फुर्सदमा चिनिया भाषा सिक्दै पोखरेली पर्यटन व्यवसायी


     नेचर न्युज    
     माघ २१ गते २०७७ मा प्रकाशित


पाेखरा ः एक वर्ष अघि चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व पर्यटन बजार अझै पनि प्रभावित छ । कोरोना संक्रमणका कारण अझै पनि विदेशी पर्यटक नेपाल आउन सहज भएको छैन् । यसैले विदेशी पर्यटकलाई लक्षित गरेर संचालन भएका पर्यटन उद्योग अझै धेरै प्रभावित भएका छन् ।

कोरोना संक्रमणका कारण पर्यटक नआउँदा फुर्सदमा रहेका पोखराका पर्यटन व्यवसायीले चिनिया भाषा सिक्न थालेका छन् । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा चिनिया भाषा कक्षा सोमबार देखि सुरु भएको हो । पोखरा भ्रमणमा आएका चिनिया पर्यटकलाई सेवा दिन सहज होस भन्ने उद्देश्यले सुरु भएको चिनिया भाषा तालीममा ४२ जना पर्यटन व्यवसायीको सहभागीता रहेको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ट्राभल्स, टे«किङ व्यवसायी र पर्यटक प्रहरीलाई चिनिया भाषाको कक्षा लिएका हुन् ।
कोरोनाले प्रभावित पर्यटन उद्योग पूर्ववत अवस्थामा आएपछि आउने चिनिया पर्यटकलाई सेवा सुबिधा दिन सहज होस भनेर चिनिया भाषा कक्षा संचालन गरिएको संस्थाकी महासचिव कमला गिरीले जानकारी दिइन् । पछिल्लो समयमा नेपालमा चिनिया पर्यटकको आकर्षण बढेको छ । भारत पछि चिनिया पर्यटक आउन थालेपछि व्यवसायीहरु चिनिया भाषा सिक्ने क्रम बढेको थियो । कोरोना संक्रमण समान्य बन्दै गएपछि चिनिया पर्यटक अझै धेरै आउने विश्वासका साथ चिनिया भाषा सिकेको व्यवसायीले बताएका छन् ।