जलविद्युत अयोजना र दोहनका कारण जलचरको अस्तित्व सङ्कटमा


     नेचर न्युज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित


प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारण म्याग्दी क्षेत्र भएर बग्ने कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीमा रहेका जलचरको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ ।    

विगत तीन वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरूको दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् । भगवान् विष्णुको प्रतीक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रबाट सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।    

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन  जलविद्युत अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताउनुभयो ।    

नारच्याङमा १५७ मेगावाटका पाँचवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । त्यसैगरी बाढी, पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन पनि जलचर नासिनुका मुख्य कारण रहेका वातावरण संरक्षणकर्मीले बताएका छन् । म्याग्दी नदी, कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाइदिएकाले जलचरको बासस्थान नास हुँदा उनीहरू लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइदिने मात्र होइन, त्यसले जलचरको अनुकूलन अवस्थालाई पनि क्षति पुर्‍याइदिने भएकाले त्यस ठाउँमा रहन सक्ने अवस्था नभएपछि जलचर तलतलतिर सर्दै जान्छन्।    

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिदै जानुको अर्को कारण हो। म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरू नासिदै गएका वातावरण संरक्षणकर्मीको भनाइ छ।रासस