टान पोखराबाट पर्यटन मजदुरलाई नगद राहत बितरण


     नेचर न्युज    
     असार १७ गते २०७८ मा प्रकाशित


ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संङ्घ पोखराले पर्यटन मजदुरलाई नगद राहत बितरण गरेको छ । उच्च हिमाली क्षेत्रको पदयात्रामा पर्यटन सहयोगीको रुपमा काम गर्ने ७७ जना मजदुरलाई ५ हजार रुपौयाँका दरले ३ लाख ८५ हजार राहत बितरण गरिएको कार्यक्रमका संयोजक तथा टान पोखराका द्धितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

कोरोना संकटका कारण पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित छ । पर्यटन क्षेत्रमा कार्यरत मजदुर पनि उति नै प्रभावित छन् । करिव दुई वर्ष देखि कामबिहीन भएका पदयात्रा क्षेत्रमा कार्यरत सहयोगी मजदुरहरुलाई आफ्नो आवश्यक्ता अनुसार खर्च गरुन भन्ने उद्देश्यले नगद सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष शुसीलराज पौडेलले बताए ।

टान पोखराको आयोजना, टान केन्द्रका अध्यक्ष खुमबहादुर सुवेदीको समन्वय र हङकङ स्थित मिक्स एन्ड म्याच कम्युनिटीका अध्यक्ष दिननाथ बगालेको आर्थिक सहयोगमा राहत बितरण गरिएको टान पोखराको प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । राहत बितरण कार्यक्रममा टान पोखराका पूर्व अध्यक्ष लगायतको उपस्थिती थियो ।

टान पश्चिमाञ्चल पोखराले यस अघि पहिलो र दोस्रो लकडाउनमा पनि विपन्न पर्यटन मजदुरहरुलाई दाल, चामल, केराउ, नुन, तेल लगायतका खाद्यान्न सामाग्री बितरण गरेकाे थियो । कोरोना संकटका कारण पर्यटन व्यवसाय नै धरापमा परेको व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई जोगाउन संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्ने व्यवसायीकाे माग छ । पर्यटन क्षेत्रका दक्ष मजदुरलाई पलायन हुनबाट रोक्न पनि सरकारले सहयोग गर्नु पर्ने पर्यटन व्यवसायीले माग राखेका छन् ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रमा कार्यरत सबैलाई तुरुन्त खोपको व्यवस्था गर्न पोखरा पर्यटन परिषदले माग गर्दै आएको छ । सरकारले खोपको व्यवस्था गर्न नसके पर्यटन व्यवसयीले आफैले खोप ल्याउने र यसकालागी सरकारलाई सहजीकरण गर्न परिषदले माग गर्दै आएको छ ।