फेवा देखि गुँदे ताल सम्म संरक्षण साइक्लिङ्ग


     नेचर न्युज    
     फागुन ५ गते २०७७ मा प्रकाशित



विश्व सिमसार दिवस २०२१ को अवसरमा पोखराको फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग गरिएको छ । सिमसार क्षेत्र संरक्षण गरौं भन्ने सन्देश सहित पाेखराकाे सबैभन्दा ठुलाे फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग यात्रा गरिएकाे हाे ।

अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र पोखरा साइकल सिटीद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाका कर्मचारीहरु र पोखरा साइकल सिटीका सदस्यहरु लगाएत ५० जनाले साइक्लिङ्ग गरेका थिए । सहभागीहरुले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकेर जनचेतना जगाउने काम गरेका थिए । हल्लनचोक स्थित डुङ्गा घाटबाट सुरु भएको उक्त कार्यक्रम पृथ्बीचोक, बिजयपुर हुँदै गँुदे तालमा पुगेर समापन भएको थियो । साइक्लिङ्ग कार्यक्रमका सहभागीहरुलाई गुँदे ताल संरक्षण समिति र स्थानीय समुदायहरुले स्वागत गरेका थिए ।

गुँदे तालमा पुगेपछि सिमसारकाे महत्वका बारेमा छलफल भएकाे थियाे । कार्यक्रमको आयोजक संस्था अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय पोखराका प्रमुख अमृत शर्माले कार्यक्रमको उद्देश्य सिमसार क्षेत्र संरक्षणमा जनसहभागीता जुटाउनु रहेकाे बताए ।

सिमसार संरक्षण साथै रामसारमा सुचिकृत पोखरा उपत्यकाका ९ वटै तालहरुलाई साइकल लेनबाट जोडने र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि साइक्लिङ्गको गन्तब्यको रुपमा विकास गर्न सकिने पनि उनले सुनाए । मानिसका लागि मृगौलाको जस्तो महत्व हुन्छ पारिस्थितिकीय प्रणलीमा सिमसारको त्यस्तै महत्व रहने भएकोले यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने पनि बताए । साइक्लिङ्ग कार्यक्रमले वातावरण मैत्री जीवन यापन गर्न सकिने सिमसार संरक्षण र स्वथ्य जीवनमा टेवा पुग्छ भन्ने सन्देश दिएको पनि उनले वताए । कार्यक्रममा साइकल सिटीका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले आँफुहरुले पोखरालाई साइकलको सहरको रुपमा विकास गर्नुपर्छ भनेर निरन्तर रुपमा वकालत गर्दै आएको बताए ।

सन् १९९७ देखि हरेक वर्ष फेब्रुवरी २ मा यो दिवस मनाउदै आइएको छ । यस वर्षको विश्व सिमसार दिवसको थिम Wetlands and water-inseparable and vital for life भन्ने थियो भने नेपालमा “पानी र सिमसार, जीवनको अभिन्न आधार” भन्ने नाराका साथ मनाइएको थियो । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा सिमसार सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धी भएकोे थियो । त्यसै दिनको सम्झनाम हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । नेपालमा यो सन्धी १७ अप्रिल १९८७ देखी कार्यान्वयनमा आएको हो ।

रामसार महासन्धिका अनुसार हालसम्म १७१ राष्ट्रहरु यसको पक्ष राष्ट्रको रुपमा अभिसन्धीमा आबद्ध छन भने २४१६ वटा अन्तराष्ट्रिय महत्वका सिमसार क्षेत्रहरु रामसारमा सुचीकृत भएका छन् । नेपालमा कोशी टापु, बिस हजारी, घोडाघोडी, गोक्यो, गोसाइकुण्ड, जगदिशपुर, माई पोखरी, फोक्सुण्डो, रारा र पोखरा उपत्यकका तालहरु सहित जम्मा १० वटा रामसार साइटहरु रहेका छन् । नेपालका १० वटा रामसार क्षेत्रहरुले जम्मा ६०,५६१ हेक्टर क्षेत्रफल ओगटेका छन् ।