बेल्जियमबाट फर्केर तरकारी र तरबुजा खेतीमा रमाएका किसान कार्की


     कृष्णमणि बराल     
     असार १० गते २०७८ मा प्रकाशित


रोजगारको सिलसिलामा बेल्जियम पुगेका भीष्म कार्कीको सेवा सुविधा राम्रो थियो । ग्रिन कार्ड पनि पाउँदै थिए । त्यहाँको एक स्टोरमा उनी काम गर्थे । राम्रो काम देखेर उनलाई कम्पनीले राम्रै तलब दिएको थियो । बेल्जियम रहँदा उनले महिनामा अढाई लाखसम्म बचाएर घर पठाउँथे। 

दुई छोरा र एक छोरीको पढाइ लेखाइ उतारे । छोराछोरी र परिवार उतै बोलाउनु भन्दा देशमै फर्केर आमाबुवाको सेवा गर्ने र परिवारका साथ बस्ने निर्णयमा उनी पुगे । २०५८ मा बेल्जियम गएको उनी ९ वर्ष बेल्जियम बसाइपछि २०६७ मा नेपालमै केही उद्यम पनि गर्ने निर्णय गरेर घर फर्केको कार्कीले सुनाए । अहिले जेठा छोराबुहारी जापानमा जागिरे छन् । कान्छा छोराबुहारी बैककमा जागिरे रहेका उनले सुनाए । छोरीले स्नातकोत्तर पढेकी छन् । 

५७ वर्षीय कार्की पोखरा ७ रत्नचोक घर भई हाल पोखरा १७ छोरेटापन बस्दै आएका छन् । उनी ८ वर्ष देखि तरकारी खेतीमा रमाउँदै आएका छन् । छोरेपाटनस्थित फुस्रेखोलाको बगरमा तीन वर्षदेखि तरबुजा खेती पनि सुरू गर्दै आएका कार्की अरू तरकारी खेतीभन्दा तरबुजा खेती राम्रो हुन थालेपछि यसैमा आकर्षित भएका छन् । छोराबुहारीले खेती किसानी नगर्न र आरामसँग बस्न भने पनि उनी कृषि कर्ममै रमाएका छन्।

 

फर्मको निरीक्षण गर्न आएका पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियासँग अनुभव बताउँदै किसान कार्की । 

खाद्यान्न, तरकारी सबैले नखाइ नहुने वस्तु हो । कसै न कसैले उत्पादन नगरे यो संसार नै चल्दैन । यसैले धेरै आम्दानीको लोभ गर्नु भन्दा पनि कृषि कर्ममा लागेर आम्दानी पनि हुने र हरियाली वातावरणमा रमाइलो पनि हुने भएकोले यो व्यवसायमा होमिएको उनले सुनाए।

माछा पालन, तरकारी खेती गर्दै आएका कार्कीले अहिलेसम्म ३२ लाख रुपैयाँ कृषि खेतीमा लगाएको बताए। पछिल्लो समयमा पोहोर र परार साल परीक्षण गर्न तरबुजा खेती पनि उनले सुरू गरेका हुन् । परारभन्दा पोहोर तरबुजा खेती राम्रो हुँदै गएपछि यस वर्षदेखि उनले व्यवसायिक रूपमै तरबुजा खेती गरेर आम्दानी लिन थालेका छन् । यस वर्ष उनले एक हजार किलो तरबुजा घरबाटै बिक्री गरिसकेका छन् । बारीमा अझै दुई टन तरबुजा रहेको उनले सुनाए। 

उनको बारीमा सरस्वती, लक्ष्मी र मस्ताना गरी तीन जातका तरबुजा यति बेला लडेका छन् । तरबुजा फल्न थालेपछि फर्ममै खरिद गर्न स्थानीय र व्यापारी आइपुग्ने भएकोले तरकारीको जस्तो बजारको समस्या नरहेको कार्कीले बताए । यस वर्ष पहिलो लटमा लगाएको तरबुजा असिनाले खाएपछि दोस्रो पटक चैत १ गते लगाएका थिए। 

सरस्वती जातको तरबुजा साढे दुई किलोदेखि ४ किलोसम्मको फल्छ । सानो परिवारलाई एउटा खाँदै पुग्ने र अरू भन्दा बढी स्वादिलो हुने भएकोले यो जात ग्राहकमाझ निकै लोकप्रिय भएको उनले सुनाए । लक्ष्मी र मस्ताना ७ देखि १० किलोसम्मको हुन्छ । ठूलो परिवार भएका र व्यापारीले यी जातका तरबुजा मन पराएर लग्ने गरेको उनले सुनाए । तरबुजा रोपेपछी करिब ३ महिनामा तयार हुन्छl

तरकारीले भने  तरबुजाको जस्तो भाउ नै नपाउने उनले बताए । पसलमा ९० भाउ हुँदा आफूले ३० रुपैयाँ किलो बेच्नु पर्ने अवस्था रहेको उनले बताए। 

तरबुजा खेतीकालागि यो वर्ष पोखरा महानगरपालिका कृषि महाशाखाले भिसिडिपीको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत तीनै जातको बीउ र मल्चिङ प्लास्टिकमा सहयोग गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । पोखरामा तीन ठाउँमा तरबुजा खेती सुरू गरिएकोमा भीष्म कार्कीको फर्ममा राम्रो उत्पादन सुरू भएको पनि उनले बताए । तरबुजा घरबाटै जातअनुसार ६० देखि ८० रुपैयाँ किलोसम्म बिक्री हुँदै आएको किसान कार्कीले बताए। 

तरबुजाकालागि गर्मी मौसम उपयुक्त मानिन्छ । समथर भूभाग, नदी, खोला किनारको बलौटे माटोमा यो खेती राम्रो हुन्छ । यो खेती कम समयमा हुने बाली हो । गर्मी  मौसममा राम्रो खेती हुने यो बाली पोखराको मौसममा पनि निकै राम्रो उत्पादन भइरहेको छ । यो बालीको बिउँ उम्रनकालागि २२ देखि २५ डिग्री सेल्सियस तापक्रम सर्वोत्तम मानिन्छ । कार्कीले समुन्द्र सतहदेखि करिब ७ सय ५० मिटरको उचाइ स्थित फुस्रे खोलाको बगरमा तरबुजा खेती गरेका हुन्। 

 उनले २० रोपनी जग्गा वर्षमा २ लाख रुपैयाँ तिर्ने गरी भाडामा लिएर तरकारी, फलफूल र माछा पालन गर्दै आएका छन् । बाँकी केही जमिनमा उनका भान्जाले कुखुरा पालेका छन् । सिजनअनुसारका तरकारी पनि उनले उत्पादन गर्दै आएका छन् । ग्रास कार्प माछा पनि उनको फार्ममा छ । असिना¸ पानी र बाढीले नबिगारेको वर्ष राम्रो आम्दानी हुने उनले सुनाए । धेरै पानी पर्ने, असिना पनि उस्तै पर्ने भएकोले बाली नोक्सानी हुनु किसानका साझा समस्या भएको उनले बताए।

बेल्जियमबाट नेपाल फर्केको सुरूका दिनमा भने उनले निकै दुःख र हन्डर पनि पाए । सुरूमा किराना पसल चलाए । उधारोमा गएर घाटा खाए । त्यसपछि तीनवटा नगर बस, हाइस र ट्याक्सी किनेर यातायात व्यवसायमा होमिए । त्यो व्यवसायमा पनि कर्मचारी इमानदार नहुँदा घाटा नै व्यहोर्नु परेको उनले सुनाए । यसपछि भने उनी कृषि पेसामा होमिएका हुन् । उनलाई खेती किसानीमा श्रीमती बिन्दुले पनि साथ दिएकी छन्। 

कृषि पेसामा मेहनतअनुसार मूल्य नपाइने गरेको उनले सुनाए । आफैले उत्पादन गरेको ताजा अर्ग्यानिक तरकारी खान पाईने र केही रकम वचत हुने भएकोले यसतर्फ आफू रमाउँदै गएको उनले सुनाए । उनको फर्ममा दुईजना मजदुरले नियमित काम पाएका छन् । उनले सरकारलाई नियमित रूपमा कर पनि तिर्दै आएका छन् । अन्तःशुल्क, महानगर र घर भाडा कर सहित वर्षमा २५ हजार तिर्दछन् । ‘अडिट खर्च छुट्टै लाग्छ’ उनले भने।