
२०७५ साल असार महिना । अध्ययनको सिलसिलामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न गाउँहरू पुगेको थिएँ । मानव र बाँदर बिचको द्वन्द्वसम्बन्धी खोज गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ ।मौसमले भने खासै साथ दिएको थिएन । यो अध्ययनका लागि उपयुक्त समय पनि रहेनछ।
मानिसहरू धानको बिउ काढ्ने, आली लगाउने, खेत रोप्ने काममा व्यस्त थिए । उनीहरूलाई रोपाइँको चटारो थियो । म भने बाँदर देख्नै नपाइने हो कि भन्ने चिन्तामा थिएँ । पहिलोपटक असारमा जाँदा मैले कुनै बाँदर गाउँमा देखिन । म फर्किएँ । दोस्रोपटक म पुन: असोज महिनामा गएँ । यसपटक मैले रातो बाँदर र नेपाली लङ्गुर देखेँ । तर स्थानीयहरूले बाँदरको अर्को एक प्रजाति पनि आउने गरेको सुनाए । त्यो पहरे बाँदर हुन सक्ने मेरो अनुमान रहेको थियो ।
बाँदरहरू विशेष गरी मकै पाक्ने बेलामा बढी आउने रहेछन् तर अहिले खेतका मकै पाकेर थन्क्याइसकिएको थियो । तिनै खेतमा मानिसहरू धान रोप्दै थिए । पाखो बारीमा मकै पाक्ने बेला भैसकेको थिएन । मकै पाकेका बेला बारी भरी छपक्कै हुने बाँदर अहिले देख्नै गाह्रो थियो ।
भगवान् रामका परम मित्र हनुमानको अनुहार र पुच्छर समेत बाँदरसँग मेल खाने भएका कारण कतिपय स्थानमा बाँदरलाई हनुमानका सन्तानको रूपमा समेत मान्ने चलन छ । आफैलाई धेरै सताएका बाँदरलाई यस ठाउँमा खासै महत्त्व दिएको पाइएन ।
जब मकै पाक्ने बेला हुन्छ तब बाँदरका हुल आएर मकै सखापै पार्छन् । धानको बाला राम्रोसँग पाक्न पाउँदैन नत कोदो नै राम्रोसँग थन्क्याउन पाइन्छ । तरकारी फलफूलको कुरै नगरूम् । बाँदरले गर्ने क्षतिको बयान गरिसाध्य छैन। मकै कुर्न त गोठ नै बनाएर हेरालो नबसे एउटा घोगासम्म भित्राउन पाइँदैन् । यी गुनासाहरू अध्ययनका लागि प्रश्नावली सोध्दै गर्दा ल्वाङ्गघलेल वडा नं. ८ र ९ मा बस्ने अधिकांश महिलाहरूले सुनाएको गुनासो हो ।
क्षतिको मात्रा गाउँ बस्तीका बिचमा र जङ्गलको नजिकका घरमा फरक छ । जङ्गल नजिकका घरहरूमा वर्षभरिमा तरकारी, अन्नबाली र फलफूलसमेत गर्दा औसतमा ४० हजार प्रतिघर हाराहारीमा क्षति गरेको मेरो अध्ययनबाट रहेको छ l गाउँबस्तीका बिचमा खेतीपातीमा गर्ने क्षतिको मात्रा भने तुलनात्मक रूपमा कम छ ।
‘पहिले गाउँमा मानिसहरू बस्थे, जीवन यापन यतै चल्थ्यो । सबै घरका मानिस खेतीपाती गर्थे। चहलपहल निकै हुन्थ्यो । अहिले युवाको पसिना खाडीमा बेचिएको छ । गाउँमा युवा भेटिँदैनन् । दुई चार पैसा जोरजाम गर्न सक्नेका बच्चा बच्ची पनि बजारमा पढाउनका लागि लगिएका छन् । काम गर्न सक्ने जनशक्ति गाउँमा नभएका कारण खेतबारी बाँझै छन् । यिनै बाँझो खेतमा बढेको वन बाँदरको दोस्रो घर भएको छ । गाउँमा मानिस घट्दै छन् तर बाँदर बढ्दै छन्’ । प्रश्नावली सोध्दै गर्दा दुखेसो पोख्दै घलेलका ९० वर्षीय गोपीराज गुरुङले बताएका यी कुराहरू अझै पनि मेरो स्मरणमा ताजै छन् । उनले थप भनेका थिए ‘हामीले लगाएको खेती हाम्रा लागि मात्र नभएर बाँदरलाई पनि भएको छ । यी बाँदर न धपाउन सकिन्छ, न मार्न पाइन्छ, न त मार्न नै सकिन्छ, न त कुनै समाधान नै छ।’
अति भएपछि गाउँलेले पासो पनि थापे । बाँदर पासोमा पर्यो । मार्नको लागि लट्ठीले घोच्दा बाँदर रुन थाल्यो, हातै जोडेजस्तो गर्यो । त्यसपछि माया लागेर आयो र गाउँलेले मार्न सकेनन् । कुनै प्राणीलाई पासोमा परेर बीभत्स मार्न त्यति सजिलो पनि छैन ।
उनले आफ्ना अनुभवहरू खुलेरै बताउँदै भने ‘धेरै वर्ष पहिले संरक्षण क्षेत्र घोषणा हुनु अगाडि बाँदर मार्नका लागि गाउँमा जालो थापिएको थियो पासोको रूपमा । त्यस समयमा मुस्ताङका मानिसहरू हिउँदको जाडो छल्न हिमालबाट पहाड झर्थे l गाउँ-गाउँमा व्यापार गर्न पुग्थे । गफगाफका क्रममा एकपटक बाँदरले साह्रै दु:ख दिएको बताएपछि एकजना व्यापार गर्न आउने मुस्ताङीले गाउँमा पासो र बाँदर मार्ने साँचो बनाउन सिकाए । त्यसबखत एकपटक पासोमा बाँदर मरेपछि धेरै वर्ष बाँदरले दुख दिएन । सायद त्यस समयमा मानिसको सङ्ख्या धेरै भएको र चहलपहल बढी भएर डराएको भएर पनि होला । तर आज थोरै खेतमा लगाएको खेती पनि जोगाउन निकै धौ धौ भएको छ ।’
एकातिर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले समग्र वन्यजन्तु संरक्षणको कुरा गर्छ । यस ऐन अनुसार बाँदर मार्न पाइँदैन । तर गाउँघरतिर खेतीपाती जोगाउनै सकस छ । बाँदर धपाउनमै समय बित्छ। यसको समाधान संरक्षण क्षेत्रले दिन सकेको छैन । बल्ल-बल्ल लगाएको खेतीको विनाशमा गाउँलेले केही पाएका छैनन् । अति भएपछि गाउँलेले पासो पनि थापे । बाँदर पासोमा पर्यो । मार्नको लागि लट्ठीले घोच्दा बाँदर रुन थाल्यो, हातै जोडेजस्तो गर्यो । त्यसपछि माया लागेर आयो र गाउँलेले मार्न सकेनन् । कुनै प्राणीलाई पासोमा परेर बीभत्स मार्न त्यति सजिलो पनि छैन ।
अन्य केही उपाय नलागेपछि गाउँलेले कुकुर पालेका छन् । थाल पनि ठटाउँछन् । गाउँले मिलेर धपाउँछन् पनि । बारीमा बुख्याचा पनि राखेका छन् ।गाउँलेले बाँदरबाट हुने क्षति जोगाउन अलैची खेती सुरु गरे। आजकल त बाँदरले यसलाई पनि विनाश गर्न थालेको छ । अम्रिसो पनि च्यातच्युत पार्छ । गाउँले हैरान भएका छन् ।

स्थानीय मानिसकाअनुसार साना बच्चा र महिलाहरूलाई बाँदर झम्टिन आउँछन् । वयस्क पुरुषहरूसँग भने अलि डराउँदा रहेछन् ।
प्रश्नावली सोध्नेक्रममा स्थानीय पदमबहादुर बि.क. भन्छन् ‘बाँदरको हुलबाहेक अर्को एक्ले बाँदर पनि हुन्छ। यो बाँदर बारीमा पसेर सखापै पारेको अत्तो पत्तो हुँदैन । बाँदरले गरेको क्षतिको हिसाब गर्ने हो भने खेती गरेर फाइदा छैन।’
केही किसानहरू यही समस्याले गर्दा पलायनसमेत भएका छन् । अध्ययनका क्रममा किसानहरूले गाउँ घर नजिकका निजी जग्गामा बढेको वनलाई कम गर्न सके बाँदर घरघरै आउदैनथ्यो भन्ने सुनाएका थिए । यसका लागि निजी जग्गामा हुर्केका काठ काटेर बेच्ने प्रक्रिया सहज बनाउन, बाँदरले गर्ने क्षतिमा राहत दिन र बाँदरबाट खेतीपाती जोगाउने उपायसमेत खोजिदिनका लागि संरक्षण क्षेत्रको कार्यालयलाई भनिदिन अनुरोध गरेका थिए । मैले यही लेखमार्फत सबैलाई समस्याको समाधान खोज्न अनुरोध गर्दछु ।

(लेखक सुजना अधिकारी वातावरण विज्ञानमा स्नातकोत्तर हुन् । उनी वन्यजन्तुसम्बन्धी अध्ययन अनुसन्धानमा रूची राख्छिन्)।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…