
लोप भएको अनुमान गरिएको जङ्गली बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकाे मादी गाउँपालिकामा क्यामेरा ट्यापिङ्गमा तस्बिर कैद भएपछि संरक्षणकर्मीहरूमा खुसी छाएकाे छ l यस क्षेत्रमा पहिले अभिलेख भएर पनि करिब ५० वर्ष सम्म नदेखिएकाे जङ्गली बँदेल स्वचालित क्यामेरामा कैद भएपछि संरक्षणकर्मीहरूमा खुसी छाएकाे हाे ।
अन्नपूर्ण क्षेत्रको कास्की जिल्ला अन्तर्गत मादी गाउँपालिकामा अभिलेख गरिएको जङ्गली बँदेल करिब ५० वर्षपछि पुनरागमन भएको स्थानीयले बताएका छन् l यत्रो लामो समयसम्म बँदेल कता लुकेको थियो भनेर स्थानीयहरू अचम्मित छन् । स्थानीय गेहेन्द्र गुरुङले आफु सानै छदा वन क्षेत्रमा निकै देखिने जंगली बँदेल हराइसक्यो भन्ने भइरहेको अवस्थामा पुन देखियो भन्ने समाचारले अचम्मित र निकै खुसी तुल्याएको बताए । वर्षौ भयो बँदेल नदेखिएको । कहिँ कतै पनि बँदेल देखिएकाे भन्ने सुनिएको थिएन । गाउँले सबैलाई अव हरायो होला भन्ने लागिरहेको अवस्थामा देखिनुले अव फेरि हराउने, नदेखिने अवस्था नआउने गरि संरक्षणमा लाग्न प्रेर्णा मिलेको उनले सुनाए ।
‘प्रकृतिका साथीहरू’ संस्थाले वन्यजन्तु अन्सन्धानकालागि राखेकाे क्यामेरा ट्यापिङ्गमा जङ्गली बँदेलकाे तस्बिर कैद भएकाे हाे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको अनुमतिमा सञ्चालित सो क्यामेरा ट्यापिङ्गको नेतृत्व ‘प्रकृतिका साथीहरू’ संस्थाबाट यादव घिमिरे, विकास घिमिरे, सुमन सापकोटा र राजु आचार्य सहितको समूहले गरेका थिए l
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय सिक्लेसका प्रमुख उत्सव न्यौपानेले याे समाचार निकै खुसीकाे समाचार भएकाे बताए । लाेप भएकाे अनुमान गरिएकाे बँदेल पुन देखिएकाेले अब यसलाई संरक्षण गर्न र लोप हुने अवस्था आउन नदिन आयोजना र स्थानीय समुदायको पहलमा थप प्रभावकारी संरक्षणका कार्यक्रम ल्याएर अघि बढ्ने बताए । संरक्षण क्षेत्रबाट लाेप भएकाे अनुमान गरिएकाे जङ्गली बँदेल पुन देखिएपछि संरक्षणकर्मीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रभावको रूपमा पनि अर्थ्याई रहेका छन् l
वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाहले बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकै कुनै भागमा सानो सङ्ख्यामा भएकोले लामाे सयमसम्म नदेखिएकाे हुनसक्ने बताए । वर्षमा २ पटकसम्म ब्याउने यिनीहरूले सुरक्षित महसुस गरेर अहिले यिनको सङ्ख्या बढेर देखिएको हुन् सक्ने वन्यजन्तु विज्ञ शाहले सुनाए l अर्को कारण यस क्षेत्रमा सिकार निक्कै घट्यो र समुदायले संरक्षण राम्रोसँग गर्यो । सोही कारणले नजिकका सामुदायिक वन र अन्य क्षेत्रबाट यो क्षेत्रमा आउन थालेकाे हुन सक्ने पनि उनले बताए ।
२ दशकदेखि सो क्षेत्रमा अनुसन्धान र संरक्षणमा सहभागी अनुसन्धानकर्मी यादव घिमिरे भन्छन् ‘वन कुकुरको मुख्य आहारामा बँदेल पनि पर्छ l यो हुनु भनेको कुकुरको दीर्घकालीन रूपमा खाना सुनिश्चित हुन्छ l यो दुईमध्ये कुनै एकको संख्यामात्र तलमाथि पर्यो भने स्थानीय समुदायमा द्वन्द्व निम्तन्छ l हालका केही वर्षदेखि यो क्षेत्रलाई वन कुकुरले लिन खोज्नु र भर्खर बँदेल पनि देखिनुले, मांसाहारी जिवहरूकोलागि प्रशस्त खाना उपलब्ध छ भन्ने प्रस्ट देखिन्छ l किनभने यो क्षेत्रमा पहिला देखि नै रतुवा, घोरल, थार, बाँदर, लङ्गुरको पनि राम्रै उपस्थिति थियो l बँदेलको माध्यमबाट आहारा थप हुँदा, वनका हिंसक जीवहरू गाउँतिर आउने सम्भावना न्यून हुन्छ’l
अनुसन्धानकर्मी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका संरक्षण अधिकृत ऋषि बरालले भने ‘सम्भवतः अहिलेको अभिलेख नै अन्नपूर्ण क्षेत्रको लागि बलियो र पहिलो प्रमाण हो’ l बँदेल र वन कुकुर जस्ता जीवहरूको पुनरागमनले संरक्षणकर्मीहरू खुसी भए पनि, यो खुसी कति समय सम्म कायम हुन्छ भनेर भन्नको लागि स्थानीय समुदाय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको संयुक्त संरक्षण प्रयास अनिवार्य हुन्छ l यस्ता प्रजातिहरू किन हराए ? फेरि किन आए ? यिनले स्थानीय समुदायमा पार्न सक्ने दूरगामी असर आदिको बारेमा बिस्तृत अध्ययनको खाँचो भने टड्कारो भई सकेको छ l



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…