एक महिना देखि नीलगाई उद्धार गर्न हारगुहार गर्दा अझै भएन उद्धार


     नेचर न्युज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित


निजी कृषि फार्ममा एक महिना देखी पसेको नीलगाई उद्धार गर्न हारगुहार गर्दा अझै उद्धार हुन सकेको छैन ।

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते देखि नीलगाई पसेर फलफूलका बिरुवा, तरकारी नष्ट गरेको छ । नीलगाई फार्ममा पसेपछि  उद्धार गर्न स्थानीय उपमहानगरपालिका, वन कार्यालयमा हारगुहार गर्दा पनि उद्धार नभएको लिम्बुले बताएका छन् । आफ्नो साढे ४ निगाह कृषि फार्ममा नीलगाई देखिएपछि स्थानीय वन कार्यालय, प्रहरी कार्यालय  लगायतमा खबर गर्दा पनि उद्धार नभएको उनले बताए ।

वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले बेलैमा वन कार्यालय, प्रहरी कार्यालय र वडा कार्यालयमा खबर गरे पनि आज सम्म उद्धार नभएको लिम्बुले बताए । प्रहरी र वन कार्यालय कर्मचारी आएर नीलगाई हेरेर गए पनि अझै उद्धार गरेका छैनन् । बस्तीमा वन्यजन्तु देखापरेपछि स्थानीयले केही गर्लान् भन्ने डरले पटक पटक उद्धार गर्न सम्बन्धित निकायलाई खबर गर्दा पनि संरक्षणमा चासो नदेखाएको स्थानीयको गुनासो छ । 

नीलगाईको बारेमा जानकारी पाएपछि एक टोली सहित उद्धार गर्न गए पनि गाई ठुलो भएकोले समात्नै नसकिएको तरहरा सब डिभिजन वन कार्यालय इटहरीका सहायक वन अधिकृत अवदेशकुमार गच्छेदारले बताए । आफ्नो कार्यालयमा दक्ष जनशक्ति र प्राविधिक टोली नभएकोले उद्धार गर्न नसकेको उनले सुनाए । 

नीलगाईको उद्धार गर्न कोशीटप्पु वन्यजन्तु आरक्षणमा खबर गरेको उनले बताए । त्यस क्षेत्र नजिकै रहेको सरस्वती सामुदायिक वन हुँदै नीलगाई पहिले पनि आउने रहेछ उनले भने । नीलगाई उद्धार गर्न डिभिजन वन कार्यालय र कोशीटप्पु वन्यजन्तु आरक्षणमा कुरा भइरहेको उनले बताए । नीलगाई भारतीय उपमहाद्वीपमा सबैभन्दा ठुलो एन्टिलोप प्रजाति हो ।

यसको शरीरको बनावट घोडासँग बढी मिल्दोजुल्दो हुन्छ । वयस्क भालेको शरीरको रङ्ग नीलो खैरो हुन्छ भने पोथी तथा बाच्छाहरूको शरीरको रङ्ग हल्का खैरो हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को उपदफा ३ बमोजिम नीलगाईलाई हानी नोक्सानी गरे राष्ट्रिय निकुञ्ज भित्र भए २० हजार देखि ५० हजार जरिवाना वा ६ महिना देखि १ वर्ष सम्म कैद वा दुवै हुन सक्ने छ। निकुञ्ज बाहिरको हकमा २० हजार सम्म जरिवाना, ६ महिना सम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।