संकटमा पर्यटन उद्योग


     कृष्णमणि बराल    
     वैशाख २६ गते २०७८ मा प्रकाशित


पोखरा: कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले अघिल्लो वर्ष चैत ११ मा लकडाउन लगाउनुभन्दा १ महिनादेखि नै पदयात्रामा रहेका पर्यटक समेत यात्रा छोट्याएर घर फर्किन थालेका थिए । नेपाल घुम्न आउन होटेल बुक गरेका पर्यटक पनि कोरोना संक्रमणको कारण देखाउँदै बुकिङ रद्द गरे। 

त्यसयता विदेशी पर्यटक आगमन शून्य जस्तै छ । पोखरामा पाँचतारे होटेल, रिसोर्ट सहित ७ सय होटलहरु छन् । सबै होटेलमा गरी २५ हजार बढी कोठा छन् । तिनमा व्यवसायीको लगानी ५० अर्ब र बैङ्कको लगानी ७५ अर्ब रहेको पर्यटन व्यवसायीले बताएका छन्। यसै गरी १ सय रेष्टुरेन्ट तथा बारमा १ अर्ब व्यवसायीको लगानी रहेको छ भने बैङ्कले ३ अर्ब लगानी गरेको छ। 

ट्रेकिङ, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिप लाइन, इम्ब्रोइडरी एन्ड गार्मेन्ट सप, पर्यटन यातायात व्यवसाय, ग्रामीण पर्यटनमा समेत गरी खर्बौको लगानी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । यस क्षेत्रको पर्यटन उद्योगमा ४५ देखि ५० हजार जनासम्मले रोजगारी पाएका छन्। 

कोरोना सङ्क्रमण सुरु हुनुअघि नेपाल घुम्न आउन होटेल र पदयात्रा क्षेत्रमा जान समेत योजना बनाएर प्याकेज अग्रिम बुकिङ गरेका विदेशी पर्यटकले कोरोना फैलिन सुरु भएसँगै यात्रा रद्द गरे । होटेल र पदयात्राको कार्यक्रम पनि पछि सारे । यसपछि कोरोना सङ्क्रमण नियन्त्रणमा आउँला र फेरि थलिएको पर्यटन उद्योगले पुनर्जीवन पाउला भनेर ऋण खोजेर बैङ्कको ब्याज तिरेर बसेका व्यवसायी थप मारमा परेको पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्माले गुनासो गरे।

कोरोना सङ्क्रमण घट्दै गएपछि आन्तरिक पर्यटक घुमफिरमा निस्कन थालेका थिए । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि फाट्टफुट्ट देखिन्थे  । पर्यटन व्यवसायीमा आशाका किरण सञ्चार भएको थियो । नयाँ वर्ष सन् २०२१ लाई स्वागत गर्न पोखरामा सडक महोत्सव आयोजना भयो । कोरोना सङ्क्रमण दर केही घटेकोले आन्तरिक पर्यटकको केही चहलपहल पनि भएको सडक महोत्सव आयोजक संस्था रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सुनाए। 

कोरोना सङ्क्रमण दर कम हुँदै गएपछि उत्साहित भएका पोखराका पर्यटन व्यवसायी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपालको विभिन्न सहर समेत पुगे । पश्चिमाञ्चल होटेलसँग पोखराले ‘जाऊँ है पोखरा’ अभियान लिएर बुटवल, नेपालगन्जदेखि वीरगञ्ज, विराटनगर, जनकपुर लगायत सहरमा विशेष छुटका प्याकेज सहित पोखरा घुम्ने निम्तो बाँड्दै पुगे । यो अभियानको कारण पनि देशका विभिन्न सहरबाट पोखरा घुम्न आन्तरिक पर्यटक आउने क्रम बढ्दै रहेको अवस्थामा कोरोनाको दोस्रो लहरसँगै फेरि पर्यटन उद्योगमा शून्यता छाउन थालेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। 

नयाँ वर्ष २०७८ मा पोखरा घुम्न आउने आन्तरिक पर्यटक केही बढेका थिए । नयाँ वर्षको अघिल्लो र नयाँ वर्षको दिन गरी २ दिन पोखराका होटेलमा ३० देखि ३५ प्रतिशतसम्म आन्तरिक पर्यटक थिए । केही भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका थिए । कोरोनाको दोस्रो लहर भारतमा सुनामी जस्तै फैलिएपछि त्यसको प्रत्यक्ष प्रभाव खुला सिमानाका नेपालमा पनि पर्न थाल्यो । योसँगै केही मात्रामा भए पनि चलायमान हुन लागेको पर्यटन उद्योगमा थप सङ्कट देखा परेको पोखरा पर्यटन परिषद् पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। 

कोरोनाले थला परेको पर्यटन उद्योग बचाउने गरी तीन तहकै सरकारले राहतको प्याकेज ल्याउनुपर्ने व्यवसायी बताउँछन् । बजेट खर्च नहुँदा राष्ट्रिय ढुकुटीमा बजेट प्रशस्त मौज्दात छ । ‘मौकामा हिरा फोर्नू’ भने झैँ सङ्कटमा परेको पर्यटन उद्योग बचाउन सरकारले जीवन रक्षाका लागि राहत प्याकेज दिन अब ढिलाइ गरिनुहुन्न ।

कोरोनाले थला परेको पर्यटन उद्योग उठ्न नपाउँदै कोरोनाको दोस्रो लहरको कारण सङ्क्रमण नियन्त्रण गर्न कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ । काठमाडौँ उपत्यकाका  ३ जिल्लामा पनि वैशाख १६ देखि सरकारले निषेधाज्ञामा कडाइ गर्दै आएको छ । सुरक्षाको अनुभूति नभएसम्म घुमफिरमा निस्कँदैनन् पर्यटक । पर्यटक आउलान् होटेलमा बस्देलान्, रेष्टुरेन्टमा खाना खालान् भन्ने आशामा बस्ने पर्यटन उद्योग थप सङ्कटमा धकेलिएको पर्यटन व्यवसायीको गुनासो छ।

पोखराका होटेल, रेष्टुरेन्टमात्र होइन साहसिक खेल बन्जी जम्प, जीप लाइन, अल्ट्रालाइट, प्याराग्लाइडिङ लगायतमा समेत खर्बौँ लगानी रहेको पोखराको पर्यटन उद्योग थप सङ्कटमा पर्दै गएको पर्यटन व्यवसायीले बताएका छन् । कोरोना सङ्क्रमण कम हुँदै गएपछि लामो समय बन्द होटेल रेष्टुरेन्ट पर्यटक आउने आशामा खुलेका थिए । कोरोना सङ्क्रमणपछि होटेलको चापी नै घर मालिकलाई बुझाएर हिँडेका केही पर्यटन व्यवसायी पुनः चलायमान हुने आशामा फर्किएका थिए । केही होटेलमा नयाँ व्यवसायीले लगानी गरेर सुरु गरेका थिए । तर तीव्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरले फेरि पर्यटन व्यवसायीलाई थप निराश र हताश बनाएको छ। 

पोखराको फेवाताल किनारमा रमाउँदै पर्यटक । कोरोना सङ्क्रमणअघि नै पोखरा घुम्न आएका केही पर्यटक नेपाल नै सुरक्षित ठानेर अझै पनि भिसा थपेर पोखरामै बस्दै आएका छन् ।

लकडाउनपछि लेसाइडका ८० भन्दा धेरै होटेल व्यवसायीले चापी बुझाएर व्यवसाय छाडेर गएका थिए । तीमध्ये ३५/४० वटा होटेल अझै बन्द रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । ती बाहेकका ६ प्रतिशत होटेल कोरोना कम हुँदा पनि पर्यटक कम आएकोले सञ्चालनमै नआएको उनले सुनाए । लामो समय पर्यटन व्यवसाय ठप्प हुँदा बैङ्कको ऋण लिएर व्यवसाय गरेको व्यवसायी ठुलो मारमा परेको तुलाचन बताउँछन्। 

लकडाउनपछि लेसाइडका ८० भन्दा धेरै होटेल व्यवसायीले चापी बुझाएर व्यवसाय छाडेर गएका थिए । तीमध्ये ३५/४० वटा होटेल अझै बन्द रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए ।

भाडामा लिएर होटेल, रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीको पनि उस्तै गुनासो छ । ३ महिनादेखि १ वर्षसम्म भाडा छुट गरेका केही घर मालिकलाई पनि आम्दानीको स्रोत नै घर भाडा भएकोले थप समय नदिने अवस्था आएपछि व्यवसायी थप सङ्कटमा पर्दै गएको बताएका छन् । यसै विषयलाई लिएर पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीले यसै साता पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई भेटेर पर्यटन व्यवसायलाई जोगाइराख्न सरकारको पूर्व घोषित पुनर्कर्जा, प्रदेश सरकारले उपलब्ध गराउने भनिएको जीवन रक्षा कोष सहज रूपमा उपलब्ध गराउन सहजीकरण गरिदिन अनुरोध गरे। 

साना व्यवसायीले जीवन रक्षा कोषका लागि आवेदन दिए पनि अझैसम्म सबैले पाएका छैनन् । मौद्रिक नीतिले ल्याएका पुनर्कर्जा पनि सीमित व्यवसायीले मात्र पाएका छन् । सबैले पाउने गरी सहज बनाउनुपर्ने व्यवसायीको माग छ । आगामी आवको बजेटमा पर्यटनलाई रुग्ण उद्योगको रूपमा घोषणा गरेर स्थानीय सरकार, प्रदेश सरकार सङ्घ सरकारले सहुलियतका प्याकेज ल्याउनुपर्ने व्यवसायीको माग छ । 

अघिल्लो वर्ष चैत ११ देखि लकडाउन लगाएसँगै पर्यटन उद्योग ठप्प छ । केही सङ्ख्यामा आएका आन्तरिक पर्यटकले मात्र होटेल रेष्टुरेन्ट सञ्चालन खर्चसमेत नधानेकोले पर्यटन उद्योग डुब्दो डुङ्गाजस्तै भएको छ । आफूहरूले लिएको ऋण चुक्ताका लागि थप ३ वर्ष समय दिनुपर्ने र व्यवसाय बचाउन थप ऋण चाहिए सहुलियतमा प्रवाह गरिनुपर्ने व्यवसायीको माग छ । 

कोरोना सङ्क्रमण नियन्त्रण गर्न दोस्रो लकडाउन हुनु अघि पोखराको लेक साइड स्थित बुमर्याङ रेष्टुरेण्टमा पर्यटकलाई स्वागत गर्न गरिएको सांस्कृतिक कार्यक्रम र खाली टेबलमा बलेको आशाको दियो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक ल्याउने बतायो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि २०२१ को सेप्टेम्बर महिनाभित्रै सञ्चालनमा आउने गरी सरकारले चिनियाँ सरकारी निर्माण कम्पनीलाई जिम्मा दिएर शिलान्यास गरेपछि पर्यटन व्यवसायी उत्साहित भएर बैङ्कको ऋण काढेर पनि पर्यटन क्षेत्रमा लगानी गर्न हाफमाले । सरकारले पनि व्यवसायीलाई लगानी गर्न प्रेरित गरिरह्यो । कोरोना सङ्कट आएपछि विश्व पर्यटन बजार नै थलियो । नेपाल भ्रमण वर्ष कोरोना कहरमा पर्‍यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सम्पन्न हुने समय सीमामा ७५ प्रतिशत काम सकिएको छ । २५ प्रतिशत काम अझै हुन बाँकी छ । 

कोरोनाले थला परेको पर्यटन उद्योग बचाउने गरी तीन तहकै सरकारले राहतको प्याकेज ल्याउनुपर्ने व्यवसायी बताउँछन् । बजेट खर्च नहुँदा राष्ट्रिय ढुकुटीमा बजेट प्रशस्त मौज्दात छ । ‘मौकामा हिरा फोर्नू’ भने झैँ सङ्कटमा परेको पर्यटन उद्योग बचाउन सरकारले जीवन रक्षाका लागि राहत प्याकेज दिन अब ढिलाइ गरिनुहुन्न ।