
गुँडको खोजी र अनुगमन
२०७६ चैत्र ११ गतेदेखि मुलुकमा कोरोना रोग नियन्त्रणका लागि लकडाउन गरेपछि नेपाल सरकारले आफ्ना धेरै कर्मचारीलाई फुर्सदिलो बनायो। प्रकृति संरक्षणमा खटिएका कर्मचारीलाई भने त्यो छुट भएन। वन्यजन्तुको संरक्षणमा संलग्न राष्ट्रसेवकहरूले आ-आफ्नो क्षेत्रको संरक्षणको काम गर्नु पर्दथ्यो ।
मैले पनि चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्यभार हेरेको थिएँ । निकुञ्जमा अरूले आ–आफ्नो शाखाहरूको काम सम्हालेजस्तै। चैत्रदेखि असारसम्म घडियाल गोहीको प्रजनन समय भएकोले सो काममा ध्यान दिनु पर्ने अवस्था रह्यो। विगत वर्षहरू जस्तै घडियालले नारायणी र राप्ती नदीका बगरमा बनाएका गुँडहरू खोज्ने, घडियाल गोहीले पारेका अण्डाहरूको अनुगमन गर्ने, अण्डाहरू सङ्कलन गरी प्रजनन केन्द्रमा ल्याई व्यवस्थापन गर्नुपर्ने चटारो छँदै थियो ।
गुँडहरूको अनुगमन र अण्डा सङ्कलन कार्यका लागि डुङ्गा लिएर नदीमा गएर बगरमै वास वसी नदी किनारका बगरमा घडियालका गुँड र अण्डाहरूको खोजी गर्नुपर्ने कामले व्यस्तै बनायो । गुँड खोज्न डुङ्गाबाट उँधौली उभौली गर्नुपर्दथ्यो । ठाउँ-ठाउँमा डुङ्गाबाट ओर्लेर घडियालको गुँड खोज्दा चैत्र–वैशाखको चर्को घाममा नाङ्गो पैताला बालुवामा फसक्क फसक्क गरेर हिँड्दा आथा-आथा हुने गरी पैताला पोल्थ्यो/टट्टाउँथ्यो।
यसले पैताला पोल्ने र चिलाउने रोग निको पार्छ भन्ने स्थानीय माझी समुदायमा विश्वास छ। यो एउटा प्राकृतिक थेरापी पनि हो। हावा हुरी लागेको र पानी परेको अवस्थामा मात्र बगर छेउमा बोटेहरूको अस्थायी छाप्रोमा रात बिताउन सकिन्थ्यो। सामान्य अवस्थामा भने नारायणी नदीको बगरमै शीतल हावा र नदीको कलकल ध्वनिसँगै बालुवाकै डसना, बालुवाकै सिरानी बनाएर सुत्ने कार्य हुन्छ।
यो अवस्था अरूलाई त कस्तो महसुस होला थाहा छैन तर मलाई भने बेग्लै आनन्दको अनुभूति हुन्थ्यो । यहाँसम्म हुन्थ्यो की हावाहुरी लागेको वेलामा कहिलेकाहीँ राति भोक-भोकै सुत्नु पर्दथ्यो भने कतिपय अवस्थामा भात खाई रहेको वेलामा हावाले बालुवाका कण उडाएर भातमा हालिदिन्थ्यो, खाँदा किरिङकिरिङ लाग्दथ्यो कहिलेकाहीँ खानै सकिँदैनथ्यो र भातमा पानी राखेपछि बालुवा थिग्रिएर तल बस्दा माथिको भात निकालेर नुन खोर्सानी छरेर पनि खाइन्थ्यो ।
बिहान उठ्दा अघिल्लो दिनको सबै थकान हराई सकेको हुन्थ्यो । शरीरमा कुनै पनि रोग छैन भन्ने महसुस हुन्थ्यो। मेरो विचारमा शरीर चुस्त दुरुस्त र तन्दुरुस्त भएको अर्ग्यानिक आनन्द पाँचतारे होटेलमा बस्नेले पनि लिन सक्दैनन् होला । भोजनको रूपमा बोटेहरूसँग रहेको कनिका चामलको भात, जङ्गली साग सब्जीको पिरो झोलिलो तरकारीसँग पसिना पुछ्दै र चुडा/चुवारी (नदी बगिरहेको किनारमा खाल्टो खनेपछि रसाएर उपलब्ध हुने पानी, जसलाई वोटेहरूले चुडा र थारू, कुमाल र मुसहर जातिले चुवारी भन्छन्) को पानी खाइन्थ्यो।
यो अवस्था अरूलाई त कस्तो महसुस होला थाहा छैन तर मलाई भने बेग्लै आनन्दको अनुभूति हुन्थ्यो । यहाँसम्म हुन्थ्यो की हावाहुरी लागेको वेलामा कहिलेकाहीँ राति भोक-भोकै सुत्नु पर्दथ्यो भने कतिपय अवस्थामा भात खाई रहेको वेलामा हावाले बालुवाका कण उडाएर भातमा हालिदिन्थ्यो, खाँदा किरिङकिरिङ लाग्दथ्यो कहिलेकाहीँ खानै सकिँदैनथ्यो र भातमा पानी राखेपछि बालुवा थिग्रिएर तल बस्दा माथिको भात निकालेर नुन खोर्सानी छरेर पनि खाइन्थ्यो ।
भन्नेले भन्लान् यस्तो दुःखको काम किन गरेको होला ? के दुःख नगरीकन संरक्षण हुन्छ र ? के टाई सुट लगाएर भाषण छाँट्दैमा संरक्षण हुन्छ ? मालिक मात्र बनेर संरक्षण हुन्छ ? पक्कै हुँदैन, जसका लागि फिल्डमा पैताला बजार्नु पर्छ । संरक्षणकालागि सच्चा नोकर नै बन्नु पर्छ, जसले गोठाले जीव विज्ञान सिकाउँछ र अन्ततोगत्वा संरक्षणमा टेवा पुग्दछ ।

घडियालको अण्डा सङ्कलन
त्यस्तै २०७७ वैशाख दोस्रो सातातिर कोभिडको लकडाउन कै बेला हो । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन गर्न एका बिहानै कसरादेखि सौराहा घाटसम्म निकुञ्ज भित्रभित्रै भएर गाडिबाट प्राविधिक द्वय प्रेम शर्मा, राम माझी यो पङ्क्तिकार गयौं ।
रापती घाटमा सोमलाल वोटेले डुङ्गा तयारी अवस्थामा राखेका रहेछन्। वोटेले बन्दोबस्तीका सामानसहित दुधौरा बगर क्षेत्रमा पुरयाए । अनुगमनमा रहेका घडियाल गोहीका १३ वटा गुँडमध्ये बाढीले बगाउन सक्ने सम्भावना रहेका ५ गुँडका अण्डाहरूमात्र सङ्कलन गरियो। गुँडबाट निकालेका घडियाल गोहीका अण्डालाई गाडिमा राखी ढुवानी गर्दा फुट्ने तथा अण्डाको पहेँलो भाग (रानी) हल्लिने, खोलिन सम्भावना रहन्छ । जसबाट बच्चा पैदा हुन मुस्किल पर्छ। अतः सबै सङ्कलित अण्डाहरू प्रजनन गराउन डुङ्गामै राखी सुरक्षित तवरले घडियाल प्रजनन केन्द्रमा लैजानु नै उचित थियो।
सङ्कलित अण्डाहरू डुङ्गामा लिएर राप्ती नदीबाट हामी तलतिर गोही प्रजनन केन्द्रतर्फ प्रस्थान गर्न लाग्दा मौसममा बदलाव आई आकाश कालो मैलो भयो। केही समयपछि डुङ्गे यात्रामा रहेका हामी सबैलाई हावाहुरी, चट्याङ र असिना पानीले १ घण्टा जति नराम्रोसँग चुट्यो। हावाहुरीको प्रभावले ठाउँ–ठाउँमा नदी किनारका भेल्लर/पिठारीका रुखहरू बिच भागबाटै नराम्रैसँग परक्कै भाँच्चिए । धन्न हामीलाई केही भएन।
रापती नदीको किनारको वेलसार बगरमा काले वोटेले हामीलाई खाना पकाएर पर्खँदै थिए । बेजोडको वर्षाबाट आफू त्रिपालभित्र बसेछन र डुङ्गा घोप्टाएर खानालाई बचाएर राखेका रहेछन्। तर निथ्रुक्क भिजेको,चिसोले लगलग कामेको शरीर सँभाल्न गाह्रो भएको अवस्थामा बल्लतल्ल डुङ्गाबाट लर खरिदै ओर्लिएर खाएको खानाको स्वाद र त्यस दिनको दुःख वेदनाहरू जीवनभर भुल्न नसकिने खालको थियो ।
त्यसै गरी नारायणी नदीको त्रिवेणी नजिक भेलौजी बगरमा रहेका ९ गुँड मध्ये ४ गुँडहरूबाट गोहीका अण्डाहरू सङ्कलन गरी रातारात डुङ्गाबाटै करिब ६० कि.मी.माथि तानेर प्रजनन केन्द्रमा ल्याइयो । पानीको बहावको उल्टो दिशामा डुङ्गा चलाउन कठिन र समय लाग्ने हुन्छ।
त्रिवेणीबाट नारायणी नदी किनारको बगुवन पोस्ट अगाडिको बगरमा पुग्दा रात परेकाले वास बस्नु पर्यो । खाना खाएर बगरमा एक निन्द्रा पल्टेपछि करिब रातको १ बजे पुनः डुङ्गा माथितिर धकेल्दै-धकेल्दै जलयात्रा गर्दा गैंडाखासा भन्ने स्थानमा पुग्दा झिसमिसे उज्यालो भएछ। रतनपुर भन्ने स्थान नजिकैको भङ्गालोमा पुग्दा नदी किनारमा बाघले पानी मज्जाले चाटी रहेको आमने–सामने जस्तै देखियो।
भनिन्छ, सिकार खाएपछि बाघले पानी खान्छ। रातमा बाघले सिकार खाएको थियो होला र एकाबिहानै नारायणी किनारमा आएर पानी खाएको हुनु पर्दछ। जङ्गलमा बाघ देखेमा प्रकृतिप्रेमीले आफूलाई भाग्यमानी ठान्दछन् । एक छिनलाई फुरुङ्ग रमाएर संसार जितेजस्तो गर्छन् । यस्तो महसुस हुनु स्वाभाविक पनि हो। जङ्गल गएर आनन्द नलिने हो भने कहाँ गएर लिने हो र ? जङ्गलमा बाघको दर्शनले एउटा जीवित प्राकृतिक अर्ग्यानिक आनन्द दिन्छ जसबाट जङ्गल चाहार्नेहरूलाई एक किसिमको शक्ति प्राप्त हुन्छ र थकान हराउँदछ।
सङ्कलित अण्डाहरूको प्रजनन तथा गुँडहरूको निरन्तर निरीक्षण
चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्षको चैत्र–वैशाख महिनामा नारायणी र रापती नदीका किनारहरूमा पाइने घडियालका गुँडहरू पत्ता लगाउने, त्यसको नियमित अनुगमन गर्ने र समय भन्दा छिटो आउन सक्ने बाढीले बगाउन सक्ने गुँडहरूका गोहीका अण्डाहरू सङ्कलन गरी प्रजननका लागि व्यवस्थित गर्नु पर्ने हुन्छ । मुलुक कोरोना महामारीबाट आक्रान्त रहेता पनि यो जिम्मेवारी पूरा गर्नु नै पर्थ्यो र गरियो पनि।
किनकि अण्डा सङ्कलन कार्य समयमै गर्नु पर्ने हुन्छ । अर्को महिना गरौँला भन्यो भने समय गुज्रिसक्ने हुन्छ। घडियालका अण्डाबाट बच्चा कोरलिने प्रक्रिया गुँडमा रहेको बालुवाको तातो र चिसोपन, ओस (आर्द्रता) मा भर पर्ने भएकाले बेलाबेलामा गुँडको निरीक्षण सदैझैँ गोठाले ज्ञान विज्ञान पद्धति अपनाएर गरियो ।
सबै अभ्यास र प्रयासका कारण ७० प्रतिशत सङ्कलित अण्डाहरूबाट घडियालका बच्चा कोरलिए । फरक–फरक गोही प्रजातिका लागि फरक–फरक स्थानीय उपचार पद्धति (गोठाले ज्ञान विज्ञान) हुन्छन । गोठाले प्रजनन विज्ञानलाई बुझेर बेलैमा अँगाल्न सके प्रजनन प्रतिशत बढाउन सकिन्छ, होइन भने लगनपछिको पोतेको के काम ? पछुताउनु बेगर अरू केही हात लाग्दैन । घडियाल प्रजनन गराउन गोठाले जीव विज्ञानलाई अँगाल्न सकेमात्र सफलता हाँसिला हुन्छ ।

बच्चा घडियालको स्याहार तथा अनुगमन
घडियाल प्रजनन केन्द्रमा उत्पादन गरिने घडियालका बच्चाहरूलाई दैनिक गर्नुपर्ने आहारा व्यवस्थापन लगायत दाँतमा लाग्ने ढुसी नियन्त्रण (पोटास पानीले दाँत सफा गरेर) र आहारा खान नखोज्ने बच्चाहरूलाई हातैले माछा खुवाउने जस्ता कार्यहरू र त्यसको अनुगमन दैनिकी जस्तै भए । प्राकृतिक रूपमा नदी किनारमा नै कोरलिएका बच्चाहरूको अवस्थाबारे जानकारी लिने जिम्मेवारी समेत पूरा गर्नु पर्दथ्यो।
हुन त यस्ता व्यवस्थापकीय र प्राविधिक कार्य सालिन्दा नै गरिरहेकै हो तर कोराना महामारीको समयमा अन्य वर्षहरूको तुलनामा नदीहरूमा विशेष उपस्थिति देखाउनु पर्ने अवस्था थियो। किनभने मानिसहरू कोराना महामारी र लकडाउनका कारण गाउँ-गाउँमा फर्केका थिए र फुर्सदिला पनि थिए । वर्षा याममा निकुञ्जका कर्मचारीहरू गस्तीमा आउँदैनन् भन्ने धारणाले मानिसहरूले घडियाललाई आघात पुराउने काम गर्न सक्ने सम्भावना रहन्छ। त्यसैले वर्षा याममा समेत पटक-पटक रापती नदीको सुनाचुरीदेखि नारायणी नदीको त्रिवेणीसम्म २ सय कि.मी. राफ्टबाट अनुगमन गरियो।
यसरी नदीमा अनुगमन गरे मध्येको २०७७ असार १५ को अनुगमन अविस्मरणीय छ । जलयात्रामा यो पङ्क्तिकार, विकाश पाठक, वोटम्यान आईतराम वोटे र शन्त वोटे सहभागी थिए । त्यस दिन पनि रापती,रिऊ दोभानमा बाघ देखियो । रापती दोभानसम्म पुगेर विकाश पाठक फर्किनु भयो र अमलटारीबाट जलयात्रामा डि.वि. चौधरी संलग्न हुनु भयो । यात्रामा नारायणीमा सर्वत्र पानी मात्र देखिन्थ्यो । बगरका टप्पु देख्नै मुस्किल थियो ।
बादलले ढाकेको दिन भएर त्यस दिन शीतल थियो । कुकरमा पाकेको भात र तामा मिसाएको पिरो गेडागुडीको झोलिलो तरकारी भोजनका लागि लिएर गएका थियौँ । अमलटारी क्षेत्रमा पुगेपछि नारायणी नदीको बिचमा रहेको सानो टप्पुमा विश्राम गर्दै खाना खाँदाको आनन्द जीवनभर कहिल्यै नबिर्सने खालको थियो । सामान्यतया राफ्टबाट कसरादेखि त्रिवेणी पुग्न २ दिन लाग्दछ तर बिहानै ७ बजे नै जलयात्रा सुरु गरेकोले दिउँसो २ बजे नै त्रिवेणी पुगेका थियौँ । कहीं-कहीं नारायणीको छालमा राफ्ट उडाएजस्तो भान हुन्थ्यो, डरले त होला आँखा चिम्लेर राफ्टको डोरी अट्ठाइन्थ्यो । यसको आनन्द वर्णन जति गरे पनि कमै हुन्छ। संरक्षणको काममा पाउने भनेको यही आनन्द त हो नि ।

(लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)






प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…