वर्षा याममा यसरी पुरिन्छ फेवाताल (फाेटाे फिचर)


     नेचर न्युज    
     असार २२ गते २०७८ मा प्रकाशित


रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिँदै गएको छ। वर्षा याममा ठुलो परिमाणमा गेग्र्यान, कमेरो र माटो थ्रुप्रिंदै जाँदा ताल सङ्कटमा पर्दै गएको छ । जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थुप्रिन्छ। तालको गहिराइ पनि तीव्र रूपमा कम हुँदै गएको छ। 

फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नापी विभागको अभिलेख अनुसार सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवातालको पछिल्लो नापीमा फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा ) कायम गरिएको छ ।

तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गण्डकी प्रदेश सरकारले फेवातालको सिमाङ्कन प्रतिवेदन तयार पार्न समिति गठन गरेको थियो । समितिले पछिल्लो प्रतिवेदन तयार गरेको हो ।

यस वर्ष जेठको अन्तिम साता देखि नै पोखरामा ठुलो पानी पर्‍यो । आइतबार २४ घण्टामा पोखरामा २०५.८ मिलिमिटर पानी परेको थियो । अविरल वर्षापछि ताल बढेर चंखपुर सम्म फैलिएको थियो । पानीको सतह बढेसँगै लकडाउनमा सिमसार क्षेत्र पुरेर घडेरी बनाउन थुपारेको माटो पनि पग्लिएर तालमा आइपुगेको चंखपुरका स्थानीय शंकर अर्यालले सुनाए । यसरी नै ताल पुरिँदै जाने हो भने २०-२५ वर्षमै ताल पोखरीमा परिणत हुने उनी बताउँछन् । ठुलो वर्षा पछि तालको सतह बढेर तालले पुरानो आफ्नो ठाउँ लिएको फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्र जलारी बताउँछन् ।

पानीको सतह बढेपछि तालको मुहानका सिमसार क्षेत्रका घोलमा रहेका जलकुम्भी झार तालमा फैलिएको छ । जलकुम्भी झारले जलारी समुदायका माछाका केज ढाकेको छ । हिलोले पनि केज पुरिदा लाखौँ नोक्सान भएको सहकारीका अध्ययक्ष इन्द्र जलारी बताउँछन् । ताल पुरिनबाट जोगाउन तालको सिरानमा रहेका हर्पन खोला, अँधेरी खोला, लौरुक खोला र बेतयनी खोलाबाट आउने माटो र ढुङ्गा रोक्न ड्याम र सिल्टेसनपोखरी गत वर्ष पोखरा महानगरपालिका र गण्डकी सरकारले बनाएको छ । कमेरो र हिलो माटो भने निरन्तर तालमा मिसिएकै छ ।

ताल पुरिएर तालको मध्य भागमै जमिन पल्टेको छ । त्यही जमिनमा स्थानीय किसानले गत वर्ष देखि धान रोप्दै आएका छन् । यस वर्ष पनि ताल भित्रकै जमिनमा किसानले धान रोपे । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताल पुरिएर बनेको जमिनमा धान रोप्नु मूर्खता भएको र त्यसक्षेत्रकाे माटो झिकेर पुरानै अवस्थामा कायम गर्ने बताएका छन् l तर व्यवहारमा भने त्यो देखिएको छैन ।


तस्बिरहरू (कृष्णमणि बराल )

हिलाम्य फेवाता ।
कमेराे माटाे बाेकेर ताल तर्फ बग्दै हर्पन खाेला ।
तालमा मिसिदै हिलाे र खेतमा फैलिएकाे जलकुभ्मीझार झिक्दै किसान ।
फेवातालमा मिसिदै कमेराे र माटाे ।
चखपुरबाट देखिएकाे फेवालताल र सिमसार क्षेत्र ।
अविरल वर्षा पछि तालकाे सतह बढेर बाराहीघाटमा जलमग्न प्रतिक्षालय ।
ताल पुरिएर बनेकाे ताल क्षेत्रमा राेपीएकाे धान ।
हाल सम्म भएका अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल ।