आज विश्व सर्प दिवस, सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरौँ


     राज अधिकारी    
     श्रावण १ गते २०७८ मा प्रकाशित


सर्प र मानिसबिच सुमधुर सम्बन्ध स्थापना गरी सर्प संरक्षण गर्ने हेतुले हरेक वर्ष जुलाई १६ का दिन विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी सर्प दिवस मनाइन्छ । ‘सर्प’ नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा भयानक, विषालु, डसालु जीव भन्ने सोचाइ आउँछ । हामीमध्ये कतिपयलाई सर्पले मानिसलाई देख्नासाथ टोकिहाल्छ र सर्पले टोक्नासाथ मरिहालिन्छ भन्ने लाग्न सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सर्पदंशका कारण विश्वमा हरेक वर्ष करिब १ लाख २५ हजार मानिसले ज्यान गुमाउँछन् । सर्पको टोकाइबाट यसरी ठूलो सङ्ख्यामा मान्छेहरूको मृत्यु हुने गरेकाले हामी त्रसित हुनु स्वाभाविक हो । सर्प र मानिसबिचको दूरी घटाइ सुमधुर सम्बन्ध कायम गर्न हामीमा भएका सर्पसम्बन्धी भ्रमहरू चिर्न अत्यन्त जरूरी छ । 

सबै सर्प विषालु हुन्छन् भन्नु भ्रामक हो । नेपालमा पाइने करिब ८० प्रजातिका सर्पमध्ये जम्मा २० प्रजाति मात्र विषालु मानिन्छन् जसमध्ये पनि कोब्रा, करेट र भाइपर अति नै विषालु हुन्छन् । समयमै अस्पताल नपुग्नाले सर्पदशंका बिरामीहरूको मृत्यु हुने गर्दछ । सर्पदंशको पूर्ण उपचार सम्भव भएकाले सर्पले टोकेमा तुरुन्तै नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पतालमा गइहाल्नु पर्छ । 

मानिसलाई डस्नु सर्पको प्राथमिकता होइन । हामी सर्पसँग डराएजस्तै सर्प पनि हामीसँग डराउँछन्। हाम्रो कारणले सर्पलाई असुरक्षित महसुस हुन गएको खण्डमा मात्र आत्मरक्षाका लागि हामीलाई टोक्ने गर्छन् । त्यसैले सर्पलाई मार्न खोज्ने, सर्पसँग जथाभाबी खेल्ने वा जिस्किने गर्नु हुँदैन ।

मानिसलाई डस्नु सर्पको प्राथमिकता होइन । हामी सर्पसँग डराएजस्तै सर्प पनि हामीसँग डराउँछन् । हाम्रो कारणले सर्पलाई असुरक्षित महसुस हुन गएको खण्डमा मात्र आत्मरक्षाका लागि हामीलाई टोक्ने गर्छन् । त्यसैले सर्पलाई मार्न खोज्ने, सर्पसँग जथाभाबी खेल्ने वा जिस्किने गर्नु हुँदैन । आफ्नो वरपर सर्पहरू देखा परेमा सकेसम्म उद्धार गर्नुपर्छ र उद्धार गर्न नसकेका खण्डमा केही हानी नपुर्‍याई सुरक्षित वासस्थानतर्फ फर्किन छोडिदिनु पर्छ ।

खाद्य चक्र तथा वातावरण सन्तुलन, खेतबारीमा मुसाको नियन्त्रणदेखि लिएर चिकित्सकीय क्षेत्रमा समेत सर्पलाई महत्त्वपूर्ण जीव मानिन्छ । नेपाली समाजमा सर्पले धार्मिक महत्त्व पनि बोकेको छ । तर विडम्बना, प्राकृतिक वासस्थान मासिँदै जाँदा अहिले सर्पहरू चपेटामा परेका छन् । सर्प देख्ने बित्तिकै मारिहाल्ने हाम्रो प्रवृत्तिले सर्प र मानिसबिच द्वन्द्व निम्त्याएको छ । मानिसको नजिकका प्राणी सर्पहरूको संरक्षण गर्न सर्प र मानिसबिचको द्वन्द्व अन्त्य गरी सौहार्दपूर्ण सम्बन्ध कायम गर्नु अति आवश्यक छ । त्यसैले प्रकृतिका अभिन्न अङ्ग सर्पलाई बचाउन आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौँ । आफू सुरक्षित हुँदै सर्पको सुरक्षा पनि सुनिश्चित गरौँ । विश्व सर्प दिवस (जुलाई १६) को शुभकामना ।

 (राज अधिकारी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छन् । प्रकृति प्रेमी स्वभावका उनी वन्यजन्तु फोटोग्राफीमा निकै रुचि राख्दछन्।)