
पृष्ठभूमि
‘त्यतिखेर निकै सिकार गरिन्थ्यो l कुकुरको सहायताले गाउँले सिकार खेल्न निस्कन्थे l बिसं २०२५ साल तिरको कुरा हो l कास्कीको तत्कालीन पार्चे गाविसमा हामीले एउटा अजङको भाले बँदेल मारेका थियौँ l त्यो एउटा वीर (जङ्गली बँदेलको ठूलो भाले) मरे पछि हामीले कहिले पनि बँदेल देखेनौँ l सायद त्यो नै अन्तिम थियो होला’ यो अनुभव कास्की जिल्लाका तत्कालीन पार्चे गाविसका झलक बहादुर गुरुङले केही वर्षअघि अनुभव बाँडेका थिए l
सोही क्षेत्रका सोही समयका नामुद सिकारी तथा स्थानीय वन्यजन्तु विज्ञ मेजा गुरुङले पनि बँदेल लोप भएको बताएका थिए l हुन् पनि हो सिस्नु टिप्न जाँदा, घाँस दाउरा गर्न जाँदा, काठ काट्न जाँदा, निगालो काट्न जाँदा, जडीबुटी सङ्कलन गर्न जाँदा ५ दशकदेखि कसैले पनि बँदेल देखेका थिएनन् l लामो समय देखि सो क्षेत्रमा अध्ययन गरिरहेका वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरेले पनि ४ वर्ष अघिसम्म सो क्षेत्रमा कहिले पनि बँदेल देखेनन् l क्यामेरा ट्र्याप राख्दा थुप्रै वन्यजन्तु परे पनि बँदेल भने कहिले पनि परेको थिएन l वनतिर घुम्नेहरूले पनि बँदेलले उधिनेको (खोस्रेको) समेत देखेनन् l
विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिक्लेस, भुजुंग, घान्द्रुक क्षेत्रमा ‘अन्नपूर्ण संरक्षण क्षेत्रबाट लोप भएको एउटा स्तनधारीको नाम के हो ?’ भनेर सोधिने यो प्रश्न सामान्य थियो l त्यतिखेर ‘जङ्गली बँदेल’ भन्नेले मिलाउने गर्थे l तर ५ वर्ष अघिदेखि सिक्लेस, ताङतिङका वनहरूमा मानिसले बँदेल देख्न थालेको भनेर गाइँगुइँ चल्न थाल्यो l अनुसन्धानकर्मी घिमिरेले ५ वर्षअघि बँदेलले उधिनेको (खोस्रेको) देखेका थिए l तर अझै बँदेल भने भेटिएको थिएन l दसकौँ देखि नदेखिएको बँदेलले नै उधिनेको भन्नेमा शत प्रतिशत विश्वस्त हुन् सक्ने अवस्था पनि थिएन l
मादी गाउँपालिकाका गुरुङहरूले यसलाई त्औ भनेर बुझ्छन् l कास्कीको सिक्लेस गाउँमाथि अझै पनि त्ओ ङयोह (वन बँदेल पोखरी) भन्ने स्थानहरू छन् l यसबाट पनि विगतमा बँदेल पाइने गरेको प्रमाणित हुन्छ l सिक्लेस निवासी स्थानीय समाजसेवी एवं कलाकार इच्छे बहादुर गुरुङले पनि आफ्नो (बाजे) हजुरबुवाले बँदेल मारेको सुनाएको बताए l उनी भन्छन् ‘विगत ५०-६० वर्ष देखि नै यो जङ्गली बँदेल देखेको बारे सुनेको छैन l तर ५ वर्षअघि मौजु क्षेत्रमा यसले उधिनेको देखिएको गाउँलेले बताएका छन् l’
मैले उनलाई ‘जङ्गली बँदेल त क्यामेरामा पर्यो नि’ भने l उनको प्रतिक्रिया थियो ‘हो र, यत्रो वर्षसम्म कता लुकेको होला है देखिँदै नदेखिने’ l
वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाह बँदेलहरू कुनै स्थान विशेषबाट हराउनु र फेरि आउनु नेपालमा विभिन्न भागमा भइरहेको बताए l उनले भने ‘डडेलधुराको, मेरै गाउँमा पनि ३०-४० वर्षसम्म जङ्गली बँदेल हराएको थियो तर अहिले प्रशस्त छन्’l

कसरी भेटिएको निर्क्योल गरियो ?
सो क्षेत्रमा २ दशकदेखि अनुसन्धान गर्दै आएको ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले तीनपटक सम्म स्वचालित क्यामेराहरूको प्रयोग गर्यो l यो क्यामेरा बँदेल भन्दा पनि वन कुकुर र ध्वाँसे चितुवाको लागि भनेर प्रयोग गरिएको थियो l सोही अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयले पनि बिस्तृत रूपमा क्यामेरा ट्रयापिङ गर्यो l
भर्खर ‘प्रकृतिका साथीहरू’ संस्थाबाट यादव घिमिरे, विकास घिमिरे, सुमन सापकोटासहितको समूहले राखेको स्वचालित क्यामेरामा यसपालि भने जङ्गली बँदेल पर्यो l समुन्द्र सतहदेखि २ हजार ८ सय ५० उचाइमा परेको सो बँदेल लामो समयको अन्तरालमा परेको स्तनधारी थियो l कास्की जिल्लाको सिक्लेस र ताङतिङको वन क्षेत्रमा सो जङ्गली बँदेल अभिलेख भएको हो l
विकास घिमिरे र सुमन सापकोटाले भने ‘आफैले राखेको क्यामेरामा, पहिलोपटक बँदेल पर्दा निकै खुसी लागेको छ’ l उनीहरू चिन्तित पनि छन् एकपटक लगभग स्थानिय रुपमा लोप भएको सो वन्यजन्तु फेरि पनि लोप हुन् सक्छ कि भनेर l
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय सिक्लेसका प्रमुख उत्सव न्यौपानेले भने ’ओहो यो त निकै खुसी लाग्ने समाचार बन्यो, अब यसलाई फेरि लोप हुन् नदिन आयोजना र स्थानीय समुदायको पहल हुनेछ’ l राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको अनुमतिमा सञ्चालित सो क्यामेरा ट्रयापिङमा सुबेदीसमेत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तर्फबाट संलग्न थिए l
ऋषि बराल, अशोक सुवेदी र शैलेन्द्र यादवद्वारा सन् २०१९ मा लिखित ‘अन्नपूर्ण संरक्षण क्षेत्रका स्तनधारी वन्यजन्तुहरू’ पुस्तकमा सो प्रजाति अन्नपूर्ण क्षेत्रमा पाइने भनेर उल्लेख गरे पनि ठोस प्रमाण भने थिएन l
अनुसन्धानकर्मी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,इलाका संरक्षण कार्यालय जोमसोमका संरक्षण अधिकृत ऋषि बराललाई किन पुस्तकमा उल्लेख गर्नु भएको भनेर सोधेको थिएँ l उनले भने ‘किताब लेख्ने बेलामा जङ्गली बँदेलको उपस्थिति छ भनेर पुरानो प्रतिवेदनलाई आधार मानिएको हो, देखेको वा भेटेको होइन’ l उनले थपे ’सम्भवतः अहिलेको अभिलेख नै अन्नपूर्ण क्षेत्रको लागि पहिलो आधिकारिक प्रमाण हो’ l
अन्नपूर्ण क्षेत्रमा बँदेल पुनरागमनको अर्थ के हुन्छ?
प्राध्यापक करन शाह भन्नु हुन्छ ‘यसो हुनुको पछाडि २-४ वटा कारणहरू छन् l यिनीहरू अन्नपूर्ण संरक्षण क्षेत्रकै कुनै भागमा सानो सङ्ख्यामा भएको हुन् सक्छ, जुन लामो समयसम्म देखिएनन् l वर्षमा २ पटक सम्म ब्याउने यिनीहरूले सुरक्षित महसुस गरेर अहिले यिनको सङ्ख्या बढेर देखिएको हुन् सक्छ l अर्को कारण भनेको यो क्षेत्रमा सिकार निक्कै घट्यो र समुदायले संरक्षण राम्रोसँग गर्यो, सोही कारणले नजिकका सामुदायिक वन र अन्य क्षेत्रबाट यो क्षेत्रमा आउन थाले l’ उनले थपे ‘गुल्मीको मदाने क्षेत्र, ढोरपाटन सिकार आरक्ष, तनहुँ र लमजुङका सामुदायिक वनहरूबाट आएको पनि हुन् सक्छ’ l
शाहले अन्तिममा भने ‘वासस्थान राम्रो भएर, संरक्षण राम्रोसँग भएर देखिएको हो भन्ने कुरामा दुई मत छैनl’
वन्यजन्तु अनुसन्धानकर्मी बराल पनि प्राध्यापकको तर्कसङ्ग सहमत छन् l उनी भन्छन् ‘यिनको उपस्थितिले अन्नपूर्ण संरक्षण क्षेत्रमा समग्र वन्यजन्तुको संरक्षण सही दिशामा गइरहेको अनुमान लगाउन सकिन्छ l लामो समयदेखि स्थानीय क्षेत्रमा लोप भएको बँदेल र वन कुकुर दुवै फर्केका छन् l’ उनले थपे ‘मुख्य गरी विगतको सामूहिक सिकारका कारणले लोप भएका बँदेलहरू फर्कनु पछाडिका कारणबारे मिहिन तरिकाले अनुसन्धान आवश्यक छ l’
अनुसन्धानकर्मी घिमिरे भन्छन् ‘वन कुकुरको मुख्य आहारामा बँदेल पनि पर्छ l यो हुनु भनेको कुकुरको दीर्घकालीन रूपमा खाना सुनिश्चित हुन्छl यो दुईमध्ये कुनै एकको संख्यामात्र तलमाथि पर्यो भने स्थानीय समुदायमा द्वन्द्व निम्तन्छ l हालका केही वर्षदेखि यो क्षेत्रलाई वन कुकुरले लिन खोज्नु र भर्खर बँदेल पनि देखिनुले, मांसाहारी जीवहरूकोलागि प्रशस्त खाना उपलब्ध छ भन्ने प्रस्ट देखिन्छ l किनभने यो क्षेत्रमा पहिला देखि नै रतुवा, घोरल, थार, बाँदर, लङ्गुरको पनि राम्रै उपस्थिति थियो l बँदेलको माध्यमबाट आहारा थप हुँदा, वनका परभक्षी जीवहरू गाउँतिर आउने सम्भावना न्यून हुन्छ’l
घिमिरेको तर्कलाई लामटाङ्ग क्षेत्रमा बढ्दै गएको बँदेलको सङ्ख्या र समस्याले पनि साथ दिन्छ l लामटाङ्ग राष्ट्रिय निकुञ्जमा हालका दिनमा जङ्गली बँदेल बढेको र निक्कै दु:ख दिने गरेको स्थानीयहरू बताउँछन् l स्थानीय भन्छन् ‘पहिला विभिन्न समयमा र तरिकाले वन कुकुर मारिएको हुनाले अहिले बँदेल बढेर समस्या दिन थालेको हो l’
इच्छे बहादुर गुरुङ भन्छन् ‘मैले सुनेअनुसार मादी गाउँपालिकामा धनु काँडा, भाला, बन्दुक आदिको प्रयोग गरेर मारिन्थ्यो l सिकार सामूहिक हुन्थ्यो l बजारतिर पाउने बङ्गुर/बँदेल गाउँमा ल्याउन प्रतिबन्ध थियो l तर वनको बँदेल रुचाइने मासुमा पर्थ्यो l अधिक सिकारले गर्दा यो हराएको नै हो l पछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना सुरु भएपछि सिकार निकै घट्यो l सायद बँदेलले यो ठाउँलाई सुरक्षित ठान्यो होला’ l
बँदेल कस्तो स्तनधारी हो ?
संसारका धेरै मुलुकमा पाइने यो प्रजातिलाई नेपालीहरूले यसको स्वभावको कारणले डोजर पनि भन्ने गर्छन् l यसले मानिसको खेतबारीमा लगाइएका अन्नबालीलाई नोक्सान पार्ने भएकोले, स्थानीय समुदायको यो प्रजातिसँग निकै द्वन्द्व हुने गरेको छ l नेपालमा अवैध रूपमा पालिने र बजारमा सहजै मासु उपलब्ध हुने वन्यजन्तु पनि हो यो l संसारभर यसका १६ वटा उप-प्रजातिहरू अभिलेख छन् l यिनीहरू समुन्द्र सतह देखि ४ हजार मिटरसम्मको उचाइमा अभिलेख गरिएका छन् l
यिनीहरूले रुख तथा बिरुवाका जराहरू, फलहरू, बोक्रा आदि खाने गर्छन् l यिनले चराहरूका फुल, छेपारा, माछा, मुसा, सर्प आदि पनि खाने गर्छन् l यिनीहरू सिनो पनि त्यत्तिकै मन पराउँछन् l समग्रमा यिनीहरू सर्वहारा हुन् l
४ देखि ६ महिनामा वयस्क हुन्छन् l यिनीहरूले औसतमा ४-६ बच्चाहरू पाउने भए पनि बढीमा १०-१२ वटासम्म पनि देखिन्छन् l यिनीहरू २७ वर्षसम्म बाचेको उल्लेख छ l यिनीहरूको तौल ८० देखि १ सय ७५ केजी सम्म भेटिएको छ l यिनीहरू अहिले घरमा पालिएका बँदेलका जङ्गली पुर्खाहरू हुन् l
अन्तमा,
स्थानीय समुदायको पहलमा वन्यजन्तु संरक्षण सुरु गरिएको अन्नपूर्ण क्षेत्रको व्यवस्थापनका विषयमा विभिन्न तहका सरकारका बिच जुहारी चले पनि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको व्यवस्थापन सही थियो भनेर यस्ता उदाहरणले प्रस्ट्याएको छ l तर बँदेल र वन कुकुरजस्ता जीवहरूको पुनरागमनले संरक्षणकर्मीहरू खुसी भए पनि यो खुसी कति समयसम्म कायम हुन्छ भनेर भन्नको लागि स्थानीय समुदाय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको संयुक्त संरक्षण प्रयास अनिवार्य हुन्छ l
हालका दिनमा जथाभावी निर्माण गरिएका बाटाहरू, जलविद्युत आयोजना तथा विकास निर्माण कार्यहरूले स्थानीय वन र वन्यजन्तुको वासस्थानलाई चुनौती थपिएकोमा संरक्षणकर्मीहरू चिन्तित छन् l
कति प्रजातिहरू त हामीले थाहा नपाई नै हराएका होलान् l बँदेलहरु किन हराए ? फेरि किन आए ? यिनले स्थानीय समुदायमा पार्न सक्ने दूरगामी असर आदिको बारेमा बृस्तित अध्ययनको खाँचो भने टड्कारो भई सकेको छl




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…