एकातिरको रोग अर्कोतिरको उपचार


     यमबहादुर गुरुङ    
     वैशाख २८ गते २०७८ मा प्रकाशित


पोखरा : लकडाउनका बेला देब्रे पैतालामा च्वास्स च्वास्स दुख्न थाल्यो । सञ्चो होलाजस्तो लाग्यो तर भएन । बरु कुर्कुच्चो झन् झन् सुनिन थाल्यो । पीडा बढ्दै गएपछि असारको १२ गते पोखरास्थित मेट्रोसिटी हस्पिटलमा डा. भरतबहादुर खत्रीलाई देखाएँ । उनले गर्नुपर्ने परीक्षण गरे । एक्सरे रिपोर्ट हेरेपछि ७ दिनको औषधि लेखिदिए । अहँ सन्चो भएन।

फेरि उनलाई भेटें । सिटीस्क्यान गर्न लगाए । खुट्टाको गर्नुपर्ने सिटिस्क्यान धन्नै टाउकोको गरेका थिए l  सिटिस्क्यान समेत अन्य परीक्षणहरू पनि भए । कुर्कुच्चोमा पानी छ भने । फेरि मेरो शरीरको लागि नयाँ औषधि सुरु भयो । दोस्रोपटकको औषधिले निको भएन । आठौं दिनमा फेरि उनैलाई भेट्न गएँ।

रगत टेस्ट गरेर रिपोर्ट हेरेपछि तपाईंको इएसआर (ESR) (बाथ सँग सम्बन्धित) धेरै आएछ भन्नु भयो । पहिलाको एन्टिबायोटिक अझै सकिएको थिएन । थप औषधि लेखियो।

तर मेरो पीडा भने घटेको थिएन । सन्चो होला नि भन्ने आशामा फेरि भेट्न गएँ । एमआरआई (MRI) गरियो। एमआरआइको प्रतिवेदनले पनि पानी भएको देखायो । फेरि औषधी थपियो । तर ठिक भएन ।

लकडाउनका बेला आउजाउ पनि सजिलो थिएन । निकै सास्तीले आउनु पर्थ्यो  । निजी अस्पतालमा पनि चिकित्सकले गर्ने हतारले यिनले केबल पैसा कमाउन मात्र डाक्टर भएका हुन् भन्ने लागिसकेको थियो।

मेरो दैनिकी कष्टकर बन्दै गएको थियो । अफिस, घर, स्वास्थ्य सबैको व्यवस्थापन गर्नु सहज थिएन । मलाई अति भएपछि साथीको माध्यमबाट एमआरआई रिपोर्ट काठमाडौँ पठाएँ।

डाक्टरले जटिल केही छैन फिस्टेल हस्पिटलमा डा. भोला श्रेष्ठलाई भेट्न भने । मेट्रो सिटीको दिक्दारलाग्दो उपचार छोडेर म फिस्टेलमा पुगें । सबै पुरानो रिपोर्ट हेरियो । कुनै परीक्षण गरिएन।

युरिक एसिडको शंका गरेर नखाने वस्तुको सूची तयार भयो ।  फेरि सुरु भयो नयाँ औषधि । तर २७  दिनसम्म धाउँदा पनि पटक्कै सञ्चो भएन । अन्त्यमा उनले एक पटक काठमाडौं जाने कि भने । तर लकडाउनले गर्दा जानसक्ने अवस्था थिएन । म निराश भइसकेको थिएँ।

फेरि साथीहरूले हरियोखर्क हस्पिटलमा अर्थोको राम्रो डा. दीपक महर्जन छन भने । ‘मर्ता क्या नही कर्ता’ भनेर एक पटक त्यहाँ पुगें । युरिक एसिड ६.६ रहेछ । कसै–कसैलाई यतिले पनि सताउँछ भने । १४ दिन पछिको पुन जाँचमा युरिक एसिड ५ पुगेको रहेछ । उनले थेरापी गर्ने भनेर सुझाए । थेरापी गरेको झन् खुट्टा सुन्निएर थला परें । वैशाखी र वाकरको सहारा लिनुपर्ने भयो । झन् थला परें। ३ दिनपछि सुन्निएको भाग अलि कम भयो तर थेरापीमा जान सकिन।

उपाय केही थिएन । घरमा बसेर युट्युबमा हेर्न थालें । अन्नपूर्ण प्याथ ल्याब महेन्द्रपुलमा कार्यरत बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा. रामकृष्ण गिरीको भनाईं हेरें । मेरो समस्याको सिम्टम मिलेजस्तै लाग्यो र सम्पर्क गरें।

ल्याब टेस्टको रिपोर्टमा बाथ भएको पहिला नै देखाएको रहेछ । तर सयौंथरिका बाथमध्ये कुन हो भनेर यकीन गर्न रगत भारत पठाउनु पर्छ भने। पैसा खर्च भए पनि भारतबाट मेरो रोगको पहिचान भएर आयो। डा. रामकृष्ण गिरीको प्रत्यक्ष निगरानीमा अहिले औषधि सेवन र फिजियोथेरापी गरिरहेको  छु। केही राहत भएको छ तर सहजता अझै छैन । हुँदै जाने छ भन्ने आशा गरेको छु ।

अहिले इएसआर ६५ बाट घटेर ५५  देखिएछ । नर्मल हुन २० हुनुपर्ने रहेछ । यस भन्दा अगाडि फ्याटी लिबर र SGPT(ALT) र SGOT (AST) (जुन कलेजोसँग सम्बन्धित टेस्ट हो) पनि नर्मल थिएन । अहिले नर्मल आएको छ । बाथले केबल जोर्नी मात्र नभएर कलेजो, मृर्गौला, पाचन, स्नायु प्रणालीलाई पनि बिगार्ने रहेछ, जुन मलाई भयो । म जस्तो धुम्रपान ,मद्यपान, चिसो पेय पदार्थ र बजारिया तारेको भुटेको चिल्लो पिरो केही नखाने व्यक्तिलाई पनि यस्तो समस्या भयो ।

यस रोगको लागि प्रभावकारी औषधि SAAZ DS  १०००  एमजी रहेछ । तर औषधि व्यवस्था विभागमा दर्ता नभएकोले नेपालमा नपाउने रहेछ । म अझै त्यो थप डोजको लागि औषधि भारतबाट ल्याउने मानिस खोजिरहेको छु ।

अन्त्यमा,

मेरो यो लेखको अर्थ यो हो कि मेट्रोको ल्याबमा इएसआर ६५ देखिएको थियो । तर यसलाई नजर अन्दाज गरियो । टेस्ट रिपोर्टमा नै बाथ देखिएकोमा बाथको डाक्टरलाई पनि सम्पर्क गर्ने नभनेको हुनाले बेथा छिप्पियो । रिकभर हुन समय लाग्ने भयो । आफ्नो कार्य क्षेत्रभित्रको रोग नभएपछि अरूलाई किन सिफारिस गरिएन होला ? तसर्थ यदि तपाइहरु कसैलाई यस्तो भएको छ भने हड्डि तथा नसा रोगको भरमा मात्र नबस्नु होला । नत्र मैले जस्तो दुख पाउनुहुन्छ l

(यमबहादुर गुरुङ लमजुङ निवासी संरक्षणकर्मी हुन् । उनी समुदायमा आधारित संरक्षणमा रुची राख्छन् )