
डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जङ्गली जनावर र मानव बिचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा आठवटा पानीको पोखरी निर्माण गरेको छ । देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।
वन जङ्गलको छेवैमा रहेका बस्तीमा पुगेर वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको प्रमुख सुबेदीले बताउनुभयो । वन्यजन्तुलाई चाहिने पानी वन छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
सामुदायिक वनमा पोखरी निर्माण गरिएपछि चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीका प्रमुख सुबेदीले जानकारी दिनुभयो । पानीको अभावमा मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनीकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो। कार्यालयले विनियोजन गरेको ३४ लाखको लागतमा देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा आठवटा पोखरी निर्माण गरिएको उनले जानकारी दिनुभयो।
जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरू तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो ।
विगतमा सामुदायिक वन क्षेत्रमा रहेका ताल तलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जङ्गली जनावरले वासस्थान सारेका थिए, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले भन्नुभयो, ‘पानीकै अभावमा जङ्गली जनावर देख्नु दुर्लभ हुन्थ्यो। सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चित्तल, बँदेल, नीलगाई, मयुर र चितुवा सहजै देखिने गरेको छन् ।’

यता जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा एउटा मचानसमेत निर्माण गरिएको छ । २४ फिट उचाइमा एकतले मचानसमेत निर्माण गरिएको छ । मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ ।
सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभाबी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न देउखुरी क्षेत्रका सबै सामुदायिक वनलाई आग्रह गरेको छ ।
वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले देउखुरीमा हुँडार, चितुवा, स्याल, काठे भालु, निर बिरालो, चरी बाघ लगायतका वन्यजन्तुहरू पाउने गरेको जानकारी दिनुभयो । त्यति मात्र नभई चित्तल, जरायो, राते, चौका, बँदेल जस्ता वन्यजन्तुका विभिन्न प्रजाति पनि देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पाइने जानकारी दिँदै, तुलनात्मक रूपमा उत्तर भन्दा दक्षिण तर्फको वन घना र पानीको श्रोत धेरै भेटिने गरेको अनुसन्धानकर्मी खनालले बताउनुभयो।
(शिवु खनाल दाङ स्थित पत्रकार हुन् l)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…