प्रकृतिप्रेमीको साथी


     नेचर न्युज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित


विश्वभर फैलिएको कोरोना भाइरसको त्रास कायमै छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) देखा परेर विश्वभर फैलिएको थियो।

नेपालमा यतिबेला फेरि कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बढी संक्रमण फैलिएका जिल्लामा पुन लकडाउन गरेको छ । यतिबेला कोरोना भाइरस मानव अस्तित्वका लागि नै चुनौतीका रुपमा देखापरेको छ । यसैले विश्वका अधिकांश देशमा मान्छेका गतिविधि अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

कोरोना संक्रमणबाट लाखौंको संख्यामा मान्छेको मृत्यु भएको छ । स्वास्थ्यकर्मीहरु आप्नो ज्यान नै जोखिममा राखेर कोरोना संक्रमितको सेवामा दिनरात अस्पतालमा खटिरहेका छन् । वैज्ञानिक अझै प्रभावकारी खोपको अनुसन्धानमा जुटिरहेका छन् । विश्व अर्थतन्त्र धरमराइरहेको छ । हामीले प्रकृतिमाथि गरेको अतिदोहनका कारण कोरोना भाइरस जस्ता घातक संक्रामक रोग फैलन बल पुगेको वैज्ञानिकहरु बताउँदै आएका छन्।

हामी नेपाली राजनीतिमा दैनिक गतिविधि र अन्यभन्दा प्रकृतिका मुद्दामा केन्द्रित हुनेछौं । प्रकृति, वातावरणसँग जोडिएका राजनीतिक मुद्दामा बुलन्द आवाज उठाउने छौं ।

हामी सानो हुँदा देखेका प्राकृतिक सुन्दरता र स्वच्छता हाम्रै गतिविधिका कारण हामीले गुमाउँदै गएका छौं । हामीले देखेका धेरै संख्या र प्रजातिका वन्यजन्तु हाम्रौ पालामा कति लोप भइसकेका छन् । कति विश्वमै लोपउन्मुख सूचीमा दर्ज भइसकेका छन्।

भाइरस प्रकृतिमा हुन्छन् । जल, जमीन र जंगलमा लाखौंको संख्यामा भाइरस सुक्ष्म तरिकाले बास गरिरहेका हुन्छन् । ६० प्रतिशतभन्दा बढी भाइरस जनावरका शरीरबाट उत्पत्ति भएको वैज्ञानिक बताउँछन् । त्यसमा पनि वन्यजन्तुबाट बढी उत्पत्ति भएको वैज्ञानिक अनुसन्धानमा देखिएको छ । घातक रोगजन्य भाइरसबाट जंगली जनावर संक्रमित हुँदैनन् । तर तिनै भाइरस मानवलाई घातकसिद्ध हुन्छ । वन्यजन्तुबाट मानव शरीरमा यस्ता भाइरस आउनुमा मानिसकै व्यवहार प्रमुख कारक रहेको वैज्ञानिकले बताउँदै आएका छन्।

वैज्ञानिकका अनुसार वन्यजन्तुको सिकार गरी मासु खाने र छालाको प्रयोगबाट यस्ता भाइरस मानवको शरीरमा प्रवेश पाएको हो । वातावरण प्रदूषण पनि यसको कारक बन्दै आएको छ । विगत खोज्दै जाने हो भने सन् १९४० देखि विभिन्न संक्रामक भाइरसहरु देखापर्दै आएको पाइन्छ । यसअघि एचआइभी, इबोला, जिका लगायत भाइरस देखा परेका थिए । पछिल्लो समयमा कोभिड-१९ सँग विश्वजगत जुध्दै आएको छ।

यस्ता विनाशकारी भाइरसबाट जोगिन मान्छेले वातावरण, वन्यजन्तुलाई सकभर असरै नपर्ने गरी दैनन्दिनीमा परिवर्तन ल्याउनु पर्ने छ । सबै प्राणीको जीवनको मुख्य आधार पानीका स्रोत खोला, नदी, सिमसार, कुवा, पोखरी बचाउनु छ । पर्यावरणीय सन्तुलन कायम राख्न वन्यजन्तु, प्रकृति र वातावरणलाई जोगाउनु छ । हाम्रो व्यवहारका कारण प्रदूषण हुँदै, सुक्दै गएका पानीका स्रोतहरुलाई फेरि स्वच्छ र सुकेका मूल फुट्ने गरी जोगाउनतर्फ केन्द्रित हुनु पर्ने छ।

पानीका स्रोत हिमाल, हिमनदी, हिमताल जोगाउनु छ । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । तीमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ वटा हिमाल छन् । साना ठूला धेरै विश्वचर्चित हिमाल नेपालमा छन् । विश्वमा तापक्रम प्रत्येक वर्ष बृद्धि हुँदै जाँदा सेता हिमाल पग्लदै कालापत्थरमा परिणत हुँदै गएका छन् । पानीका स्रोतहरु सुक्दै गएका छन् । यसरी भइरहेको पर्यावरण विनाशले पनि महामारी फैलाउने भाइरस भित्र्याउन सघाइरहेको वैज्ञानिक बताउँछन्। 

कोरोना भाइरसको यही महामारीमा प्रकृति, वन्यजन्तु, वातावरणका विषयमा केन्द्रित रहेर समाचार पस्कने गरी www.enaturenews.com (इ-नेचरन्युज डट कम) सञ्चालनमा आएको छ । नेपालमा अहिलेसम्म करिब २३ सय बढी अनलाइन समाचार साइट सञ्चालनमा छन् । ती साइटभन्दा हामी भिन्न देखिन चाहान्छौं । हामी नेपाली राजनीतिका दैनिक गतिविधि र अन्यभन्दा प्रकृतिका मुद्दामा केन्द्रित हुनेछौं । प्रकृति, वातावरणसँग जोडिएका राजनीतिक मुद्दामा बुलन्द आवाज उठाउने छौं । हामी भन्छौं, यो अनलाइन सम्पूर्ण प्रकृतिप्रेमीको साझा हो । तपाईंहरुले व्यक्त गर्ने प्रतिक्रिया हाम्रा लागि अमूल्य निधि सावित हुनेछन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!