फेवाताल र वरपरका दलदल सिम क्षेत्र यहाँका रैथाने पानी चराको घर त हो नै हिउँदमा साइबेरिया देखि जाडो छल्न आउने विभिन्न प्रजातिका चराको पनि घर हो । रैथाने माछा देखि आयातित माछा, भ्यागुता, जलमा र थलमा बस्ने विभिन्न प्रजातिका जीव, वनस्पतिको पनि फेवा र सिम क्षेत्र घर हो । मान्छेको पनि घर हो फेवा । फेवाताल किनारमा पुस्तौँ देखि बस्दै तालका माछा मारेर जीवन चलाउने जलारी समुदायको फेवा घर जस्तै हो ।
फेवाताललाई बैदाम ताल पनि भनिन्छ । पोखरा बैदामका स्थानीय यही तालको पानी खाएर हुर्केका हुन् । फेवा सिमसार क्षेत्रमै जेठोबुढो धान झुल्छ । फेवाको पानीले नै सिञ्चित भएर बिरौटा फाँटमा जेठोबुढो धान फल्छ । फेवाको पानी बगेर पर्यटक लोभ्याउने पातले छाँगो बनेको छ । तालकै पानीले खोतलेर बनेको छ गुप्तेश्वर गुफा र गुफाबाटै देखिन्छ पाताले छाँगोको सुन्दरता । यति सुन्दर, विशाल घर जसको पानीबाट घर घरमा उज्यालो पुग्ने बिद्युत् पनि निस्केको छ ।
माछापुच्छ्रे, अन्नपूर्ण धौलागिरि हिमालको सौन्दर्यता पस्कने फेवा यति बेला खुम्चिएको छ । तालको पानीको सतह घट्दा ताल सुकेको जस्तै देखिएको छ । ताल सुक्दा प्रकृति प्रेमीहरूको मन चसक्क नहुने कुरै रहेन्। फेवातालमा देखिने माछापुच्छ्रे, अन्नपूर्ण हिमालको छाया सहितको फेवाको पोस्टकार्ड विश्व पर्यटन बजारमा प्रख्यात छ । यही सुन्दरताको अवलोकन गर्न स्वदेशी विदेशी पर्यटक पोखरा पाउँछन् ।
हाम्रा आँखाले देख्न नसक्ने जीवहरू फेवामा पाइन्छन् । यिनै जैविक विविधताको साझा घर भत्केपछि मन चसक्क नहुने कुरै भएन । पर्यटकीय सहर पोखराको आकर्षण पनि यही हो । फेवा सिमसारमा पाइने विभिन्न प्रजातिका चरा अवलोकन गर्न र तस्बिर खिच्न पर्यटक दिनभर भुल्छन् । यहाँको जैविक विविधता र तालमा देखिने सुन्दर हिमालको छाया हेर्न पर्यटक लोभिन्छन् । यति महत्त्वको ताल जोगाउनकै लागि गत माघ २३ गते साँझ देखि बाँध मर्मत गर्न फेवाको पानीको सतह घटाइएको छ । २०१८ सालमा बनाइएको बाँध २०३१ सालमा फुटेपछि २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । त्यही बाँध ४२ वर्ष पछि मर्मत गर्नका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले तालको पानीको सतह एक मिटर घटाएको छ ।
एक मिटर पानीको सतह घटाउँदा पनि सबैको साझा घर नै भत्के जस्तो, ताल सुकेर खोला भए जस्तो देखिएको छ । जलारी समुदायले ताल भित्र केजमा पालेका माछा पानीको सतह घटेपछि मरेको गुनासो गरेका छन् । तालमा रहेका घोगी ताल घटपछि बाेराका बोरा स्थानीयले लगेको हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्र जलारीले सुनाए । ताल घटेपछि मात्र हामीले किन ताल घट्यो भनेर अचम्म पर्याै । बेलैमा थाहा नपाउँदा ताल भित्र केजमा पालेका धेरै जलारी समुदायका माछा मरे उनले भने ।
तालको मुहान क्षेत्रबाट बगेर आउने माटो, गेगर,बालुवाको कारण ताल वर्षेनी पुरिँदै गएको छ । हामीहरूकै कारणले ताल सुक्दै गयो भने ? सुन्दर ताल फोहोर पोखरी जस्तै बन्दै गयो भने ? हामीले भोलि पानीको सङ्कट पर्दा प्रयोग गर्नु पर्ने पानीको स्रोत हो फेवा । हामी भन्दा अघिल्लो पुस्ताले यही पानी खाएर हुर्के । हामीले पनि सानो छदा यही पानी खायौ । भोलि हामीले यही पानी प्रयोग गर्न बाध्ये हुने अवस्था नआउँला भन्न सकिदैन् । मानव सभ्यताको विकास नै पानीको स्रोत नजिकै भएको हो । नदी, ताल, पानीका मूल, सिम क्षेत्र नै हुन सबै प्राणीका बाँच्ने आधार । शरीरमा पानी छ र जीवन छ । के पानी बिना बाँच्न सकौला र हामी ? यसैमा त छ जीवन । फेवा लगायत पानीका स्रोत ( जीवन रुपी घरहरू) बेलैमा बचाउ, र बाँचौँ ।