
‘असल मुङ्ग्रे केरा कि त मही हवस् बेस अमिलो
किता सेता मूला कि त बरु हवस् साग उसको
असल हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरी
भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी !’
–आदिकवि भानुभक्त आचार्य
माथि उल्लेखित आदिकवि भानुभक्त आचार्यका कविताका पङ्क्तिले त्यति बेलाको पहाडी खाजाको स्वादको वर्णन गरेको छ । मुङ्ग्रे केरा, मही, मूला, साग, मकै उति बेलाका खाजा हुन्। यसैभित्रको एक हो मुङ्ग्रे केरा।
मलेखु चांबासको केरा पसलको शृङ्खलाले यात्रुहरूलाई मनै लोभ्याउँछ। भात खान दसैँ पर्खन पर्ने पाखो खोस्रेको घैया, मकै, कोदोले वर्ष गुजार्नु पर्ने नियति भएका स्थानीयहरू अहिले राजमार्ग किनारामा पक्की घर बनाएका छन् । छोराछोरी काठमाडौका बोर्डिङ स्कुलमा पढाउने ,राम्रो लगाउने , मिठो खाने हैसियतमा पुगेका रहेछन् । तिनै पाखामा केरा रोपेर र राजमार्गमा टहरा बनाइ केरा बेचेर यति राम्रो आर्थिक अवस्था बनाएका रहेछन्।
पोखरा र आसपास गण्डकी प्रदेशको फलफूल भनेको निबुवा, ज्यामिर, सुन्तला र केरा हुन । ती पनि हुने खाने सम्भ्रान्तका घरमै हुन्थे। सर्वसाधारणले डहरबाट (बाटो) हेरेरै चित्त बुझाउनु पर्थ्यो । किनेर खान पैसा पनि हुँदैनथ्यो । फलफूल बेच्न पनि हुँदैन भन्थे । यी सबै फलफूल भन्दा रोग कम लाग्ने थोरै परिश्रम मलजल र स्याहार भए हुने केरा प्रमुख फल हुन्थ्यो । विवाह व्रतबन्ध आदि सुभकार्यमा यज्ञ मण्डप तथा प्रवेशद्वार निर्माण गर्न केराको बोट अनिवार्य मानिन्छ।
पछिल्लो समयमा केरा हराउँदै गएको छ । यसरी केरा हराउँदै गयो भने चीन र भारतबाट प्लास्टिकका घरी सहितका केराका थाम आउन सक्छन्।
पोहोर तनहुँबाट पोखरा बसाइसराइ गरेका एक सज्जन विवाहको लागि केराको थाम किन्न आए । मैले बाक्लो भएर हटाउन पर्ने ठाउँबाट केरा उखेलेर लैजान भनेँ । तर उनले एक थाम केरा घरी सहित लैजाने र मागे जति मूल्य दिनेमा कुरा गरे । मैले मलजल नपुगेर दुई काँगियो मात्र फलेको केराको थाम दिएँ । उनको त्यो जिद्वि र मरिहत्ते देखेर निःशुल्क लैजान भनेँ । तर उनले जबरजस्ती हजारको नोट फालेर हिँडे ,जबकि केराको मूल्य एक सय रुपियाँको पनि थिएन । फल सहितको केराको प्रवेशद्वार शुभ मानिने रहेछ।
दक्षिण भारतमा केराको फलकै मूल्य बराबर हरिया पातहरू समेत बिक्री हुन्छन ।केराको पातमा खाना खाने उनीहरूको संस्कृति नै हो । सुभ कार्य भोजभतेर समारोहहरूमा केराको पात नै थालको रूपमा शुद्ध र स्वास्थ्यप्रद र वातावरणमैत्री मानिन्छ l
नयाँ ज्वाइँ ससुराली जाँदा लैजाने पाहुर भनेकै केराको घरी थियो । अति मान्यजन घरमा पाहुना आउँदा केराबाटै स्वागत हुन्थ्यो । केरामा मुङ्ग्रे, धुस्रे, घ्यु, मालभोग, चरीनंग्रे आदि हुन्थे । मुङ्ग्रे केराको एक कोसाले मै हुँ भन्ने मानिस समेत अघाउँथ्यो । मालभोग कोसा साना भए पनि मिठो औषधीय गुण भएको हुन्थ्यो। बोक्रासमेत सँगै खाइन्थ्यो । पुर्कोटे केरा खुला हावामा झुन्ड्याएर राखिदियो भने बोक्रो सुकेर कालै हुन्थ्यो । तर भित्र गुदी ६ महिनासम्म साबुत हुन्थ्यो । हामी केटाकेटीहरू केराको भुत्ला समेत दाँतले कोपरेर प्वाल पर्ने गरी लुछ्थ्यौँ ।
जलवायु परिवर्तन एवं भू उपयोगको अवैज्ञानिक परिपाटीले स्थानीय जातहरूलगायत मालभोग केरा लोपोन्मुख भैसकेको रहेछ । पोखरा र आसपासका गाउँहरूमासमेत भेटिन गाह्रो छ । सबै स्थानीय केरा अझै जोगाउन सकिन्छ ,ढिलो भैसकेको छैन। दुई जातका मालभोग, एउटा चिनियाँ मालभोग र रोबेस्टा जातको दुई तथा स्वादमा अब्बल देख्दा सुन्दर ठूलो घरी हुने एवं रोग प्रतिरोधक भनिएको इजरायली G9 जातको एउटा केराको बोट यही लकडाउनको मौका छोपेर लगाएको छु ।
फलफूलका बोटबिरुवा वास्तवमा खानलाई र उपार्जनलाई भन्दा पनि यिनीहरूसँग खेल्नुको अपूर्व आनन्दको निमित्त हो । जसले अनुभव गरेर हेर्यो, यसको रस उसलाई मात्र थाहा हुन्छ ।
(बिश्व सिग्देल राजनैतिक विश्लेषक तथा सामाजिक अभियन्ता हुन्)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…