुखहरू मासिँदै गएपछि चराकालागि बासस्थान संकट पर्दै गएको छ । सहरी क्षेत्रमा चराकालागि बासस्थान मात्र होइन शुद्ध आहाराको पनि कमी हुँदै गएको छ ।

चरालाई पर्दै गएको विभिन्न संकट मध्ये बासस्थान अभाव झेलेका लाटोकोसेरोकालागि लक्षित गरेर एक सय गुँड बनाएर कास्की र स्याङ्जाका विभिन्न ठाउँमा राखिने भएको हो । लाटोकोसेरोको बढी गतिविधि हुने क्षेत्रमा स्थानीय संग अनुमति लिएर गुँड राखिने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक आचार्यले बताए । यसरी बनाएर राखिएका गुँडमा लाटोकोसेरो आएर बसुन् भन्ने हो । अरू चरा आएर बसेपनि खुसीको कुरा रहने निर्देशक आचार्यले बताए । लाटोकोसेरो संरक्षणकालागि गुँड बनाउनुको साथै लाटोकोसेरो लगायत अन्य चरा, वन्यजन्तु संरक्षणकालागि जनचेतना कार्यक्रम पनि गरिने छ ।

प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्य लाटोकोसेरो संरक्षणकालागि लाटोकोसेरोकालागि बनाउँदे गरेको गुँडको विषयमा जानकारी दिदै ।

चरा संरक्षणकालागि स्थानीय स्तरमा जनचेतना जगाउन गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणदूत पनि छनोट भइसकेको छ । संरक्षणदूतकै समन्वयमा दुई हप्ताभित्र गुँडहरू राख्ने गरी तयारी गरिएको आयोजकले बताएका छन् । जनचेतना कार्यक्रम अन्तर्गत बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्न स्थानीय, विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गरिने छ । वन्यजन्तु, चराचुरुङ्गी चोरी सिकारी नियन्त्रणको साथै सरोकारवालाहरूको क्षमता अभिवृद्धिका लागि सहजीकरण गरिने बताइएको छ । 

लाटोकोसेराका लागि बनाइएका कृत्रिम गुँड ।

संरक्षणकालागि यस अघि नै केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुंङ्गना, ज्योति शर्मा र दीपा गुरुङलाई संरक्षण दूतको कार्यभार दिइएको छ । संरक्षण दूतले एक वर्षसम्म स्वयंसेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जनाइएको छ । यसअघि उनीहरूको क्षमता अभिवृद्धिकालागि तालिमसमेत दिइएको थियो ।