
गोरखा: गोरखाको आरुघाट गाउँपालिका ९ बाट स्तनधारी वन्यजन्तु कालो सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट कालो सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए।
सालक भेटिएपछि स्थानीयको सूचनाको आधारमा वन कार्यालय र इलाका प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले सोमबार सालकको उद्धार गरेको हो। उद्धार गरिएको सालक गोरखा नगरपालिका स्थित सामुदायिक वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलले बताए। सो सामुदायिक वन क्षेत्र सालकका लागी उपयुक्त वासस्थान भएकोले त्यस वन क्षेत्रमा छाडिएको पौडेलले जानकारी दिए।
सालक कस्तो हुन्छ ?
सालक साना स्तनधारी/स्तनपायी वन्यजन्तुमा पर्दछन्। नेपालमा हालसम्म पत्ता लगाइएका १५५ प्रजातिका साना स्तनधारी वन्यजन्तुमा कालो सालक र तामे सालक गरेर दुई प्रजातिका सालक पाइन्छन्।
एसियामा कालो सालक, तामे सालक, सुन्डा प्याङ्गोलिन , फिलिपिन प्याङ्गोलिन गरी चार प्रजातिका सालक पाइन्छ। नेपालमा कालो सालक तराईको चुरे क्षेत्रदेखि पहाडी क्षेत्रको दुई हजार मिटरको उचाइसम्म पाइएको सालक नामक पुस्तकमा डा. हेमसागर बराल र प्रोफेसर करनबहादुर शाहले उल्लेख गरेका छन्।
सालकको शरीरको बाहिरी भाग कडा खपटैखपटाले ढाकिएको हुन्छ। आपत्कालीन अवस्थामा आफ्नो कोमल अङ्ग र टाउकोलाई जोगाउन र शत्रुबाट बच्न सालकले डल्लो पारेर शरीर खपट भित्र लुकाउने गर्दछ।
कालो सालक नेपालमा धेरै देखिने र ठुलो भौगोलिक क्षेत्रमा बिस्तार भएको प्रजाति हो। यस प्रजातिको सालकको तौल ९ किलोग्राम सम्म हुने सालक नामक पुस्तकमा उल्लेख छ। तामे सालक नेपालमा कालो सालकको तुलनामा धेरै कम देखिने वन्यजन्तु हो। तामे सालक ९ देखि ११ किलो सम्मको हुने गर्दछ।
सालकको औसत आयु यति नै हो भन्ने तथ्याङ्क उपलब्ध नभए पनि जापानको चिडियाखानामा राखिएको तामे सालक १३ वर्ष भन्दा बढी र कालो सालक २० वर्ष सम्म बाँचेको उदाहरण रहेको पाइएको छ।
आईयूसीएनको सूचि अनुसार कालो सालक अति सङ्कटापन्न जन्तुको श्रेणीमा पर्दछ। यस श्रेणीमा रहेका वन्यजन्तुको सङ्ख्या अत्यन्त कम हुने भएकोले तत्काल संरक्षण नभएको अवस्थामा प्राकृतिक वासस्थानबाट लोप हुन पुग्ने जनाउँछ। तामे सालक सङ्कटापन्न श्रेणीमा पर्दछ। आईयूसीएनले संसारमा पाइने आठ प्रजातिका सालकमध्ये ६ वटालाई खतराको सूचीमा परेको वन्यजन्तु मानेको छ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…