संस्मरण : नयाँ वर्षामा यसरी खुवाइयाे गिद्धलाई भोज


     गोबिन्द बहादुर सिंह    
     असाेज ११ गते २०७८ मा प्रकाशित


जाजरकोट जिल्लाको बारेकोट क्षेत्रमा हुर्किएको म बालापनदेखि नै गिद्धसँग साक्षात्कार र परिचित थिएँ । छिनाझपटी गर्दै सिनो लुटिरहेका गिद्धहरूको बथान र चर्तिकला देख्दा त्यसै-त्यसै मन आनन्दित हुन्थ्यो । समयक्रमसँगै हजारौँको संख्यामा यत्रतत्र सर्वत्र पाइने ती गिद्धहरू पछिल्ला दशकहरूमा सयौँमा र विरलै देखिन थालेका थिए ।

पेशाले पशु स्वास्थ्यकर्मी म यसरी गिद्धहरूको अप्राकृतिक विनाशको कारण त पशु उपचारमा हामीले नै प्रयोग गर्ने पीडानाशक औषधि डाइक्लोफेनेक पो रहेछ । जुन औषधि डेढ दशक अघिदेखि नै पशु उपचारमा प्रयोगमा प्रतिबन्धित छ र त्यसको बिकल्पमा सुरक्षित मेलोक्सीक्याम भनिने औषधि प्रयोगमा छ । सामान्यतया रुची भए पनि गिद्धका प्रजातिहरू चिन्ने¸ गुँडहरूको पहिचान गर्ने र महत्वको बारेमा बुझ्ने अवसर मिलेको थिएन । 

यसै मेसोमा नेपाल पंछी संरक्षण संघ काठमाडौसँग बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियान जाजरकोट¸ जिल्ला पशु सेवा कार्यालय जाजरकोट र सक्ला गा.वि.स. को सहकार्यमा गिद्धका वासस्थान पहिचान¸ अनुगमन र जनचेतना अभिवृद्धिका लागि विज्ञहरू सम्मिलित अनुसन्धान टोली २०७० चैत्र महिनाको अन्तिम हप्ता जाजरकोटको बारेकोट क्षेत्रमा आयो । टोलीमा गिद्धविज्ञ कृष्ण भुसाल¸ पत्रकार तथा प्रकृति संरक्षण अभियन्ता हरिहर सिंह राठोर¸ पशु सेवा कार्यालय जाजरकोटको तर्फबाट म र अन्य स्थानीय अग्रजहरू थियौँ ।

गिद्ध सचेतना कार्यक्रममा लेखक सिह र गिद्धको अनुसन्धान, संरक्षण क्षेत्रमा लामाे समय देखि कार्यरत कृष्ण भुसाल लगायत ।

अध्ययनका क्रममा सक्लाको चौके ढुङ्गा¸ अँध्यारी खोलाको जुवाला¸ लहागको दामचौर¸ दरी लेगमीखोला¸ नायकबडाका धुम¸ घर्तीगाउँ¸ सिंगारी¸ रागाँ चौधारी¸ खर्सु बारीलगायतका चट्टानी पहराहरूमा दुर्लभ सेती गिद्ध¸ हिमाली गिद्ध र हाडफोर गिद्धका बासस्थान पत्ता लाग्यो । त्यस्तै तात्कालीन गहँ गा.वि.स. वडा नं. ६ महादेव जंगलको रुखमा लोप हुन थालेको सुन गिद्धको गुँड फेला पर्यो । जाजरकोट नेपालमा सुन गिद्धको गुँड फेला परेको पाल्पापछिको दोस्रो जिल्ला हो । नेपालको मध्य पहाडमा गुँड बनाइ बस्ने चार प्रजातिका गिद्धमध्ये चारै प्रजातिका गिद्धहरूको बासस्थान भएको नेपालका दुई जिल्ला अर्घाखाँची र जाजरकोट मात्र हुन् ।  

२०७१ बैशाख १ गते नयाँ वर्षको दिन हाम्रो टोली तात्कालीन सक्ला गा.वि.स. को सेपुखोलामा थियो । मान्छेहरू आ-आफ्नो क्षमताअनुसार नयाँ वर्ष मनाउनमा व्यस्त थिए । हाम्रो टोलीमा पनि छलफल चल्यो नयाँ वर्ष कसरी मनाउने त ? अन्तमा हामी टुङ्गोमा पुग्यौँ । यो नयाँ वर्ष गिद्धलाई भोज खुवाएर मनाउने फलत: नेपालमै पहिलोपल्ट गिद्ध भोजको आयोजना जाजरकोटमा भयो । गिद्ध भोजका लागि रु १८ हजार मूल्यको राँगो त्यतिबेलाको सक्ला गा.वि.स. का सचिव धनिराम कुमाईले उपलब्ध गराउनु भयो ।

गिद्धको पहिचान र गणनाका लागि दूरविन¸ क्यामरालगायत आवश्यक सामग्रीसहित टोली लुकेर बस्यौँ भने म छाडा कुकुर रोक्ने र बाहिरी गतिविधि अवलोकनमा खटिए । कोही भन्दै थिए गिद्धले मान्छेले काटेको खाँदैन¸ कोही टाउको उत्तर फर्केको र छाला काढेकोलाई छुँदैन तर हामी भने गिद्धको प्रतिक्षामा बसेका थियौँ । केही समयपछि चारवटा कागहरू कराउँदै आए र निरीक्षण गरी चार दिशामा फर्किए । करिब १० मिनेटपछि आकाशमा १०-१२ वटा गिद्ध देखा परे । यसरी हेर्दा सिनोसम्बन्धी जानकारी गिद्धलाई कागले सन्देश प्रवाह गर्दो रहेछ कि जस्तो लाग्यो ।

कागहरूले उद्घाटन गरेपछि मात्र गिद्धहरू धमाधम सुरू गरे । सेपुखोला र नलसिंहगाँडको दोभानमा गिद्धहरूको ओइरो छुट्यो । हेर्दा हेर्दै करिव आधा घण्टामा सिंगो राँगालाई स्वाहा पारे । भोजमा हिमाली गिद्ध ३६¸ सुन गिद्ध २¸ सेती गिद्ध १ सहभागी भए भने आकाशमा २ वटा हाडफोर गिद्ध उडेका देखिए । गिद्धको पहिचान र गणनाको लागि विज्ञ कृष्ण सरले सिकाउनु भयो भने करिब ५० जनाजति स्थानीय र हाम्रो टोलीले नयाँ वर्ष विलकुल नवीनतम गिद्ध संरक्षणको काम गरी मनायौँ । जुन मेरो जीवनको महत्त्वपूर्ण स्मरणीय दिन बन्यो ।

गिद्ध भोजको अर्को दिन सक्ला गा.वि.स.को आयोजनामा गिद्ध संरक्षण समुदाय सचेतना कार्यक्रम आयोजना गरियो । पावर प्वाइन्ट प्रस्तुतिसँगै सक्ला गा.वि.स. लाई गिद्ध सुरक्षित क्षेत्र घोषणा सचिव धनिराम कुमाईले गर्नु भयो । पछि टोली जिल्ला फर्किएपछि जिल्ला पशु सेवा कार्यालय जाजरकोटको आयोजनामा खलंगामा सरोकारवालास्तरीय अन्तरक्रिया तथा अनुसन्धानको प्राप्त उपलब्धि सार्वजनिक गरियो । हाम्रो त्यस अनुसन्धानको कामलाई प्रोत्साहन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खादा ओढाइ सम्मान पनि गर्नु भयो ।

नयाँ वर्षमा गिद्धलाई दिइएकाे भाेज खाँदै गिद्धहरु ।

पेशाको सिलसिलामा गाउँ-गाउँ हिँड्नु पर्ने उक्त अभियानपछि म गिद्ध¸अन्य चरा र वन्यजन्तु संरक्षणको अभियान्ता बनेँ । त्यस अध्ययन अवधिमा हामीले धर्तीबाटै लोप हुने अवस्थामा पुगेको दुर्लभ सुन गिद्ध¸ सेतो गिद्ध¸ हिमाली गिद्ध¸ हाडफोर गिद्ध¸ विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पंछी चीर कालिज¸ नेपालको राष्ट्रिय पंछी डाँफे¸ नेपाल सरकारद्वारा संरक्षित सूचीमा सूचीकृत पंछी मुनाललगायत करिब १ सय २० भन्दा बढी प्रजातिका चराहरू अभिलेख गर्यौँ । त्यसपछि पनि मेरो निरन्तर खोज र अनुसन्धानबाट त्यस क्षेत्रमा करिव २ सय प्रजातिका चराहरू अभिलेख भएका छन् । अनुसन्धान टोलीले गिद्ध तथा चरा संरक्षण¸ चोरी शिकार नियन्त्रण र जैविक विविधता संरक्षणमा स्थानीय समुदायको भूमिका विषयमा लँह र बारेकोट क्षेत्रका समुदाय र विद्यालयमा जनचेतना अभिवृद्धि तथा प्रशीक्षण कार्यक्रमहरू पनि सम्पन्न गरेको थियो ।

समग्रमा जाजरकोट जिल्ला जैविक विविधतामा उत्कृष्ट र धनी छ यद्यपि यसको पहिचान र संरक्षणमा राज्यको यथोचित ध्यान जान सकेको छैन । जिल्लामा चोरी शिकार व्याप्त छ जसले गर्दा दुर्लभ रेड पाण्डा¸ चिर¸ डाँफेजस्ता जनावर तथा पंछी लोप हुँदैछन् । रुढीवादी परम्पराअनुसार गाउँ घरमा कसैको बच्चा नजन्मिएमा वा जन्मदै मर्दै गरेमा नाग लागेको भन्दै गिद्धलाई छोपेर ल्याउने र खोपाउने चलन छ । त्यस्तै धेरै धन सम्पति नाश भएमा वा ग्रहदशा बिग्रेमा गिद्धसँग मित लगाउने भन्दै गिद्धको घाँटीमा ध्वजा वा घण्टी झुण्ड्याइदिने चलन छ । समाजमा व्याप्त यस्ता नकारात्मक परम्पराहरूले पनि गिद्ध संरक्षणमा चुनौति छ ।

स्याल¸ चितुवा¸ भालु¸ ब्वाँसो मार्ने नाममा सिनोमा विषको प्रयोगले गिद्धलगायत अन्य वन्यजन्तु मार्ने अवैधानिक कार्यहरूले गिद्ध संरक्षणमा समस्या छ । वनफँडानी र डढेलो बढेको बढ्यै छ । त्यसैले प्रकृतिको अभिन्न अङ्ग गिद्ध र समग्र जैविक विविधता संरक्षणमा सबैले हातेमालो गरी वातावरणीय सन्तुलन र सनातन खाद्यचक्र कायम गरौँ । बारेकोट क्षेत्र गिद्धलगायत अन्य लोपोन्मुख वन्यजन्तुको वासस्थान भएकोले यस क्षेत्रलाई राज्यले नै संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने टड्कारो आवश्यकता छ ।

हालसम्म जिल्लाका विभिन्न स्थानमा व्यक्तिगत खर्चमा खोज गर्दा हिमाली गिद्धका ३३¸ सेतो गिद्धका ३¸ हाडफोर गिद्धका ४ र सुन गिद्धका १ गँड फेला परेका छन् । हिउँदे आगन्तुक राज गिद्ध पनि जिल्लामा अभिलेख भएको छ । विष हालेको सिनो खाँदा २६ वटा हिमाली गिद्ध मरेको घटनाले सधै मलाई झस्काइरहन्छ । एकल प्रयास र व्यक्तिगत खर्चमा हालसम्म ११ वटा गिद्ध¸ ७ वटा अन्य चराहरू र २९ वटा सरीसृप¸ उभयचर र स्तनधारी जनावरको उद्धार गरी उपचारपश्चात सकुशल प्राकृतिकवासमा छोड्दा गौरवान्वित महसुस भए पनि औषधी उपचार खर्च¸ वास व्यवस्थापन र मांसाहारी गिद्धलाई आहार व्यवस्थापन गर्न धेरै नै कठिनाइ छ ।

उद्धार गरेर उपचारपछि सन्चाे भएकाे गिद्धलाई छाड्नु अघि अबिर लगाएर खुशी साट्दै लेखक ।

त्यसै गरी गुलेली र पासो संकलन अभियानका साथै नयाँ-नयाँ चरा र अन्य वन्यजन्तुको खोज र अनुगमनमा विदाको र कार्यालय समय बाहिरको समयमा लागिरहेको छु । मलाई यस अभियानमा लाग्न प्रेरणा दिने र सधै झन्झट नमानी सोधेको जवाफ दिने कृष्णप्रसाद भुसाल सरलगायत अन्य विज्ञ   सर/म्याडमहरू¸ अग्रज दाजु हरिहर सिंह राठोर¸ नैतिक समर्थन प्रदान गर्ने बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाह र आफ्नो पारिवारिक र व्यक्तिगत समय र कमाइ पनि चरा र वन्यजन्तुको खोजमा खर्च गर्दा पनि साथ र सहयोग गरिरहनु भएका परिवारका सदस्यहरू सबैप्रति कृतज्ञ छु ।

गोबिन्द बहादुर सिंह बारेकोट गाउँपालिका¸ जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् ।