कालीगण्डकी डाइभर्सन सधैंका लागि बन्द गर : कालीगण्डकी बचाऔं अभियान


     नेचर न्युज    
     असार १७ गते २०७८ मा प्रकाशित


कालीगण्डकी डाइभर्सनले प्रदेशकाे सभ्यता, नदीवरपरका जैविक विविधता विनाश र संकट निम्त्याउने भन्दै डाइभर्सन परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ ।

‘कालीगण्डकी बचाऔं अभियान’को तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । कालीगण्डकी प्रदेशको सभ्यता संग जाेडिएकाे महत्वपूर्ण सम्पदा हाे । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हुनुकाे साथै यहाँका जैविक विविधतामाथी पनि खेलबाड हाे ।

परियाेजना अघि बढाउने गरी कार्यालय स्थापना भएसंगै अभियन्ताहरूले परियाेजना सधैका लागि राेक्न अनुराेध गर्नुकाे साथै नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य पनि तत्काल रोक्न तीनै तहका सरकारसँग माग गरेका हुन् । कालीगण्डकी बचाऔं अभियानमा पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ताहरू लाग्दै आन्दोलन गरिरहेका छन् ।