
बेलवास बुटवल निवासी ऋषभ अर्याल जालीमा अल्झिएको सर्प देखेपछि आत्तिए । कसरी उद्धार गर्ने होला भनेर चिन्तित बने । उनले आफ्नो साथी सुमन घिमिरेलाई फोटोसहित सूचना उपलब्ध गराए । साथसाथै उनले बुटवल आसपासमा कोही सर्प उद्धारकर्ताको फोन छ भने दिनुहोस् समेत भने ।
उक्त सूचना घिमिरेले भोइस अफ नेचर नामक फेसबुक समूहमा राखे । सामाजिक सञ्जाल ‘सेभ स्नेक सेभ नेचर’ तथा ‘हप्स नेपाल’ मा समेत पोष्ट भयो । फोटोसहित बुटवल आसपासमा सर्प उद्धारकर्ता भए ऋषभलाई सम्पर्क गर्न अनुरोध पनि गरे । अझ छिटो कोही भेटिन्छ कि भनेर कपिलवस्तु निवासी संरक्षणकर्मी प्रशान्त घिमिरेलाई सम्पर्क गरे र सर्प अनुसन्धानकर्ता कमल देवकोटाको फोन नम्बर फेला पारे ।
देवकोटाले हाल आफू काठमाडौ भएको हुँदा बुटवलमा रहेका खिमलाल पाण्डेलाई सम्पर्क गर्न आग्रह गरे । खिमलाल पाण्डेले अर्का सर्प उद्धारकर्ता विश्वास पाण्डेलाई सम्पर्कमा ल्याउन मद्दत गरे । बन्दाबन्दीको कारणले सार्वजनिक गाडी नचलेकोले ऋषभ आफै उद्धारकर्ता विश्वास पाण्डेलाई लिन गए । पाण्डेले जाली काटी सर्पलाई सकुशल उद्धार गरी नजिकैको जितेश्वरी सामुदायिक वनमा लगेर छाडे ।
उक्त सर्प देखिएको करिब आधा घण्टामा उद्धारकर्तासँग सम्पर्क भए तापनि हालको असहज परिस्थितिका कारण उद्धारकर्ता उक्त स्थानमा पुग्न करिब डेढ घण्टा लागेको थियो । समय लागे तापनि सर्पको सकुशल उद्धार गर्न सफल भएकोमा पाण्डे र अर्याल आफूहरू औधी खुसी भएको बताए ।
जालीबाट छुटाइ जंगलसम्म लाने क्रममा त्यस सर्पले बान्ता गरेको र बान्तामा मुसा देखिएको हुँदा उक्त सर्प शिकारको क्रममा जालीमा अड्केको हुन सक्ने पाण्डेको अनुमान छ । सो सर्प कमन करेत प्रजातिको निकै बिषालु सर्प रहेको अनुसन्धानकर्ता कमल देवकोटाले बताए ।
तस्बिर तथा भिडियो : ऋषभ अर्याल र विश्वास पाण्डे





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…