असारको पहिलो दिनमै हिमाल देखि तराइ सम्म भारी वर्षा, रेनस्याडो जोनमै बाढीको ताण्डव


     नेचर न्युज    
     असार १ गते २०७८ मा प्रकाशित


पोखरा : असार महिनाको पहिलो दिनमै देशभर हिमाल, पहाड देखि तराईसम्म वर्षाले वितण्डा मच्चाएको छ। भारी वर्षाको कारण हिमाल, पहाड र तराईका खोला, नदी किनारका घर जोखिममा परेका छन्। पहाडी क्षेत्रमा नदी, खोलामा आएको बाढी र पहिरोले स्थानीय विस्थापित भएका छन्। 

रेनस्याडो जोन रूपमा परिचित हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा पनि यस वर्ष असारको पहिलो दिनमै  ठुलो वर्षाको कारण वितण्डा मच्चाएको छ। हिमालपारिको जिल्ला निकै कम पानी पर्ने जिल्लाको रूपमा परिचित जिल्ला हुन्। 

लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङका विभिन्न स्थानका नागरिक घरै छाडेर सुरक्षित स्थान तर्फ जान बाध्य भएका छन्। सरकारी संरचना र विधुत गृह, टेलिफोन टावरमा नोक्सान पुर्‍याएको  छ।  सडक सञ्जाल अवरुद्ध हुँदा आउजाउमा पनि मुस्किल भएको छ। मनाङको  नासो गाउँपालिका १ को ताल गाउँ बढी जोखिममा परेको छ । ताल गाउँमा ६० घर छन्। सबै घरमा मर्स्याङ्दी नदीको बाढी पसेको छ। चामेका ६ घर बगाएको छ। चामे बजार क्षेत्रका खट्टे खोला र च्यट्टु खोलामा आएको बाढीले ६ घरमा क्षति पुगेको मनाङ प्रहरीले बताएको छ।   चामेको मिनिहाईड्रोको पाइप बगाएको छ। चामेको हुलाक कार्यालय पनि बाढीले बगाएको छ। 

यसै गरी अर्को हिमालपारिको जिल्ला मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागाउ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्रा खोलामा सोमबार दिउँसो लेदोसहितको बाढी आउँदा १५ घर जोखिममा परेका छन्। कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ। भारी वर्षा भएपछि खतराको सङ्केत स्वरूप साइरन बजाइएको छ। 

नेपालमा जेठ २८ गते मनसुन पूर्वबाट प्रवेश गरेको हो। जेठ ३० गते नेपाल भरी मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम प्रसाद ढकालले जानकारी दिए। पोखरामा आज बिहान पौने ९ बजे सम्मको २४ घण्टामा ९३.६ मिलिमिटर पानी परेको ढकालले बताए। नेपालकै धेरै पानी पर्ने अन्नपूर्ण गाउँपालिका लुम्लेमा गत २४ घण्टामा १६०.३ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख ढकालले जानकारी दिए। 

कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरे पानी र नवलपरासीको अरुण खोला स्टेसनमा भारी वर्षा मापन भएकोले खतराको सङ्केत  स्वरूप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

अविरल वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका ६ सेती वेणी रहेको विश्वकै ठुलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको छ। डुबानका कारण १० घर परिवार विस्थापित भएका छन्। 

लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन आग्रह गरेको छ। नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढेको छ। 

महाशाखाले असार ३ गतेसम्म काली गण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ।